सरकारले घरभाडा नतिरिदिएर विरक्तिएका पूर्वराष्ट्रपति यादवलाई भट्टराईको पत्र !

श्री महामहिम निवर्तमान राष्ट्रपतिज्यू,
Dr. yadav

वेब तस्बिर

नमस्कार !

तपाईं नेपालमा गणतन्त्र स्थापना पछिको पहिलो राष्ट्रपति, झण्डै दुई सय पचास वर्षसम्मको राजतन्त्र फालेपछिको देशमा साधारण जनताको सन्तानको पहिलो प्रतिनिधि राष्ट्रपति । तपाईं त अझ तराईको ग़रीब बस्तिको बीचबाट संघर्ष गर्दै राज्यको सर्वोच्च पदमा पुगेको जनताको छोरा ।

हामी गर्व गर्छौं, एउटा आम जनताको छोरा, मधेसमा पछि परेको/ पारिएको जनजाति ‘ यादव’ को छोराले इतिहास रच्दै देशको सर्वोच्च पदमा अासिन भएर देशमा जनताको संविधान घोषणा गरेकोमा ।

तपाईं पदमा आसिन भएपछि देशले केही उपलब्धि हात पार्यो त केहि गुमायो पनि । केहि देशमा भएको फोहोरी राजनीतिले गर्दा त केहि प्रकृतिले गर्दा । तपाईं थोरै जिम्मेवार र धेरै जानुफकार हुनुहुन्छ नै । राजनैतिक आरोह अवरोह र प्राकृतिक प्रकोपले मुलुकको अर्थ व्यवस्थासंगै मनहरु छिया-छिया भएको तथ्याङ्क म सँगभन्दा तपाईंसंग आधिकारिक छ हैन र ?

Sargam Bhattarai
सरगम भट्टराई

जनताले, जनताको लागि, जनताद्वारा गरिने शासन व्यवस्था ‘लोकतन्त्र’ जनतालाई केन्द्रमा राखेर जनताको हितमा काम गर्ने व्यवस्था नै लोकतन्त्र हो भनेर साना-साना नानी बाबुहरुले पढिरहेकै छन् । तपाईं हामीले पनि पढेर यहाँसम्म आयौँ । आमअशिक्षित जनताले पनि लोकतन्त्रको परिभाषा यहि बुझेका छन् ।

आज झण्डै पचास लाखभन्दा बढी युवायुवतीहरुले विदेशमा ज्यान जोखिममा पारेर रगत पसिनासंग श्रम साटेर पठाएको रेमिट्यान्सले देश चलेको छ, थामिएको छ ।

लज्जास्पद् रुपमा दैनिक १५ घण्टा हुने लोडसेडिङमा मधुरो टुकी, मैनबत्ती बालेर नेपाल ब्राजिलपछिको दोश्रो ठूलो जलविद्युत उत्पादन गर्न सक्ने देश हो भनेर भविष्यका कर्णधारहरुले पढिरहेकै छन्, कहिलेसम्म पढ्ने हुन् कुन्नि ?

भूकम्पपछि हजारौं जनता अझै पनि आफन्तहरु गुमाएर मुटुमा गाँठो पार्दै च्यातिएको त्रिपालमूनि आधा जिन्दगी बाँचिरहेका छन् । भोक र शोकले कसैले केहि दिन आउलान् कि भनेर क्षितिज र आकास दुवैतर्फ हेरिरहेका छन् ।

दुर्गम क्षेत्रमा अझै पनि धेरै मान्छेले मोटर देखेकै छैनन्, विकास भन्ने कुन चराको नाउँ हो उनीहरुलाई थाहा छैन । पाँच किलो चामल सित्तैमा होईन, किन्नलाई पनि नेताहरुको सिफ़ारिश चाहिन्छ । स्वास्थ्य, र शिक्षाको अवस्था त झन बिकराल नै छ ।

नेपालको त्यही दुर्गम क्षेत्र हो जहाँ एउटी नारी बहुपति प्रथामा आफ्नो शरीर लुटाईरहेकी छे, प्रगतिशील ठानिएको संविधानको कुनै पनि धाराले उसलाई देख्न सकेको छैन ।

तपाई जन्मे हुर्केको तराईमा अझै पनि अघोषित बाबुतन्त्र कायमै छ, शिक्षा, स्वास्थ्य र विकासको सूचक लाज मर्दो छ । विश्वले विज्ञान प्रविधिमा जादूमयी फड्को मार्दा हामी भने ‘खुला दिशामुक्त गा. वि. स./नगरपालिका घोषणा गरिरहेका छौँ, साबुन पानीले हात धुनुपर्छ भनेर तालिम चलाईरहेका छौँ, तर अझै पनि तराईमा विभिन्न संस्थाले बनाईदिएका चर्पीहरुलाई मान्छेहरुले भुसको गोदाम बनाईरहेका छन् ।

दिन प्रतिदिन कर्मचारीहरुले अख़्तियार दुरुपयोग गरि अकुत सम्पति आर्जन गरेको समाचार, घुस लिँदा लिदै पक्रेको समाचार आएकै छ ।

सिंहदरबार/बालुवाटारमा बहालवाला र भि.आई.पी.हरुको तलब सुविधा बढाउन चौतर्फी प्रेशर आईरहेको छ, भि.आई.पी.हरुलाई बिलासी गाडी, ईन्धन सुविधा र अन्य सुविधा दिईएको छ।

विदेश भ्रमण गर्न जन्ती भन्दा बढी संख्यामा भ्रमण टोली जान्छन, जसको खर्च दैनिक एक करोडको हाराहारी हुन्छ ।

पाँच महिनासम्म नागरिकलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्ने निकम्मा आयल निगमले कर्मचारीहरुलाई नब्बे करोड बोनस बाँड्ने तयारी गर्दैछ । त्यहि आयल निगमका कर्मचारी कालोबजारी गर्छन्, कम तेल दिने डिभाईस सेट गर्छन् ।

यस्ता कैयौं प्रहसनहरुको लामो लिष्ट तयार हुन्छ, जो एउटा सानो पत्रमा अटाउँदैन । त्यसैले खाटी विषयवस्तुमा प्रवेश गर्न चाहन्छु । जुन कुराले तपाईंको निर्णय त नबदलिएला तर बारम्बार काउकुति भने अवश्य लाग्नेछ ।

महामहिमज्यू,
तपाईं पदमा रहुञ्जेल जनताले बुझाएको करले जे जति सेवा सुविधा पाउनुभयो, त्यसमा मलाई गुनासो छैन । तपाईंले राज्यलाई नेतृत्व दिने बेलामा पाएका विलासी गाडी, आवास, ईन्धन र अन्य खर्चहरुको जनताले खर्च मागेका पनि छैनन् ।

मैले जानेसम्म पेशाले तपाईं डाक्टर हो, जुन पेशाबाट तपाईंले नेपालमा राम्रो कमाउन सक्ने मान्छेलेजस्तै कम मेहनत गरेरै काम गर्न सक्नुहुन्छ, तपाईको उमेरका बहुसंख्यक मान्छेहरु पसिना बगाएर ज्यान पालिरहेका छन् । कतिपय बृद्धाश्रम त कतिपय सडकमा भोकै सुतिरहेका छन् ।

अझै पनि नेपालमा डाक्टरहरु अत्यन्त न्यून छन्, तपाईं त झन अनुभवी डाक्टर पनि हुनुहुन्छ । तपाईंले कुनै सामुदायिक या सरकारी अस्पत्तालमा निःशुल्क सेवा गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईंको सीप त तिखारिन्छ नै धेरै मान्छेहरुको ज्यान पनि बाँच्न सक्छ ।

तपाईं राज्यले उपलब्ध गराउने मासिक एक लाख तीस हजारको भाडाको घरमा बस्नुहुन्छ , तपाईंको त आफ्नै घर पनि छ, नोकर चाकरहरु छन्, सरकारले भत्ता पनि दिन्छ , छोरा-छोरी नातिनीहरुको पनि राम्रो कमाई छ । अझ भन्ने हो भने यथेष्ट पुर्खौली जायजेथा पनि त छ ।

म केहि उदाहरण दिन चाहन्छु,

तस्बिर: बिबिसी
तस्बिर: बिबिसी

दक्षिण अमेरिकी मुलुक उरुग्वेका ७८ वर्षे भू.पु. राष्ट्रपति Josse Mujika अझै जीवित छन् । जो मार्च -१ -२०१० देखि मार्च १ -२०१५ सम्म देशको राष्ट्रपति भए । उनी पदमुक्त भए पश्चात सरकारी निवासमा बसेनन्, उनी उनकी श्रीमतीको सिंगल बेडरूम फ़ार्म हाउसमा बस्छन्, १९८७ मोडलको भोल्कस्वेगन कार चढ्छन् ।

एउटा साधारण घरमा बसेर आफ्नो तलब भत्ताको नब्बे प्रतिशत समाजसेवामा खर्च गर्छन् । उनी भन्छन्, ‘म त्यस्तो घरमा बस्न चाहेँ, जस्तो घरमा देशका बहुसंख्यक जनताहरु बस्छन् ।’ जबकी नेपालभन्दा धेरै विकसित र सम्पन्न देश हो उरुग्वे । त्यही सरल जीवनशैलीले गर्दा उनी संसारमै प्रिय छन् ।

एउटा भनाई छ, ‘राम्रो अभिभावकले राम्रै मार्ग निर्देश गर्छ, भावी पुस्तालाई सहि बाटोमा डोर्याउँछ । युग-युगसम्म मार्ग निर्देश गर्दछ ।

तपाईं त तीन करोड नेपाली जनताको अभिभावक हो र तपाईंले गरेका हरेक राम्रा कामले राम्रा मान्छेलाई अझ राम्रो गर्न प्रेरणा दिन्छ भने भ्रष्टहरुलाई नैतिक दवाव पर्छ ।

त्यसैले हजारौं जनता घरवारबिहीन भएको बेला, लाखौं मान्छेहरुको जीवन कारुणिक भईरहेको बेला तपाईं डेरा होइन, आफ्नै घरमा सर्नुस्, सरकारसंग याचना हैन हातेमालो गर्नुस् । आफ्नै पेशामा फर्कनुस्, डाक्टर नपाएर मरिरहेका ग़रीबहरुको ज्यान बचाउनुस्, जसले भोलिका निवर्तमान र भू.पु. भि.आई.पी. हरुलाई समेत नैतिक दवाव हुनेछ ।

संसारकै शक्ति सम्पन्न देश अमेरिकाका भू. पु. राष्ट्रपतिहरु पनि आफ्नो पूरानो पेशा वा समाजसेवामा अनवरत लागिरहेका छन् ।

तपाईं पनि आफ्नो विशेषज्ञताको पेशामा खटिएर काम गर्नु भएमा सर्वत्र तपाईंको समाजसेवाको प्रसंसा हुनेछ, तपाईंको क़द बढ्ने छ । तपाईंको आफ्नै घर र काममा फर्कने निर्णयले एउटा कविता लेख्दैमा राज्यकोषबाट याचना गर्नेदेखि देशका सबै भि. आई. पी. हरुको तन्द्रा भंग हुनेछ । प्रधानमन्त्रीदेखि सभामुखसम्म सबैलाई आफ्नो कार्यकालपछि आ-आफ्नो पेशामा फर्कन नैतिक दवाब पुग्नेछ ।

अझै पनि सिटामोल नपाएर मान्छे मरिरहने देशमा क्षमता र योग्यता भएकाहरुले याचना गरेरै देशको ढुकुटी दोहन गर्ने हो भने हाम्रा भावी सन्ततीले तपाईं हामीबाट के सिक्ने ? देश कहिले उँभो लाग्ने ?

त्यसैले तपाई यथासिघ्र आफ्नै घर सर्नुस् र आफ्नै पेशामा फर्कनुस् । तपाईंको सुरक्षा सरकारले गर्छ, तपाईं जनताको स्वास्थ्यको हेरचाह गर्नुस् । सकुञ्जेलसम्म कारुणिक जीवन बिताईरहेका वृद्ध-वृद्धाहरुको उपचार गर्नुस् । यसो गर्नुभयो भने तपाई संसारकै सबैभन्दा लोकपूर्व पूर्वराष्ट्रपति कहलिनु हुनेछ । जनताको मन-मनमा बस्नु हुनेछ । इतिहासमा तपाईंको नाम स्वर्ण अक्षरले लेखिने छ ।

जनताको मनमा बस्ने कि सरकारको धनमा तपाईंकै ईच्छा ।
तपाईंको शुभचिन्तक
– सरगम भट्टराई, कपिलवस्तु (हाल अमेरिका)

साभार : साझा पोष्ट

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत