पुष्पकमललार्इ जेल हालेर, शेरबहादुरलाई महाराजा बनाउने अधिकार कसैलाई छैन – दिल निसानि

१७ बैशाख, काठमाडौं । प्रचण्ड, बाबुराम प्रधानमन्त्री भएका बेलामा पक्कै खोजतलास हुन्छ भनेर उनले बेपत्ताको सुचिलाई सहजै स्वीकार गरिन् ।  माओवादीलाई सहयोग पनि गरिन् । चुनावमा मतदान समेत गरेर पहिलोपटक माओवादी भइन् ।

तस्बिर : अनलाइनखबर

तस्बिर : अनलाइनखबर

तर, अरु पार्टीका मानिसहरू भन्दा नि निष्ठुरी देखिए माओवादीका नेताहरू । काठमाण्डौमा बस्ने ठूला नेताहरुलाई भेट्दा चिन्ता नगर्नुहोस् हामी न्याय दिलाउँछौ भन्छन्, अर्कोपटक त्यहि नेतालाई भेट्दा तपाई को हो ? घर कहाँ हो ? पो भन्छन् ।”

यी परिघटना सुनाएपछि छमकूमारी बस्नेत भक्कानो छाडेर रोइन् ।

बाग्लुङको गल्कोट नरेठाँटी वडा नम्बर १ बाग्लुङ स्थायी घर भएकी छमकुमारी बस्नेत अहिले ४३ बर्षमा टेकिन् । कपाल फूल्न थाल्यो, आँखाले धमिलो देख्न थाले ।

१९ बर्षको कलिलो उमेर हुदाँ उनले गाँउकै ढकबहादूर बस्नेतसँग विवाह गरेकी हुन् । ०४५ सालको त्यो बैशाख महिनामा आफ्नो बिहेको दिन घन्निएको बाजागाजा छमकुमारीको कानमा अझै गुन्जिन्छ । सँगै बाँच्ने, मर्ने कसम खाएको याद आउँछ । तर, जीवनको यात्रामा ०५८ सालमा आइपुगेपछि उनको खुशी खोसियो ।

अहिले छमकुमारीकी छोरी रिता बस्नेत २६ बर्ष र छोरा गिरिजा बस्नेत २४ बर्षका भैसकेका छन् । तत्कालीन शाही नेपाली सैनिकले उनीहरूका बुवालाई पक्राउ गरेर लैजाँदा गिरिजा ९ र रीता ११ बर्षका थिए । अघोषित एकल महिला भएर, धेरै दु:खकष्ट सहेर छमकुमारीले छोरा-छोरीलाई ठूला त बनाइन् तर बुवा जिउँदै छन् वा मरिसके भनेर चित्तबुझ्दो जवाफ दिन सकेकी छैनन् ।

शेरबहादुर देउवाका कारण देशमा धेरै मानिसहरुले जीवन गुमाउन परेको छमकुमारीको बुझाइ छ । “भोलिका कर्णधारलाई शिक्षा दिने शिक्षकलाई सरकारले माओवादी भनेर मार्न मिल्दैनथ्यो । बेपत्ता त भनिएको मात्र हो, सत्यता मारिएको हो । गाउँको समस्या के छ, त्यो उनीहरुले बुझ्नुपर्थ्यो ।”

द्वन्दकालीन घटनाहरूलाई आधार बनाएर ७५ वटै जिल्लामा रहेका स्थानीय शान्ति समितिहरूले ऊजुरी लिन थालेपछि छमकुमारी बस्नेत आफ्नो श्रीमानलाई बेपत्ता बनाउनेहरुलाई कारवाही हुन्छ कि भन्ने आशामा शान्ति समिति बाग्लुङमा निवेदन बुझाउन आइन् । उनले निवेदनमा लेखिन् -‘मेरा श्रीमानलाई आजको मितिसम्म बेपत्ता बनाउनेहरूको नेतृत्व गर्नुभएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कडाभन्दा कडा कारवाही गरीपाँउ ।’

पङ्गतिकारको दृष्टिकोण

यो मुलुकमा छमकुमारी बस्नेतजस्ता हजारौं आमाहरु अझैसम्म पनि न्यायको खोजीमा छन् तर राजनैतिक अभिष्ट र प्रतिशोधपूर्ण भावनाका कारण एकले अर्काको राजनैतिक भविश्य समाप्त पार्न वा समाजमा अझै स्थिरता ल्याउनका लागि द्वन्द्वकालीन घटनालाई उचालिँदै छ । बालकृष्ण ढुङ्गेलको केसमा पनि यही कुरा लागू हुन्छ ।

तर एमाले, काङ्ग्रेसद्वारा परिचालित मानअधिकारवादी हुन् वा उनीहरूको डिजाइनमा तयार पारिएका शान्ति समिति नै किन नहुन्, यिनीहरुले चर्का कुरा गर्छन् । सत्यतालाई स्वीकार गर्दा यिनीहरुको रोजिरोटी गुम्छ । माओवादीलाई हेगसम्म लैजानका लागि उनीहरू पुरै कसरतमा छन् । तर, के यस्तो रबैयाले नेपाली जनताको हित गर्छ ? यो मुलुकले नयाँ दिशा प्राप्त गर्छ ? के गर्न खोजेको हो ?

योजनावद्ध ढङ्गले शान्ति समितिहरुमा पनि माओवादी विरुद्ध उजुरीहरु दर्ता भएका छन् । कारवाहीको कुरा गर्दा जति माओवादी कार्यकर्तालाई सजिलो हुन्छ त्यति सेना, प्रहरी वा नेताहरुलाई हुँदैन । के मान्छे माओवादीले मात्र मारेको थियो ? सरकार पक्षले आफ्ना नेपाली नागरिकहरूलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने ठाँउमा उल्टै जो पायो त्यहीलाई ड्याङ्ग-ड्याङ्ग गोली हानेर मारेको होइन ? हिजो राज्य पक्षबाट मारिएकाहरू सबै माओवादी थिए ?

यदि द्वन्द्वकालका घटनालाई ब्यूँझाउने हो भने सबैभन्दा पहिला, छमकुमारीले माग गरेजस्तै यी ठूला दलका सबै शीर्ष नेताहरू जेल कोचिनुपर्छ । पुष्पकमललार्इ जेल हालेर, शेरबहादुरलाई महाराजा बनाउने अधिकार कसैलाई छैन ।

माओवादीले मान्छे मारेका थिए, न्याय पाउँ सरकार । फलानालाई कारबाही गरी पाउँ भन्नेहरुले बिर्सन हुँदैन कि राज्य पक्षको पीडा सहेर हजारौं छमकुमारीहरू बाँचिरहेका छन् । अनलाइन खबरमा दिल निसानि मगरले लेखेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत