माओवादी एकताको लागि बादलको ५ बुँदे मौखिक प्रस्ताव

१८ बैशाख, ललितपुर । एमाओवादीसँग पार्टी एकता गर्ने कि नगर्ने ? गर्ने हो भने, के आधारमा गर्ने ? भन्ने विषयमा ४ माओवादी पार्टीको छलफल बसेको छ । सो छलफलमा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले एकताको लागि ५ बुँदे मौखिक प्रस्ताव गरेको हाकाहकी डट कमलाई स्रोतले बताएको छ ।

स्रोतकाअनुसार बैशाख १५ गते कुपण्डोलको एक घरमा करिब दिउँसो १ बजे वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव राम बहादुर थापा ‘बादल’, पम्फा भुषाल, कुल बहादुर केसी ‘सोनाम’, महेश्वर दाहाल नेकपा (माओवादी)का गोपाल ठाकुर, जगत यादव, महेश यादव र एस.बी.थापा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापा र कुनै पनि माओवादीमा आवद्ध नभई स्वतन्त्र माओवादी भई बसेकी नेत्री जयपुरी घर्ती लगायतको माओवादीहरु छलफलमा जुटेका थिए ।

छलफलको सुरुवातमा मातृका यादव नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य गोपाल ठाकुरले मधेशको समस्या राष्ट्रिय समस्या भएकाले माओवादीहरु बिचको एकताका लागि मधेशको समस्या हल गर्न सबै माओवादी सहमत हुनपर्ने बताएका थिए ।

ठाकुरले सहभागी माओवादी पार्टी नेताहरुलाई आफूहरुको १२ बुँदे आधार पत्रमा सबै कुरा उल्ल्ेख गरिएकाले सो आधार पत्र अध्ययन गर्न सुझाएका थिए । साथै, उनले मधेश आन्दोलनताका मधेशमा रातो झण्डा माओवादीहरुलाई निषेध गरिएकाले त्यो अवस्था किन आयो ? भन्ने प्रश्नको जवाफ खोज्न लाग्नु पर्ने बताए । स्रोत भन्छ– ठाकुरले आफूहरुको मोर्चा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको झण्डा समेत मधेश आन्दोलनमा लैजान निषेधको अवस्थामा पुगेको थियो भने  कतिपय स्थानमा कालोझण्डा बोकेर र कैयन स्थानमा मातृका यादव नेतृत्वको माओवादी भनेपछि मात्र आन्दोलनका कार्यक्रम भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले माओवादीहरु बिचको एकताको लागि निम्न आधार हुनुपर्ने बताएका थिए । महासचिव थापाले  एमाओवादीसँग पार्टी एकताका लागि ५ बुँदालाई आधार बनाउनु पर्ने बताएका थिए । थापाले प्रस्ताव गरेका पाँच बुँदा :

१) मालेमावादलाई मान्नु पर्ने ।
२) बल प्रयोगको सिद्धान्तलाई स्वीकार गर्नुपर्ने
३) नेतृत्व कसको हुने भन्ने टुङ्गो लगाउनु पर्ने ।
४) जनवादी केन्द्रीयता स्वीकार गर्नुपर्ने ।
५) मधेशको सवालमा राजनीतिक आत्मनिर्णयको अधिकार, स्वायत्त शासन स्वीकार गर्नु पर्ने साथै समग्र मधेश एक प्रदेशको सवालमा मधेशी जनताको मतलाई स्वीकार गर्नु पर्ने जसका लागि जनमत सङ्ग्रहमा समेत जान सकिने । साथै, आदिवासी, जनजाति र वर्गीय, क्षेत्रीय, लिङ्गीय आन्दोलनलाई पनि सङ्गठित गर्नु पर्ने ।

महासचिव थापाको निचोड माओवादीहरु बिचको पार्टी एकता क्रान्ति गर्ने शर्तमा हुनुपर्ने थियो ।

यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले पार्टी एकताका अपरिहार्य आवश्यकता भएको बताएका थिए । उनले अहिले पार्टी एकता नगर्ने हो भने माओवादीहरु कसैको पनि भविष्य नरहेको बताएका थिए । साथै, उनले पार्टी एकताका लागि अहिले उचित समय आएको बताएका थिए ।

क्रान्तिकारी माओवादीका पम्फा भुषालले अहिलेको आवश्यकता पार्टी एकता हो भन्दै एकताका लागि जोड दिएकी थिइन् ।

यसैगरी कुनै पनि माओवादीमा आवद्ध नभई स्वतन्त्र माओवादी भई बसेकी नेत्री जयपुरी घर्तीले निसर्त पार्टी एकता हुनु पर्ने बताइन् । घर्तीले एकतापछि रुपान्तरण, संघर्ष लगायतका विषयमा प्रवेश गर्नु पर्ने बताएकी थिइन् । उनले अहिले महिला आन्दोलन एनजीओ/आएनजीओले गरिरहेको भन्दै राजनीतिक पार्टीहरु पूरै ओझेल परेको बताएकी थिइन् ।

क्रान्तिकारी माओवादीका कुल बहादुर केसी सोनामले अहिलेको आवश्यकता पार्टी एकता नै हो भन्दै  रेल धेरै अगाडि बढिसकेकाले छुटेका यात्रुहरु पछि आउने उनीहरु नआए छुट्ने बताएका थिए ।

मातृका माओवादीका जगत यादवले मधेश आन्दोलनलाई माओवादीले पहल गरेर आफ्नो नेतृत्वमा लिन सकेन भने अलग देशको दिशामा जान सक्ने भनी सुझाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत