संसार परितर्वन गर्नेबारे सोच्ने तर आफैँलाई परिवर्तन गर्नेबारे कहिल्यै नसोच्ने ?

1

११ चैत, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले “प्रत्येक मान्छेहरुले संसार परितर्वन गर्नेबारे सोच्ने गर्छन् तर आफैँलाई परिवर्तन गर्नेबारे भने तिनले कहिल्यै सोच्दैनन् ।” भन्ने लियो टोल्सटोयको भनाईलाई व्यानरको शीर्ष स्थानमा राखेर बुधबार राजधानीमा ‘नेपालको राजनीतिक स्थिति, माओवादी आन्दोलनको दिशा’ विषयक बहस कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको मूल उद्देश्य टुटफुटमा रहेर गुट चलाइरहेका माओवादी पार्टीहरुका मूल नेतृत्वले गम्भीर भएर माओवादी आन्दोलनको समीक्षा गर्दै देश र जनताको लागि विशेषत् सहिद, बेपत्ता, घाइते–अपाङ्ग साथै जनयुद्ध, जनयोद्धा र माओवादी आन्दोलनलाई पुनःसङ्गठित गर्न माओवादी पार्टीहरुको एकता अहिलेको अपरिहार्य आवश्यकता भन्ने रहेको थियो ।

माओवादी पार्टीहरु ‘गौरवशाली’ होइनन् ‘कौरवशाली’ हुन्’ – बिष्ट
एबीसी–एमएम’ एकजुट हुनुपर्दछ

2

कार्यक्रमलाई सम्बोधन गर्दै एनेकपा माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगरले एकीकृत माओवादी, बैद्य माओवादी, चन्द माओवादी, मातृका माओवादी र मणि थापा माओवादी (एबीसी–एमएम) एक हुनुपर्नेमा जोड दिए । कार्यक्रम बोल्दै नेता विष्टले ‘माओवादीहरु एककापसमा ‘फुट’ भएर ‘गुट’ बनाएपछि दुश्मनको हाँसो देख्न मन लाग्ने, माओवादीकै उछितो काढ्ने, हामीहरु कस्तो माओवादी हौं ? भनी प्रश्न गरे ।

‘माओवादी पार्टीहरु आ–आफ्नो पार्टीलाई गौरवशाली पार्टी ठान्छन् तर उनीहरु ‘गौरवशाली’ होइनन् ‘कौरवशाली’ हुन्’ नेता विष्टले भने– ‘खाली झगडा मात्रै गरिरहने गौरवशाली हुन्छन् ? झगडा गर्ने त कौरवशाली हुन्छन् ।’

उनले वर्तमान सत्ता प्रतिक्रियावादी सत्ता नै रहेको भन्दै एमाओवादी सरकारमा भए पनि सत्तामा नरहेको बताउँदै सत्ता र सरकार फरक–फरक विषय भएकाले त्यसरी नै बुझ्न सुझाए ।

माओवादी पार्टीहरुको एकता सम्बन्धमा जोड दिँदै नेता विष्टले सबै माओवादीका नेतृत्वहरुले जुँघाको लडाईं, पदको लडाईं, बाक्लो र चिल्लो दालको लडाईं छाडेर कार्यदिशा, कार्यशैली, कार्यनीतिमा लडाईं लड्न एक हुनु नै अहिलेको आवश्यकता रहेको बताए ।

3यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको वर्तमान सरकारसँग सबैभन्दा भारत तर्सित रहेको बताए ।

महासचिव थापाले मदन भण्डारी पत्नी ‘राष्ट्रपति’, जनयुद्धका कमाण्डर ‘उपराष्ट्रपति’, झापा विद्रोहको एक व्यक्ति ‘प्रधानमन्त्री’ र जनयुद्धकै कमाण्डर ‘सभामुख’ भएकाले भारत यतिबेला नराम्ररी झस्किएको र उ जसरी पनि माओवादी पार्टी बिघटन गर्ने खेलमा लागेकाले पनि माओवादी पार्टीहरुको एकता अपरिहार्य आवश्यकता भएको बताए ।

उनले यदि माओवादी पार्टीहरु एक नहुने हो भने भारत माओवादी पार्टीलाई बिघटन गर्ने खेलमा छँदैछ, तर अर्कोतिर दायाँबाट बाबुराम र बायाँबाट विप्लबले ठोक्नेछ भन्दै हलमा उपस्थित सबैलाई हँसाए ।

4त्यस्तै जनअधिकार अभियान नेपालका अध्यक्ष तथा अधिवक्ता एकराज भण्डारीले २०४७ सालको संविधानमा राजा फाल्ने कुरामा संशोधन नहुने प्रावधान भए जस्तै नेपालको नयाँ संविधान संसदीय व्यवस्थालाई आत्मसात् गरेर आएको हुदाँ अन्य कुरा संशोधन भए पनि संसदीय व्यवस्थामा फाल्ने कुरामा संशोधन नहुने भन्दै यसका लागि फेरि बल प्रयोगको सिद्धान्त बाहेक अर्को विकल्प नरहेको बताए ।

अधिवक्ता भण्डारीले माओवादी पार्टीहरुको एकता बारे चर्चा गर्दै गिरिजा र शेरबहादुर, माधव नेपाल र बामदेव गौतम फुटेको जस्तै र उनीहरु जुटे जस्तै फुट र जुटको अर्थ छैन् । त्यसकारण अब माओवादीको कार्यदिशा जनयुद्धले पूरा नगरेको नेपालको सामाजिक अन्तरविरोध, ती उत्पीडित वर्ग, समुदाय र त्यो विभेदलाई हल गर्ने किसिमको क्रान्ति सम्पन्न गर्ने हुनुपर्छ ।

5यसैगरी नेकपा (माओवादी)का केन्द्रीय सदस्य गोपाल ठाकुरले नेपालको राजनीतिक स्थितिबारे चर्चा गर्दै  सामन्तवादको प्रतिनिधि संस्थगत राजतन्त्र समाप्त भएको बताउँदै पूूँजीवादी व्यवस्था सुरुभएको भनिए पनि नेपाली समाजको चिन्तन जहाँको तहीँ नै रहेकाले नेपाली राजनीतिमा नवसामन्तहरुको दबदबा रहेको बताए ।

नेता ठाकुरले साम्यवादको कुरा गर्ने, साम्यवादकै घाँटी रेट्ने ? संविधानमा संघीयता हुँदा पनि संघीयताको शब्द नै सुन्न नचाहने साथै गणतन्त्रको घोर विरोधीहरुको जमात नै सरकारमा रहेको बताउँदै वर्तमान सत्ता लैङिगक हिसाबले पुरुष, क्षेत्रीय हिसाबले पहाडीया, जातीय हिसाबले ब्राह्मणवादको हातमा रहेको उल्लेख गरे ।

उनले मुलुकमा राजमुकुट भएको राजा नहुनु प्रगतिशील भए पनि वर्तमान सत्ता मण्डले राष्ट्रवादको पृष्ठपोषक, खस–गोर्खाली नवसामन्तवादी रहेको बताए ।

6यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता कुल बहादुर केसी ‘सोनाम’ले माओवादी नेतृत्व, कार्यदिशा र आन्दोलनलाई बुझ्ने होइन, बदल्नु पर्ने बताए । उनले ०६३ सालमा ४०–५० हजार होलटाइमर कार्यकर्ता थिए भन्दै अहिले केन्द्रीय सदस्य नै होल टाइमर छ कि छैन् ? भन्ने प्रश्न खडा भएको बताए ।

नेता केसीले देश आफूले चलाएको, हल्लाएको दावी गरिरहेका माओवादी नेतृत्वको आलोचना गर्दै ‘उनीहरुलाई कसले चलाइरहेको छ, हल्लाइरहेको छ, इण्डियाको नाकाबन्दी पछि देखिएको बताउँदै एउटै तेलले कति हल्लाइदियो, देखिहालियो नि’ भने ।

‘माओवादी जुट्ने भनेको अङ्गालो नै हाल्ने भनेको होइन’ भन्दै नेता केसीले भने, ‘जनयुद्ध, जनयोद्धा र माओवादी आन्दोलनलाई केन्द्रीकरण गर्नु, एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो ।’ कार्यक्रमलाइृ सम्बोधन गर्ने क्रममा उनले माओवादीको स–साना कोटरी बनाउने अध्याय समाप्त भएको समेत बताए ।

7यसैगरी द्वन्द्व सरोकार केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले माओवादी पार्टीहरुका नेतृत्वलाई ठाडो प्रश्न गरे । ‘युद्धमा किन गयौं ? फर्केर किन आयौं ? विभाजित किन भयौं ?’ श्रेष्ठले भने, ‘१५ हजार बढीले जीवनको बलिदानी दिए, हजारौं वेपत्ता छन्, ४–५ हजार जना अङ्ग–भङ्ग, घाइते छौं, हिजो जनयुद्धमा  योग्य जनमुक्ति सेना अहिले किन अयोग्य भए ? तपाईंहरुले भनेको राज्य सत्ता प्राप्ति भएकै हो ? उत्पीडित वर्ग जाति, क्षेत्रको जनताको मुक्ति भनेको यही नै हो ?’

‘कसको दबाब (पे्रसर)मा लागेर पार्टी फुटाउन भएको हो ?’ आक्रोशित भावमा श्रेष्ठले सबै माओवादीका नेताहरुलाई एकमुष्ठ प्रश्न गर्दै भने, ‘जसको प्रेसरमा पार्टी फुटाएको भए पनि त्यो छाडेर अब एक ठाउँमा आउनुस् होइन भने हामी त सकियौं नै, तपाईंहरु एक ठाउँमा आउनु भएन भने सिद्धिनुहुनेछ ।’

8उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी एकताका लागि दवाव अभियानका अभियन्ता दिपेन्द्र रोकायाले जनयुद्ध १० वर्ष ९ महिना ५ दिन चलेको त्यही युद्धले माओवादी पार्टीलाई जन्माएको भन्दै  विगतमा माओवादी आन्दोलन अरुचिको विषय भएता पनि जनताको, मिडियाको विषय बनेको बताए ।

‘अहिले माओवादी आन्दोलन विघटन, यथास्थितिमा साख जोगाउने, नामर्दपन देखाउने, अघि बढ्न नसकेको स्थितिमा पुगेको अवस्थामा छ’ अभियन्ता रोकायले भने, ‘तसर्थ, यो समय कोही कुनै पार्टीमा मिल्ने कुरा होइन, माओवादी केन्द्र बन्नु पर्छ र माओवादी पार्टीहरुको एकता गर्न अब ढिला गर्नु हुदैन् ।’

क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मणि थापाको अध्यक्षतामा र सो पार्टीका नेता रक्तिमले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम टिका विक्रम हमालले सञ्चालन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत