तत्कालीन प्रधानसेनापति रुक्माङद कटवाल रक्षामन्त्रीका अगाडि धुरुधुरु रोए – खड्का

७ वैशाख, काठमाडौं ।

Rukmanggat-Katuwal

नेपाली सेनाको इतिहासमा एउटा जटिल घटना छ, कटवाल प्रकरण । एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्माङद कटवाललाई पदबाट हटाइयो र दोस्रो बरियताका कुलबहादुृर खड्कालाई प्रधानसेनापतिको नियुक्तिपत्र थमाइयो । सैनिक हेडक्वार्टरमा एक रात दुईजना प्रधानसेनापति रहे ।

तिनै दुई ‘प्रधानसेनापति’ मध्ये इतिहासमा शक्तिको शिकार बनेका पूर्वजर्नेल कुलबहादुर खड्का यतिबेला रुक्माङद र छत्रमानको तारो बनेका छन् । कटवालले लेखेको आत्मकथामा होस् या छत्रमानले हालै प्रकाशित गरेको आत्मकथामा, कुलबहादुरलाई भिलेन र रुक्माङदलाई नायकका रुपमा प्रस्तुत गरिएको छ ।

रुक्माङद र छत्रमानको पुस्तक बजारमा आइसकेपछि अब किताब लेख्ने पालो आएको छ, ‘स्याडो’ पूर्व’प्रधानसेनापति’ कुलबहादुर खड्काको । अब तपाईको आत्मकथा कहिले आउँछ ? अनलाइनखबरको प्रश्नमा उनले आत्मकथा हैन, कटवाल प्रकरणबारे तथ्य (यथार्थ) कथा लेख्ने बताए : भनी अनलाइनखबरमा स्याडो पूर्व’प्रधानसेनापति’ कुलबहादुर खड्काको अन्तर्वार्ता छापिएको छ । 

Kul-B-Khadka

अनलाइनखबरमा प्रकाशित स्याडो पूर्व’प्रधानसेनापति’ खड्काको अन्तर्वार्ताको केही महत्वपूर्ण सवाल–जवाफहरु हाकाहकी डट कमले जस्ताको तस्तै प्रकाशन गरेको छ ।

कति वर्ष पुग्नुभयो ?

६४ पुगिसकें ।

सेनामा रहँदा तपाईलाई माओवादी नजिकको मान्छे भनेर आरोप लगाइयो, अहिले एमाओवादी सरकारमा छ । तपाईकै लाइनको सरकार होइन र यो ?

यो आरोपको सुरुवात रुक्माङगद कटवालजीले गर्नुभएको हो । मलाई इत्तर पक्षको, विरोधी पक्षको भन्ने । मलाई माओवादीकहाँ गएर यतिसम्म भन्नुभयो कि ऊ भारतपरस्त हो, ऊ, नेपाली कांग्रेसको मान्छे हो ।

डा. रामशरण महत मेरा छिमेकी हुनहुन्छ, ऊ रामशरण महतको मान्छे हो भनेर त्यतातिर पनि देखाइयो ।  माओवादीमा गएर यसरी भन्नुभयो भने अरुतिर गएर माओवादी सरकारले उहाँलाई प्रधान सेनापति बनाउने निर्णय गरेको हुनाले कुलबहादुर माओवादीको मान्छे हो भन्नुभयो ।

यतिमात्रै होइन, मेरो चरित्र हत्या गर्न जेबाट मलाई नोक्सान हुन्छ, त्यही भनियो । भारतीय पक्षसँग गएर मलाई ऊ आइएसआईको मान्छे हो भन्नसम्म उहाँले भ्याउनुभयो । यी लाञ्छनाहरु हुन्, मेरो चरित्र हत्या गर्न खोजिएको हो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले कटवाललाई प्रधानसनेापतिबाट हटाउँदा तपाईले प्रचण्डलाई साथ दिएकाले नै तपाईलाई माओवादी निकट भनिएको हो कि ? तपाई त्यसबेला प्रधानसेनापति समेत बनाइनुभयो…

जुनसुकै पार्टीको सरकार भए पनि नियुक्ति दिनुपर्ने बेलामा त तिनीहरुले दिनैपर्‍यो नि । अहिले हेर्नोस् त प्रधानन्यायाधीश पद खाली भयो, त्यसमा एमालेले नियुक्त गरेको भन्ने ? होइन । नेपाल सरकारले दियो नि त । त्यो त सरकारको दायित्व हो, खाली भएका ठाउँमा नियुक्ति दिने ।

तपाईले पनि बढ्नुभयो होला, कटवालजीको किताब हेर्ने हो भने प्रचण्डसँग उहाँको सुमधुर सम्बन्ध छ भनिएको छ । अब, कारवाही त्योबेलाको सरकारले गर्‍यो ।  ती कारणहरुले म के भन्छु भने उहाँले त्यसबेला रीस पोख्ने व्यक्ति पाउनुभएन र ममाथि खनिनुभएको हो । र, यसमा जायज पनि होला, किनभने उहाँ त प्रधानसेनापति बसिराखेको मान्छे, खोसुवामा पर्नुभो । त्यो कुर्सीमा मलाई नियुक्ति दिएपछि ममाथि टार्गेट भएको हो । त्यसैले उहाँले ममाथि लाञ्छना लगाउनुभएको हो । तपाईहरुजस्तो बुझ्ने मान्छेले बुझ्नु पनि भएको होला ।

तपाई माओवादी निकट हो कि हैन ?

त्यस्तो हुन्थ्यो भने अहिले म माओवादीको झोला बोकेर हिँड्ने थिएँ । त्यो घटना भएको पनि अहिले ६/७ वर्ष भयो । यसवीचमा बाबुराम भट्टराईले पनि सरकार चलाउनुभयो । अरु-अरु व्यक्तिहरु आ-आफ्नो ठाउँमा गए, तर म त काहीँ पनि गएको छैन ।

अहिले पनि माओवादी सरकारमै छ । मान्छेहरु अहिलेको सरकार प्रचण्डले नै टिकाएको छ पनि भन्छन् । म माओवादी भएको भए मैले केही फाइदा त पाउँथें होला । उहाँहरुले मलाई खोज्नुहुन्थ्यो होला । तर, साधारण छलफलहरुमा समेत म सहभागी हुने गरेको छैन । त्यसैले यो भन्ने बाटोमात्रै हो ।

भर्खरै पूर्वप्रधानसेनापति छत्र मान सिंह गुरुङको आत्मकथा ‘जनताको छोरो’ बजारमा आएको छ । पुस्तकमा कटवाल प्रकरणबारे तपाईलाई पनि तानिएको छ, यसबारे तपाईको प्रतिक्रिया के छ ?

कटवालले मलाई तान्नु स्वाभाविकै हो । किनभने उहाँ प्रधानसेनापति भइरहनुभएको थियो, उहाँलाई बर्खास्ती गरियो र त्यो ठाउँमा मलाई राखियो । यस अर्थमा कटवालजीले मप्रति पूर्वाग्रह राख्नु स्वाभाविक जस्तो लाग्छ । तर, छत्रमानले मेराबारेमा पूर्वाग्रह लिनुचाहिँ पहिलादेखिको उसको र मेरो सम्बन्धले पनि सुहाउँदैन ।

अर्कोचाँहि मैले सुनेको, कटवालको कितावमा शशिभवनमा गएर भाग खान खोज्यो भनिएको छ रे, भागको कुरा गर्दा प्रधानसेनापतिको रोलमा को थियो र को भयो भन्ने कुरा त मैले विश्लेषण गरेर यथार्थ भनें भने कुरो अर्कै छ । त्यसैले यो अर्थमा उहाँले मलाई तान्न खोज्नुभएको जस्तो लाग्यो ।

मैले छत्रमानको किताब पढ्न भ्याएको छैन, तर मैले सुनें । मेरो व्यक्तिगत पारिवारिक कुरा पनि त्यहाँ लेखिएको छ अरे । यो त मलाई अलिकति अचम्म लाग्यो । हुन त म सिपाही हुँ, तर मैले बुझे अनुसार किताबको लेख्ने स्टायलमा आखिरीको प्याराग्राफ भनेको सारांश हो जस्तो लाग्छ । तर, आखिरीको प्याराग्राफमा मेरो नाता गोताको पारिवारिक कुरा लेखिएको छ रे । भनेपछि उहाँले मलाई किन तान्नुभएको हो, त्यो मलाई थाहा भएन ।

कटुवालजीले जतिसम्म कुरा मेराबारेमा लेख्नुभएको थियो, मैले त्यसको प्रतिवादमात्रै गरेको छु । मैले उहाँलाई छोएको छैन । मसँग पनि कनै कुराहरु होलान् नि त । किनभने म पनि त्यत्रो वर्ष आर्मीमा बसें, उहाँको सेकेण्डम्यान भएँ । उहाँको के हो भन्नेदेखि लिएर मलाई धेरै कुरा थाहा होला नि त । म त्यस्तो नीच कुरामा जान्न ।

त्यसमाथि पनि छत्रमानले यसो भनेको देखेर मलाई भित्रभित्र हाँस उठेको छ । म अहिले यति नै भन्न सक्छु । यदि भन्ने नै हो भने मेरोबारेमा जति नचाहिँदो अफवाह फैलाएर उहाँहरुले किताब बेचाउने काम गर्नुभएको छ, मैले उहाँहरुको तथ्यमात्रै लेख्ने हो भने पनि उहाँहरु होइन भन्न नसक्ने अवस्थामा पुग्नुहुन्छ ।
 
तत्कालीन प्रधानमन्त्री प्रचण्डले सेनापतिबाट कटवाललाई हटाउँदा तपाई किन उनको पक्षमा उभिनुभएन ? अनि किन बालुवाटार पुगेर प्रधानसेनापतिको नियुक्ति लिनुभयो ? यो तपाईको कमजोरी होइन ?

ल, म तपाईलाई स्पष्ट भन्छु, मलाई प्रधानसेनापतिको नियुक्ति दिइसकेपछि मैले खान्न भन्न मिल्छ र ? ल भन्नोस् त । सेनामात्रै होइन, अहिले तपाईलाई वैधानिकरुपले राष्ट्रको प्रधानमन्त्री दिइयो भने म खान्न, ओलीजीलाई…(नमस्कार गर्दै)  भनेर के उहाँको पछि लाग्नुहुन्छ र ?

कटवालजी त बर्खास्त भइसक्नुभएको व्यक्ति हो । बर्खास्त भएको व्यक्तिलाई म प्रधानसेनापति भएको व्यक्तिले आइज, तँ बस् भन्ने मेरो अधिकार पनि थिएन । मलाई दिएको जिम्मेवारी म बहन गर्दिँन भनेको भए त म नालायक ठहरिन्थें । यो पाटो मान्छेले किन सोच्दैन ?

जोकोही व्यक्तिले पनि तँ फलानो पोष्ट पाउँछस् भन्यो भने त त्यो उसका लागि अवसर पनि त हुन्छ । मैले सहयोग गर्ने भनेको, मैले कटवाललाई यतिसम्म भनेको छु, ०६५ साल वैसाख १७ गते आखिरीपटक उहाँलाई अफिसमा भेट्दाखेरि पनि मैले उचित सल्लाह नै दिएको छु । सेकेण्ड म्यानको हिसाबले उहाँले मलाई अफिसमा बोलाउनुहुन्थ्यो । मैले जति पनि सल्लाह दिएको छु, कहिल्यै पनि नचाहिँदो सल्लाह दिएको छैन । मैले अघि पनि भनें, कटवालजीमाथि जुन कारवाही भयो, त्यसको रीस अन्त पोख्ने ठाउँ नपाएपछि उहाँले ममाथि पोख्नुभयो ।

त्यसबेलाको सरकारले कटवालमाथि जुन कारवाही गर्‍यो, त्यसलाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ? त्यसमा प्रचण्डले गल्ती गरेका होइनन् ? कटवाल प्रधानसेनापतिबाट हट्न ३/४ महिनामात्रै बाँकी रहँदा उनलाई हटाउनु हतारो भएन र ?

म के भन्छु भने यो नितान्त उहाँ (कटवाल) को व्यवहारले गरिएको कारवाही हो । अहिलेसम्म बाहिर नआएको एउटा कुरो म यहाँ भन्छु, पुस २३ गते रक्षामन्त्री रामबहादुर थापा बादलले बोलाएर कटवाललाई रक्षा मन्त्रालयमा कुरा गर्नुभएको छ । त्योबेलामा कटवाल रक्षामन्त्रीका अगाडि धुरुधुरु रुनुभएको छ । तपाईले पत्रिका हेर्नुभयो भने थाहा पाउनुहुन्छ, सरकारमा जानासाथ कटवालजीले पूरा टर्म प्रधानसेनापति खानुहुन्छ भन्ने व्यक्ति रक्षामन्त्री रामबहादुर हो ।

उसोभए कमजोरी सरकारको नभएर प्रधानसेनापति कटवालकै थियो ?

रक्षा मन्त्रालयबाट भएका जति पनि निर्णयहरु छन्, ती सबैमा उहाँले उल्टोउल्टो गर्नुभयो । र, नेपाल सरकार होइन, माओवादीको सरकार हो र माओवादी भनेको देश डुबाउने हो र यसलाई मान्न जरुरी छैन भन्ने हिसाबमा उहाँ जानुभयो । तपाई र म सदासयता छउञ्जेल न आफ्नो हो । त्यसपछि, पाँचदिन पछि यस्तो हुँदैथ्यो अहिले किन गर्‍यो भन्न परेन नि । मैले गर्नुपर्ने जे हो, तपाईसँग म अहिल्यै ठीक गर्छु नि । यो कुरो बाहिर आएसकेको छैन र उहाँले भन्ने कुरो पनि होइन । उहाँ रक्षामन्त्रीका अगाडि धुरुधुरुसम्म रुनुभएको छ ।
 
उसोभए कटवालमाथि सरकारले गरेको कारवाही सही नै थियो ?

कारवाही गर्ने कुरा पहिलेदेखि नै चलेको थियो, त्यो विन्दुमा गएर क्लाइमेक्स भयो । त्यो बेलामा अरु पार्टीहरुले पनि हुन्छ भनेर सहमति दिए क्यारे । त्यसपछि कारवाही भएको हो ।

समयको हिसाबले कुरा गर्ने हो भने बिचरा अस्ति स्वर्गबास भएका गरुडसमशेर प्रधानसेनापतिबाट एक महिना विदामा बसेका बेला उहाँलाई बैखाशको २१ गते राजनीनामा गर्न लगाइयो । उहाँले गरेको ठूलो गल्ती केही पनि होइन । विदा बसेको मान्छेलाई कारवाही गर्न लगाइयो ।

कटवालले चाहिँ ठूलै गल्ती गरेका थिए ?

यहाँ त अटेरको अवस्था पहिल्यैदेखि चल्यो । तपाईहरु सबैलाई थाहा छ, सरकारले भनेको मान्दै नमान्ने । सरकारले भनेको नमानेपछि एक दिन त के, एकैछिन पनि नराख्ने सरकारको निर्णय भएको हो । यसरी कारवाही भएको म बुझ्छु ।

तर, तपाई सेनाको सेकेण्ड पोजिसनमा भएको व्यक्ति बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न किन जानुभएको ? छत्रमानको कितावमा तपाई बालुवाटार पुगेको प्रशंग छ नि ?

त्यो दिनमा । नियुक्तिका लागि बोलाएको दिनमा गएको हुँ । यो त कटवालले मलाई कारवाही गर्ने बाटो बनाएको हो ।

यो प्रक्रिया के छ भने म तपाईलाई भनिदिन्छु, हामी जर्नेलहरु कुनै काममा कतै जाँदा मैले मेरो स्टाफलाई भन्छु, म यति बजे फलाना ठाउँमा जाँदैछु । यसो भनेपछि उसले चिफ सा’बको स्टाफलाई भनिदिन्छ, चिफसा’बले खोजेको अवस्थामा कहाँ छ भन्नेमात्रै हो ।

तर, अब यहाँ कानून हेर्ने हो भने तँ १० बजे आर्मी हेडक्वार्टर आउनुपर्ने किन आइनस् भन्ने हो भने त्यो निहुँ खोजेको कुरा हो । त्योचाँहि मलाई कारवाही गर्नलाई नसोधिकन गयो भनिएको हो ।

तर, तपाईले प्रधानसेनापतिको नियुक्ति लिएर आए पनि नेपाली सेनाको कमाण्ड आफ्नो हातमा लिन किन सक्नुभएन ? नेपाली सेनाले किन तपाईलाई नसघाएर कटवाललाई नै सघायो ?

योचाँहि मानिसहरुले नबुझेको कुरो हो । उसलाई खोसिएको भन्ने काहिँ पनि आएन । उसले चिठी लुकायो । चिठी तलसम्म सर्कुलेसन नै भएन । अहिलेसम्म कटवाललाई बर्खास्ती भएको त्यो चिठी बाहिर आएको छैन । शायद एक दुईजना व्यक्तिहरुसँग होला ।

त्यो अवस्थामा आर्मीले त चीफ हुँदाहुँदै चिठी लिएर आयो, यो के हो भन्ने नै भयो नि ।  प्लस, उहाँले त फेरि सुरु गर्नुभयो नि । १८ दल बोलाउनेदेखि लिएर अनेक अभ्यासहरु भए ।

कता-कता किताबमा छत्रमानले भनेका छन्, ‘पीएसओजहरुलाई मेरो कोठामा राखेर बाहिर जान दिइएन’ । यो भन्या के हो ? कति डराएका रहेछन् ? बाहिर कुलबहादुरकोमा गएर हामी ठीक छौं भनिदिए भने के गर्ने ? हेर्नोस त सोचाइ कस्तोसम्म रहेछ । त्यसैले यो कुरो चाँहि मान्छेले नबुझेर मप्रति यसका कोही पनि थिएनन् भनेका हुन् ।

उसोभए कटवाल प्रकरणमा तपाईले खेलेको भूमिकाप्रति अहिले तपाईलाई कुनै गल्ती महसुस भएको छैन ।

छैन । र, मैले ‘गिल्टी फिल’ गर्नुपर्ने कुनै कारण पनि छैन । कटवाल प्रधानसेनापतिबाट बर्सास्ती भएको ठाउँमा म सेकेण्ड म्यानको हैसियतले  मैले पाउनै पर्ने थियो । नपाएको भए त मैले अदालत जानुपर्ने हुन्थ्यो । मैले किन पाइँन भनेर म अदालत जानुपथ्र्यो ।

तर, कटवाललाई नै थमौती गरेको राष्ट्रपतिको पत्र आएपछि तपाई पछि हट्नुभएको हो ? राष्ट्रपति त सेनाको परमाधिपति पनि हुन् क्यारे…

राष्ट्रपतिको पत्र तपाईले पढ्नुभएको छैन होला,  त्यो पत्र पनि बडो अनौठो छ । कुनै पनि देशको राष्ट्रपति आफैंले चिठी लेखेर, सही गरेर पठाएको घटना छैन । कर्मचारीले गर्छ ।

त्यो चिठी नेपाल सरकारलाई लेख्नुपथ्र्यो । र, नेपाल सरकारको रक्षा मन्त्रालयबाट त्यस्तो चिठी आउनुपर्ने हो । त्यो चिठीमा लेखिएको भाषाको कुरा गर्ने हो भने कटवाललाई बर्खास्ती गरिएकोमा अहिले काम चलाउनू भनिएको छ ।

तपाईलाई दिइएको प्रधानसेनापतिको नियुक्ति चाँहि के भयो त ?

मलाई नियुक्ति दिइएको थियो, तर अहिलेसम्म बर्खास्ती गरेको चिठी आएको छैन । मलाई कारवाही गरिएको चिठी पनि आएको छैन । म संविधान र कानून मानेको व्यक्ति हुँ । मलाई जुन सरकारले नियुक्ति दियो, उसले भोलिपल्ट राजीनामा गरेको अवस्थाले मात्रै अहिले यस्तो भइराखेको छ । नत्र कानूनतः कटवाल प्रधानसेनापतिको कुर्सीमा बसिरहने कुनै आधार थिएन ।

र, अर्को कुरा, त्यो दिनदेखि कटुवालले प्रधानसेनापतिको हैसियतले धेरै दिनसम्म चिठीहरुमा सही गर्नुभएन । शायद माधव नेपाल सरकारले असार ४ गते जुन निर्णय गर्‍यो, त्यसपछिमात्रै उहाँले हस्ताक्षरहरु गर्नुभयो । त्यसअघि जति पनि चिठीका कारवाहीहरु भए, आज्ञाले भनेर अरु जर्सा’बलाई सही गराउनुभयो । कटवाल आफैंमा पनि त बैधानिकताको प्रश्न रहेछ नि उहाँ आफैंमा । त्यही भएर उहाँ कतिपय फङ्सनहरुमा जानुभएन ।

त्यसैले नेगेटिभ पार्टमा मलाई प्रस्तुत गराउनलाई चाँहि त्यस्तो प्रचार गरिएको मात्रै हो ।  नेपाल आर्मीको चेन अफ कमाण्ड बुझ्ने मान्छेले म त्यहाँ गएर बसेपछि यो बबाल नभएको भए यिनीहरु सबैभन्दा म बढी पपुलर हुन्थें ।

छत्रमानले आफ्नो कितावमा संकेत पनि गर्नुभएको छ, तपाईलाई पाखा लगाइसकेपछि कटवालले भारतसँग कुरा गरेर भए पनि प्रधानसेनापतिमा म्याद थप्न चाहनुभएको हो ?

त्यतिमात्रै होइन, हाम्रा भूपू राष्ट्रपतिले छत्रमानको किताव उदघाटन गर्दा मैले त सैनिक पूर्वचिफलाई प्रधानमन्त्री बनाउन खोजेको थिएँ, खिलराज रेग्मीलाई ल्याएर राखे भनिसक्नुभएको छ नि ।

उहाँ (कटवाल) लाई प्रधानसेनापतिपछि रक्षामन्त्री हुने अथवा सकेसम्म जे पनि गरेर प्रधानमन्त्री….। ऊ हेर्नुहोस् न, रामवरणले त भनि नै सके नि । भनेपछि छत्रमानलाई बुझाउने भन्ने त प्रश्न नै थिएन ।

उसोभए केही नलागेर मात्रै छत्रमानलाई प्रधानसेनापति छाडिएको हो त ?

त्यो त पालो सकियो । त्यसलाई विशेष क्याबिनेटले पास गर्नुपर्‍यो । शायद अरुले खोजेका थिए होला, तर माधव नेपालजीले चाहेनन् । पूर्वराष्ट्रपतिले त भनि नै सक्नु भो ।

माधव नेपालको सरकारमा कांग्रेस पनि थियो । कांग्रेसको उपप्रधानमन्त्री सुजाता हुनुहुन्थ्यो । सुजातासँग उहाँ प्रधानसेनापति नियुक्ति हुँदाको सुमधुर सम्बन्ध पछि धेरै बिग्र्याथ्यो ।

त्यसैले गर्दा सिक्वेन्स मिलेन । नत्र उहाँ त  आजीवन खाने हिसाबको व्यक्ति हो । उहाँ प्रधानसेनापति मात्रै भएर बस्ने मान्छे होइन । प्रधानमन्त्री भएको भए राष्ट्रपति चाहिन्छ भन्नेखालको व्यक्ति हो । अहिले पनि उहाँ चालहरु चालिरहनुभएको छ । यो मलाई थाहा छ ।

रुक्माङगद र छत्रमानको आत्मकथा छापिइसक्यो, अब तपाईको पनि आउँदैछ कि ?

मेरो आत्मकथा होइन म आत्मकथा लेख्दिँन । म के लेख्छु भने त्यसबेला के भएको हो, त्यो घटनाको तथ्य मैले निकाल्छु । अब मेरोबारेमा अफवाह फैलिएपछि मैले पनि यथार्थ कुरा लेख्नैपर्ने हुन्छ । तपाईहरुजस्तो पत्रकारले विश्लेषण माग्नुभयो भने म यसैगरी व्याख्या गरिदिन्छु । यसैगरी उहाँहरु (रुक्माङगद र छत्रमान) लाई सोध्दा कस्तो जवाफ आउँछ, हेरौंला ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत