जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा लिन्छु – प्रचण्ड

११ बैशाख, दाङ ।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार दाङको घोराहीमा क्रान्तिकारी पत्रकार सङ्घ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् ।

प्रचण्डले जनयुद्धको सर्वोच्च कमाण्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताउँदै सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउनु पर्ने बताए ।

उनले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका काम कारबाहीप्रति आफूहरुको कुनै आपत्ति नरहने बताउँदै सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग माओवादीलाई चाहिएको बताए ।

‘हाम्रा विरुद्धमा जनयुद्धकै समयमा उजुरी हालिएको थियो’ प्रचण्डले भने– ‘म माओवादी मात्रै होइन सम्पूर्ण नेपाली जनतालाई द्वन्द्वकालीन घटनाको विरुद्धमा उजुरी दिन आग्रह गर्दछु ।’ साथै उनले अदालतले गरेका केही निर्णयप्रति आपत्ति रहेको बताउँदै आफूहरुलाई फसाउने नियतले गरिएको निर्णय विरुद्धमा सबै माओवादीलाई बोलाएर छलफल समेत गरेको बताए ।

एक अर्को प्रसङ्गमा प्रचण्डले वर्तमान सरकारमा नेपाली काँग्रेस र मधेसी मोर्चालाई पनि सहभागी बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत