मानव अधिकारवादीले खोज्या के हो ? शान्ति कि अशान्ति ? – प्रचण्ड

२ जेठ, काठमाडौं । २०७३ बैशाख ३१ गते, शुक्रबार राजधानीमा विभिन्न समयमा टुटफुट भएका माओवादी घटकहरु एकजुट भएर संयुक्त कार्यक्रमको आयोजना गरे ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका प्रसाद यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र केही समयदेखि स्वतन्त्र रहँदै आएकी माओवादी नेत्री जयपुरी घर्ती साथै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको समेत सङ्लग्नतामा राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

Prachanda

पाँच दलीय संयुक्त समितिद्वारा आयोजित ‘बृहत शान्ति सम्झौता र युद्धकालीन मुद्दाहरु’ विषयक्  कार्यक्रममा एकीकृत नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष ‘किरण’, स्वतन्त्र माओवादी नेत्री जयपुरी घर्ती, साथै मानव अधिकारवादी चरण प्रसाईं, सुन्दरमणि दीक्षित, मल्लके सुन्दर, वीरेन्द्र मिश्र, अधिवक्ता एकराज भण्डारी, पूर्वराजदूत विजयकान्त कर्ण, पत्रकार महासंघका कार्यबाहक अध्यक्ष खिलबहादुर भण्डारी, नयाँ शक्ति नेपालका सचिवालय सदस्य तथा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान र एमाओवादीका नेता बाबुराम गौतमले सम्बोधन गरेका थिए ।

अधिवक्ता रमणकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको उक्त कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी)का संयोजक मातृका यादवले गरेका थिए भने सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मणि थापाले गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको सम्बोधन पूर्णपाठ :

धेरै वर्षपछि एउटा जिवन्त अन्तरक्रिया कार्यक्रम सम्पन्न हुँदैछ यस कार्यक्रमका अध्यक्ष कमरेड,
आदरणीय कमरेड किरण लगायत माओवादी घटकहरुका सबै प्रतिनिधि कमरेडहरु,
ड्यासमा रहनुभएका सबै विशिष्ट अतिथि महानुभाववहरु,
यस जीवन्त अन्तरक्रिया कार्यक्रममा उपस्थित सबै विशिष्ट महानुभावहरु,
कमरेड साथीहरु ।

मैले यसलाई जीवन्त अन्तरक्रिया भनेर महशुस गरेको छु । किनकि, यहाँ जति पनि विचारहरु व्यक्त भएका छन् सबै विचारहरुमा आफ्नो मौलिकताहरु छन् । आफ्नै दृष्टिकोणहरु छन् र यो अन्तरक्रिया साँच्चिकै जीवन्त छ । यहाँ कमरेडहरुले भन्या जस्तै काँगे्रसका नेताहरु, एमालेका नेताहरु ल्याउन उचितै हुन्थ्यो भन्ने मलाई पनि लागेको छ । उहाँहरु पनि भएको भए यो कार्यक्रम अझै परिणाममुखी फलदायी हुन्थ्यो भन्ने मलाई महशुस भएको छ ।

मैले विषय प्रवेश गर्नु अघि सुरुमै के भन्न चाहन्छु भने आजको यो अन्तरक्रिया ‘बृहत शान्ति सम्झौता र युद्धकालिन मुद्दाहरु’ भनेर राखिएको छ । जनयुद्धको पूरै १० वर्षको अवधिमा म जनमुक्ति सेनाको सुप्रिम कमाण्डर थिएँ । र, म पार्टीको महासचिव सुरुमा, त्यसपछि अध्यक्ष भएको थिएँ ।

सम्पूर्ण जनयुद्धका अवधिभरि भएका सम्पूर्ण घटनाहरुमा प्रत्यक्ष रुपमा म जिम्मेवार छु । त्यसकारण म सरकारलाई पनि, अदालतलाई पनि, सबै राजनीतिक दलहरुलाई पनि, यहाँ उपस्थित तपाईं कमरेडहरु र मित्र मार्फत देशभरिको जनतालाई पनि के भन्न चाहन्छु भने यदि बिस्तृत शान्ति सम्झौता विपरीत युद्धकालिन मुद्दाहरुलाई उठाइन्छ र अदालतको नियमित प्रक्रियाभित्र लगिन्छ भने सबैभन्दा पहिला मलाई कारवाही गर्नु प¥यो । त्यहीबाट सुरु गर्नु प¥यो । अरुलाई मुद्दा लगाउने, जेल हाल्ने जो प्रपञ्च गरिदैछ, यो भयानक अनैतिकता र षड्यन्त्र हो । यो विस्तृत शान्ति सम्झौता र शान्ति प्रक्रियाका विरुद्ध गरिएको भयानक प्रहार हो ।

म चुनौति दिन चाहन्छु, युद्धरत पक्षहरुको बिचमा सम्झौता भयो । अहिले गिरिजाप्रसाद कोइराला हुनुहुन्न । त्यो ठाउँमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ पनि त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो जतिबेला जनयुद्ध चलिराखेको थियो ।

त्यसकारण अदालतले साच्चै कारवाही गर्ने नै हो भने शेरबहादुरलाई र प्रचण्डलाई पहिला थुन्नु प¥यो । उनीहरुलाई कारवाही सुरु गर्नुप¥यो । कार्यकर्तालाई सताउने, जनतालाई सताउने जो अभिप्राय देखिएको छ यसको अन्त्य हुनुप¥यो । पहिला कुरा यो भन्न चाहन्छु ।

किनकि, एउटा बल्याक एण्ड ह्वाइटमा सत्य कुरा के हो भने लडाईमा युद्धरत पक्षहरुको बिचमा सम्झौता हुन्छ या लडाईमा के हुन्छ ? या, युद्धमा एउटा एउटा पक्षले जित्छ । एउटा पक्षले हार्छ । एउटा पक्ष विजित भयो र एउटा अपराजित भयो भने विजित पक्षले पराजित पक्षलाई सम्पूर्ण रुपले न्यायको कठघरामा ल्याउँदछ र सबैलाई कारवाही गर्छ । र, एउटा कानून व्यवस्था बनाउने प्रक्रियामा अघि बढ्छ । यो युद्ध मात्रै होइन । यो कुरा विश्वयुद्धका सन्दर्भमा पनि लागू हुन्छ । चाहे त्यो पहिलो विश्वयुद्ध होस् । चाहे दोस्रो विश्वयुद्ध । हामीले विजेताहरुले के गरे ? विजितहरुलाई के गरियो भन्ने कुरा हामीले इतिहासमा राम्रोसँग हेरेका छौं । घटनाक्रमलाई हामीले राम्रोसँग देखेका छौं ।

नेपालमा विशुद्ध युद्ध मात्रै भएको होइन, एउटा राजनीतिक क्रान्ति, राजनीतिक विद्रोह भएको हो । राजनीतिक क्रान्तिको सन्दर्भमा पनि र युद्धको सन्दर्भमा पनि एउटा कुरा के लागू हुन्छ भने या त एउटाले जित्छ, एउटाले हार्छ । या, दुबै पक्ष सन्तुलनमा आउँछ र सम्झौता हुन्छ । शान्ति–सम्झौता हुन्छ, यस्तो हुने गरेको छ ।

तपाई हामीले हे¥यौँ भने इतिहासमा दोस्रो विश्वयुद्धभन्दा अगाडि युद्ध हुँदा, क्रान्ति हुँदा सम्झौताका कुरा, न्यायसँग सम्बन्धित कानूनसँग सम्बन्धित कुराहरु त्यति धेरै जटिल थिएनन् । दोस्रो विश्वयुद्ध पछि जब मानव जातिको राजनीतिक चेतना धेरै माथि आयो, ठुल्ठूला क्रान्ति र विद्रोहहरु पनि भए । ठुल्ठूला युद्धको बिचबाट गुज्रिएर लाखौ र करोडौं मान्छेहरुको ज्यान जाने स्थिति आइसकेपछि एउटा मान्यताको विकास भयो । सम्झौताको सङ्क्रमणकालिन न्याय सिद्धान्तको मान्यता विकास भयो ।

दोस्रो विश्वयुद्धपछि मुख्य रुपमा अन्तर्राष्ट्रिय समुदाय यसमा प्रवेश ग¥यो तर हामी सबैलाई के थाहा छ भने एउटा विश्वव्यापी रुपमा सर्वमान्य हुने सिद्धान्त र न्याय प्रणालीको विकसित भइसकेको छैन् ।

दक्षिण अफ्रिकामा एक ढङ्गले गरियो । कम्बोडियामा अर्को ढङ्गले गरियो या अरु थुपै्र युद्ध र क्रान्तिबाट गुज्रिएको देशहरुमा सम्झौता हुँदा विभिन्न रुपहरुमा गरिएको छ । थुप्रै देशहरुमा त्यो चलिराखेकै छ र त्यसखालका घटनाहरुका आफ्ना मौलिकता र आवश्यकता सहित शान्ति–सम्झौता हुने गरेका छन् । या,  सफल हुने गरेका या त असफल हुने गरेका छन् ।

नेपालको सन्दर्भमा नितान्न मौलिक ढङ्गले हामीले शान्ति–सम्झौता ग¥यौं । हाम्रो विशेषता न त दक्षिण अफ्रिकासँग मिल्छ, न त कम्बोडिया । न त अरु कुनै खास देशसँग मिल्छ । हाम्रो आफ्नै देशको विशेषतासँग हाम्रो राजनीतिक क्रान्तिको चरित्र र यसलाई दमन गर्ने प्रवृत्ति यो राज्यको चरित्रसँग यो रिलेटेड छ । र, यो हाम्रो मौलिकता, हाम्रो संस्कृति, हाम्रो परम्परासँग पनि जोडिएको छ । त्यसकारण हाम्रो शान्ति सम्झौता दुनियाँको कुनै पनि शान्ति सम्झौता भन्दा भिन्न छ ।

यद्यपि, यसका जेनरल सिद्धान्तहरु छन् । जुन जेनरल सिद्धान्तहरु विश्वव्यापी रुपमा मानिएका पनि छन् । किनकि, हामीले यो शान्ति सम्झौता अगाडि बढाउँदै गर्दा राष्ट्रसंघलाई पनि हामीले सहभागी गराएका छौं । राष्ट्रसँघले विश्वभरिका अनुभवहरुबाट संश्लेषित कतिपय मान्यताहरुलाई पनि यो शान्ति सम्झौतामा आत्मसात् गरिरहेको छ । त्यसकारण, अहिलेको हाम्रो मुद्दा के होइन् भने म सुरुमै के स्पष्ट गर्न चाहन्छु भने हामीले क्रान्ति जित्नुपथ्र्यो, हामीले हतियारसहित जितेर काठमाडौं कब्जा गर्नु पथ्र्यो । पुरानो राज्यसत्तालाई पुरैको पुरै हाम्रो जनअदालतका कठघरामा ल्याउनु पथ्र्यो र यिनीहरु सबैलाई जेल हाल्नुपथ्र्यो । यो एउटा मान्यता हो । यसो गर्न सकेको भए अहिले यहाँ हामी जति पनि क्रान्तिकारीहरु छौं । या, हिजो जनयुद्धका सहभागीहरु छौं । सबैलाई सबैभन्दा राम्रो कुरा पूरैका पूरै क्रान्ति जित्न पाएको भए काठमाडौं कब्जा गरेर सबै अपराधीहरुलाई कारवाहीमा राख्न पाएको भए सबैभन्दा उत्तम हुन्थ्यो । यसमा विवाद छैन । तर, हामीले त्यसो गर्न सकेनौं, हामीले त्यसो गर्न सक्ने स्थिति रहेन् ।

हामीलाई राज्यले पूरै नरसंहार गर्न खोजेको थियो । हामी सबै माथि थुप्रै अपराधको मुद्दा लगाइएको थियो । आतंककारी भनिएको थियो, टाउकोको मूल्य तोकिएको थियो । र, राज्यले हामीलाई टाउको काटेरै सिध्याएको भए पनि यो समस्याको अर्को समाधान हुने थियो । किनकि, राज्यले विद्रोहीलाई पूरैको पूरै दमन गर्न सफल भयो, राज्य सफल भयो । त्यसकारण बचे खुचेको कोहीलाई पनि मुद्दा लगाउने कानूनमा जेल हाल्ने या विभिन्न खालका यातना दिने र सिध्याउने खालको कुरा हुन सक्थ्यो ।

तर यी दुई कुरा नेपालमा भएन । न त विद्रोहीलाई पूरै राज्यले जित्न सक्यो न त विद्रोहीले राज्य पूरै कब्जा गर्न सक्यो । एउटा सन्तुलनको परिस्थितिमा, देशभित्रको राजनीतिक शक्ति सन्तुलनको एउटा परिस्थितिमा राजनीतिक घटनाक्रमको एउटा परिस्थितिमा र त्यसमा पनि निरंकुश राजतन्त्त हावी हनु खोजेको एउटा विशिष्ट परिस्थितिमा सम्झौता भयो । त्यसकारण यो सम्झौता भएको कुराको बहस गर्ने यो मञ्च होइन भन्ने मेरो भनाई छ ।

यहाँ उपस्थित सबै नेता साथीहरुलाई पनि मानव अधिकारवादी, कानुनविद्, अरु सबै श्रमजीवीहरुलाई पनि के स्पष्ट गर्न चाहन्छु भने यो मुद्दा आजको छलफलको मुद्दा होइन र म सबै कमरेडहरुलाई पनि के कुरामा ध्यान आकृष्ट गर्न चाहन्छु भने बहसको मुद्दा होइन ।

यो मञ्चबाट हामीले क्रान्ति जित्न पथ्र्यो, जित्न के गर्नुपथ्र्यो ? भन्ने बहसको मुद्दा होइन । मुद्दा शान्ति सम्झौता अनुसार चीज किन अघि बढेन भन्ने मुद्दा मात्रै हो । विस्तृत शान्ति सम्झौतामा जे मान्यता स्थापित गरिए र विस्तृत शान्ति सम्झौता गर्दा राजनीतिक दलहरुको बिचमा जे समझदारी भयो, युद्धरत् पक्षको बिचमा जे सभ्झौता भयो, त्यो सम्झौता कार्यान्वयन भइराख्या छैन । यो कार्यान्वयन गर्ने कोशिस भइराख्या छ तर यो भित्र    पनि कम्प्रोमाइजमा गरिसकेपछि कम्प्रोमाइजमा आउँदा दुइटै पक्षले आफ्नो पक्ष हावी गर्ने कोशिस जहाँ पनि गर्छ । यो सर्वमान्य सिद्धान्त हो, दुनियाँको । कम्प्रोमाइज गरिसकेपछि कार्यान्वयन गर्ने क्रममा जहिले पनि त्यसलाई लागू गर्ने क्रममा आफूलाई हावी गराउने कोशिस गर्छ तर सम्झौतामा स्थापित मूल्य मान्यतामा जसले अतिक्रमण गर्छ त्यसले शान्ति सम्झौता भङ्ग गरेको ठर्हछ र समाजको अपराधीको रुपमा त्यो प्रवृत्ति सावित हुन्छ । इतिहासले त्यही सावित गरेको छ । नेपालमा पनि घटनाक्रम त्यही दिशातिर जाने खतरा पैदा भएको छ ।

आजको हाम्रो अन्तरक्रियाको विषय मुद्दा भनेको विस्तृत शान्ति सम्झौतामा जसरी भनियो ती मुद्दाहरु चाहे ती अदालतमा रहेका हुन् । चाहे ती प्रहरीमा रहेका हुन् । सबै मुद्दाहरु मेलमिलाप गर्ने उद्देश्यको साथ सत्य निरुपण आयोग (टिआसी)द्वारा समापन गरिनेछ भन्ने स्पीरिटमा शान्ति सम्झौता गरियो तर अहिले त्यस्तो भइराख्या छैन ।

त्यसकारण यतिबेलाको हाम्रो मुद्दा सबैभन्दा ठूलो मुद्दा त्यसो भइराख्या छैन । के कारणले भएको छ भन्ने नै मुख्य मुद्दा हो । हामी अहिले पार्टीहरु को को कहाँ छौं त्यो कुरा मुख्य होइन हुन त भर्खरै क.किरणले भन्नुभयो तपाईहरुले यहाँ गरिसकेपछि (पार्टी एकता हुनैपर्छ भन्ने आवाज) प्रचण्डले सरकारले ‘छोडोस् पार्टी एकता हुन्छ’ भन्नुभयो । मैले भर्खरै पनि किरणजीलाई भने ‘कमरेड आजै घोषणा गरिदिन्छु’ तपाईले मान्नुहुन्छु भने, आजैका मितिबाट सरकार छोडिदिन्छु । सरकार छोड्नु कुनै आइतबार छैन् । अस्ति छोडी पनि सक्याथ्यो सरकार । छोड्ने कारणसँग उहाँको पार्टी एकता होइन, किरणजीको मुद्दा विचारकै मुद्दा हो । उहाँले भनेको राजनीतिकै मुद्दा हो । यहाँ हामीले कुनै तरिकाले अर्को तर्क गर्नु जरुरी छैन । यदि साँच्चै किरणजीलाई माओवादी एकता जरुरी छ भन्ने लागेको छ र प्रचण्ड सरकारमा भएको हुनाले नै बाधक हो भने म यही मञ्चबाट घोषणा गरिदिन्छु सरकार छोडिदिन्छु तर माओवादी एक हुन जरुरी छ ।

मेरो विचारमा कुरा त्यसो होइन् । कुरा फेरि पनि राजनीतिक मुद्दाकै छ । विचारकै मुद्दाको छ । उहाँले नै भन्नु भो अस्ति ! यो घटनाक्रम ठाउँठाउँमा देखिन थाल्यो । सर्वोच्चको फैसलापछि विभिन्न ठाउँमा गोर्खाको फुजेल घटना होस् । युद्धकालको मुद्दा हो भन्ने दुनियाँलाई थाहा छ । त्यो सँग बिल्कुल असम्बन्धित ७६ वर्षको बुढालाई थुनामा राखेर मुद्दा फैसला गर्ने भनेर ‘अमानवीय’ सिधै दिउँसै अदालतले रात पार्ने काम ग¥यो भन्ने पनि सबैलाई थाहा छ तर हाम्रा वरिष्ठ अधिवक्ताहरु, मानव अधिकारवादीहरु त्यो नाङ्गो अमानवीय कदमलाई पनि जायज ठह¥याउने धृष्टता गरिराखेको देखेर अनौठो लाग्छ ।

अस्ति हाम्रो उपाध्यक्ष कमरेड नारायण काजीले भन्नुभएछ मैले धेरै वर्ष पहिले खुला कार्यक्रममा भनेको थिएँ– ‘अदालत भगवान हो ? के हो अदालत ?’ अदालतले परिवर्तनको प्रक्रियालाई आत्मसात् गर्न पर्दैन ? अहिले अदालतको फैसला एकपछि अर्को शान्ति सम्झौता विपरीत देखिन थालेपछि मैले नै कमरेड किरणदेखि ६ वटै माओवादी घटकहरुलाई कोर्डिनेशन गरेर सरकारमा हुँदाहुँदै पनि सरकारसँग डेलिगेशन गयौं ।

किरणजीले भन्या जस्तै मैले गम्भीर ढङ्गले तपाईहरु जे गर्दै हुनुहुन्छ, जतापट्टि त्यसलाई लैजान खोज्दै हुनुहुन्छ, त्यसले एउटा गम्भीर भयानक परिस्थिति देशमा सिर्जना हुँदैछ । एउटा अर्थमा त सायद अदालतले हामी माओवादीहरुलाई एकताबद्ध हुन  प्रेरित गरेको छ । त्यस अर्थमा त अदालतलाई धन्यवाद दिए पनि हुन्छ । हामी आपसमा झगडा गरेर फुटेको फुट्यै, फुटेको फुट्यै गर्नेलाई एकचोटी घन हानेर डा.सुन्दरमणीले भन्या जस्तै एक ठाउँमा ल्याउने काम ग¥यो । त्यसमा त धन्यवाद !

तर, शान्ति सम्झौता त्यही हो त ? शान्ति सम्झौताको स्प्रीरिट त्यही हो ? भनेर हामीले गम्भीर ढङ्गले नै सरकारको ध्यान आकर्षण गरायौं र अहिले यो कार्यक्रमको जे आयोजना गरिदैछ, यो कार्यक्रम आयोजना गर्ने कुरामा पनि हामी सबै माओवादी एकठाउँमा बसेर अपील गर्ने बेला आयो । हामीले सामान्य रुपमा कोठाभित्र भनेको कुराको सुनुवाई भइराख्या छैन् । त्यसकारण एकपटक जनताको बिचमा जानुपर्ने भयो । एकपटक फेरि जनतालाई उठाउनु प¥यो ।

डा.सुन्दरमणि दीक्षित तपाईंले भन्नुभो, ‘तिमीहरु किन फुटेको ?’ तपाईलाई धेरै धेरै धन्यवाद ! अब हामी जुट्दैछौं । दुनियाँको कुनै तागतले अब माओवादी एकता रोकिन्न हेर्नुहोला माओवादी जुट्यो,  जुट्यो । किरणजी २/४ दिन ढिलो गरी आउनुहोला तर माओवादी जुट्यो, जुट्यो यसलाई कसैले रोक्न सक्दैन । किरणजी पनि आउनुहुन्छ । आउनै पर्छ । किरणजीले जो भन्न खोज्नु भो विचारको कुरो हो ।

हाम्रो के फरक परिराख्या छ भने, कमरेड ठीक छ ! विचार हामी छलफल गर्न तयार । कमरेडको विचार आफ्नो स्वतन्त्रता राखिराख्नोस् । मेरो विचार पनि राख्न दिनोस् । अर्को विचार पनि राखौं तर एउटै पार्टीमा बसेर विचार मन्थन गरौं । अनि मात्रै, देशभर माओवादीलाई जो अपमान हुन थालेको छ माओवादी विरुद्ध जसरी अदालतलाई प्रयोग गर्न थालिएको छ, त्यसको अन्त्य गर्ने हतियार यहाँ तयार हुनसक्छ हाम्रो कुरो यत्ति हो ।

कमरेडहरु, हामीले के भनेका छौ भने एकता बस्तुगत अपरिहार्य आवश्यकता बन्यो यो देशको निम्ति । यो साँचो कुरा हो । अहिले विचित्रको स्थिति के भयो भने राजनीतिक मुद्दाको दृष्टिले हामी संघीयता भनौं, गणतन्त्र भनौं, धर्म निरपेक्षता भनौं, समानुपातिक समावेशी भनौं माओवादी आन्दोलनले उठाएका मुद्दाहरु सम्बोधित भएको जस्तो, सबैले स्वीकार गरेको जस्तो देखिएको छ तर फेरि माओवादीलाई लखेट्ने प्रक्रिया कहीँ न कहीँ, राज्यका कुनै न कुनै अंगबाट लगातार अघि बढी राख्या छ । यसलाई रोक्न जरुरी छ । यसलाई रोक्न माओवादी एकता र माओवादी आन्दोलनलाई पर्नुजीवन दिनुको कुनै विकल्प मैले देखेको छैन् । त्यसकारण त्यसरी मात्रै हामी परिस्थितिलाई नियन्त्रणमा, परिस्थितिलाई पहलकदमीमा लिन सकिन्छ ।

अहिले एउटा अनौठो के भा’छ हेर्नुस् लडाईमा जुन जुन पक्ष आमने सामने गोली चल्यो, जो दुई पक्ष मिलेर भिडन्त ग¥यो । अहिले तिनीहरुको मनोविज्ञान हेर्नुभयो भने मिल्छ । म सबै नाम त लिन्न । अहिले नेपाली सेनाका सबै हाकिम र जवानहरुको मनोविज्ञान, माओवादी जनमुक्ति सेनाका सबै कमाण्डर र सदस्यहरुको मनोविज्ञान, माओवादीको या त्यतिबेला लडाई लड्ने नेपाली काँगे्रसको नेता र कार्यकर्ताहरुको मनोविज्ञान हेर्नुभयो भने कहीँ न कहीँ यो शान्ति प्रक्रियालाई सकारात्मक ढंगले टुङ्ग्याई दिनुपर्छ भन्ने छ ।

मेरो हिजो मात्रै सेनासँग पनि, पुलिसका हाकिमहरुसँग पनि, अरु पार्टीका नेताहरुसँग पनि कुरा भइराखेको छ तर यी मानवअधिकारवादी त लडाईमा कतै पनि थिएनन् (लामो ताली) । कानुनविद पनि कतै हुँदा रहेनछन् । ‘कानुन नौ सिङ भन्या’ जता बोल्दिए पनि हुने । उहाँँहरुलाई रमाइलो के हुँदा रहेछ भने भिडन्त भइदिइराखे रमाइलो हुँदो रहेछ क्या हो ! (हासोसहित ताली ) झगडा भइराखोस् जेल हाल्न पाइयोस् ।

फुजेल घटना जो भने मैले प्रधानमन्त्रीसँग पनि यो कुरा भन्या छु । खोज्या के हो भनेर ? एमालेकै नजिक भन्नुहुन्छ ठूला–ठूला मानव अधिकारवादी, उहाँहरुले भन्नुभएछ “प्रचण्डलाई दुई दिन भएपनि जेल नहाल्दासम्म हाम्रो मिसन कम्पील्ट हुँदैन ।” अस्ति भर्खरै मैले प्रधानमन्त्रीलाई भने तुरुन्त जेल हाल्नुस्, अहिल्यै तपाईले त्यो आँट गर्नु प¥यो र मात्रै यो समस्याको समाधान हुन्छ भनेर भने । मानवअधिकारवादी भनेका नेपालका कता दौड्या हो ? फेरि लडाई भइदिया भए मजा हुँदोरहेछ  कि !

म अझ एउटा विचित्रको कुरा भन्छु¬ यहाँ म चरणजी तपाईलाई ठाडै केही भन्न चाहन्न । तर, म आज एमालेको एकजना वरिष्ठ नेताले नै भनेको नाम चाहिँ म अहिले भन्दिन । प्लीज नाम सोधिदिनु होला । हिजोको मात्रै कुरा– के हो तपाईहरुको तरिका यो ? नौ बुँदेै मात्र गरियो । पक्ष–विपक्षमा म जान चाहन्न । नौ बुँदेको मूल मर्म के छ भने शान्ति प्रक्रियालाई सफलता पूर्वक टुङ्ग्याउन राजनीतिक प्रतिबद्धता गर्ने उद्देश्य बाहेक केही छैन ।

अनि के भन्यो भने एमालेको एकजना वरिष्ठ नेताले ‘यी डलरका मान्छे हुन क्या ! हाम्रो पनि होइनन् ।’ एमालेको नजिक छन् ती । उहाँले भनेकै हो । म त खुला बोल्ने मान्छे, जरुरी प¥यो भने नाम पनि भन्न सक्छु म । तर, अलि बेला आएको छैन । ती डलरमा बिकेको पनि लागेकै छ, एमालेका नेताहरुलाई । तपाई मानवअधिकारवादी, कानुनविद नेपालमा शान्ति चाहेको हो कि ! मेलमिलाप चाहेको हो कि ! भाँडभैलो फेरि मान्छे मार्न काटमार गर्न चाहेको हो ? आम नेपाली जनताले यो प्रश्न गर्ने भए नि त ! तपाईहरुले खोज्या के चाहि हो ? शान्ति सम्झौता गलत भयो, यिनलाई मारेरै सक्नु पथ्र्यो भन्न खोज्या हो कि ! यिनलाई सब टाउको गिडेर ल्याएर ठीक गर्न पथ्र्यो भन्या हो कि ! तपाईहरुले खोज्या चाहिँ के हो ? होइन भने नेपालमा ठूलो विद्रोह भयो, क्रान्ति भयो, युद्ध भयो । क्रान्तिले पूरै विजय गर्ने स्थिति पनि भएन । राज्यले पूरै दमन गर्न सक्ने स्थिति पनि भएन । जनधनको झन् ठूलो क्षति हुने भयो । एउटा राजनीतिक सहमतिको आधारमा समाज परिवर्तन गर्ने एउटा ठाउँमा पुगौं र शान्ति कायम गरौंं हामीले भन्या त यति मात्रै हो । यो कुरा बुझ्नलाई त धेरै पढ्न पर्छ जस्तो हामीलाई लाग्दैन । डाक्टर हुनुपर्ने कुरा हो र यो ? नेपालमा सामान्य गाउँले पनि बुझ्या छ नि यो कुरा त । तर हाम्रा मानवअधिकारवादीले कुरै बुझ्दैन । खोज्या के हो ? शान्ति कि अशान्ति ?

सक्नुहुन्छ, सक्नुहुन्छ तपाईहरुले ? त्यसकारण कुरा के हो भने यहाँ दुई धार छन् । नेपालमा एउटा शान्ति नहोस्, नेपालमा संविधान समृद्ध भएर राष्ट्रिय एकता नहोस्, नेपालमा परिवर्तन संस्थागत नहोस्, नेपाल भूमरीमा बसी राखोस् । साथै, नेपाल जीवन्त भएको हेर्न चाहने एकथरी प्रवृत्ति छ, त्यो प्रवृत्ति को–को मा छ ? अब त्यो सबैले गहिरो गरी हेर्दा हुन्छ । अर्को नेपालमा अब धेरै त्यसो नगरौं भएको राजनीतिक परिवर्तनलाई पहिला संस्थागत गरौं । यो धेरै ठूलो रगतको मूल्य चुकाएर धेरै ठूलो बलिदानबाट यो प्राप्त भएको शान्ति हो यो । सजिलै प्राप्त भएको शान्ति होइन । यो परिवर्तन पनि सजिलै प्राप्त भएको होइन । यसलाई संस्थागत गर्दै जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्दै, संविधानलाई संशोधन गर्दै चाहे त्यो मधेशका होस्, चाहे त्यो जनजातिका हुन, दलितका हुन्, महिलाका हुन्, मुस्लिमका हुन् । उनीहरुका जायज मागलाई पुरा गर्ने प्रतिबद्धतासहित संविधान संशोधन गर्दै अगाडि बढ्नु पर्छ । शान्तिलाई स्थायित्व दिनुपर्छ भन्ने एउटा मत छ ।

एउटा चाहिँ नेपाललाई जसरी पनि भूमरीमा पार्ने भन्ने खालको छ । त्यसैले मेरो सबै मानअधिकारवादीप्रति मेरो विद्वेष पनि होइन तर त्यस्तै देखिदैछ । म चाहिँ के भन्नेमा छु भने मैले अघि सुरुमा भने नि ! अरुलाई किन दुःख दिनुप¥यो । पहिले मुख्यलाई नै सुरु गर ! मुख्यबाट सुरु गर ! अनि म कमरेड किरण, बाबुराम भट्टराई अहिले नयाँ–सयाँ केही होइन त्यो (ताली र हाँसो ) । हिजो जनसत्ताको प्रमुख भएर अझ मार भन्ने र अहिले म नयाँ भन्ने ? त्यसो भन्न पाइन्छ ?

तर, मलाई मजा, आनन्द के आइराख्या छ भने बाबुरामजीका पनि १६ वटा मुद्दा बाँकी छन् । अहिले यो कुरा चलेपछि के भयो भने मैले गृह मन्त्रालयलाई सम्पूर्ण मुद्दा पुलिससँग भएको जति मुद्दा केन्द्रीत गर्नुुस् भनेर निर्देशित गरेँ । उहाँले पुलिसको जति केन्द्रीत गर्नु भो । अहिले त्यो फाइल म आफैँ हेरिराछु । मेरो टाउकोमा ३७ वटा मुद्दा रहेछन् देशैभरी । मेरो टाउकोमा ३७ वटा मुद्दाहरु छन् अहिले । बाबुरामकोमा १६ वटा छन् । बादलजीकोमा ४ वटा, किरणजीकोमा त्यस्तै छन् म हेर्दैछु । त्यसकारण अदालत त्यस अर्थमा त नकरात्मक रुपमा धन्यवादकै पात्र भयो ।

किरण, बाबुराम, बादल, प्रचण्ड, मातृका, मणि सबैलाई एउटा घानमा ल्याएर हाल्दिएको छ । हाम्रो बुद्धिले भ्याएको थिएन । किनभने, कहिले काँही क्रान्तिकारीको बुद्धिले भ्याएन भनेर प्रतिक्रान्तिले ठीक गर्छ रे ! त्यसकारण कुरा के छ त भने सरकारमा हुन नहुने कुरा ठूलो नठान्नु होला, मैले अघि नै भनिसकें किरणजीले घोषणा गर्नुहुन्छ भने सरकार भोलि छोडिदिने । माओवादी एकता बढी महत्वपूर्ण छ भनिसकेको छु मैले, मुद्दाहरुको कुरामा ।

त्यसकारण यी दुइवटा प्रवृत्ति मध्ये हामी कतापट्टि उभिने भन्ने छ । मेरो विचारमा मलाई के लागेको छ भने अब, अहिले भर्खरै फर्केर फेरि बन्दुक उठाउने स्थिति त छैन देशको । माओवादीलाई एकजुट पार्ने सम्भावना छ । त्यसको निम्ति के के त्याग गर्नुपर्छ गर्ने ? अर्को सम्भावना के छ भने हामी म लगायत प्रमुख नेताहरु जेल जान सम्भव छ । हामी जेल गयौं भने तपाईहरु के गर्नुुहुन्छ ?

मैले त मलाई मुद्दा लगाउ भनेर खुलेआम भनिरहेकै छु । लगाउन पनि सक्छ । लगाइहाल्यो भने तपाई के गर्नुहुन्छ । मलाई लाग्छ हिजो म आफैँ सुप्रिम कमाण्डरको हैसियतले एउटा सामान्य बम बनाउने देखि पेस्तोल चलाउनेदेखि होलटाइमर राइफल मैले अघि भर्खरै जनमुक्ति सेनाको साथीहरुले लेखेको देखेँ । होलटाइमर राइफल, यहाँ गुरुङजी हुनुहुन्छ । गुरुङजी, म, बादलजी यहाँ हुनुहुन्न । हामी हिँडेर मनाङ गएर रातभरी रातभरी निगालोका घारीभित्र बसेर, हेरेर, बन्दुक चलाएर, नापेर, पैसा तिरेर, किनेर ल्याएको होलटाइमर बन्दुक । १० वर्षमा चीज कहाँबाट कहाँ पुग्यो ? चीज हामीलाई थाहा छ । १० वर्षमा चीज कहाँबाट कहाँ पुग्दा रहेछ भन्ने कुरा हामीले राम्रो महशुस गरेका छौं ।

मलाई के लाग्या छ भने यदि राज्यकै अंगले हामीलाई साँच्चीनै अपमानित गर्ने, हेप्ने हो भने म किरणजी, बाबुरामजी, बादलजी हामी जेल जाने हो भने तपाईहरुले विद्रोह गर्नुहुन्छ र त्यो विद्रोह जायज हुन्छ भन्ने मेरो भनाई छ । (ताली) किनभने, जेलबाट गरिने विद्रोह चानचुने हुँदैन । प्रमुख नेताहरु जेल बसेर गर्ने विद्रोह नेल्सन मण्डेलाले देखाएका छन् । कति ठुलठुला परिवर्तन जेलभित्रबाट पनि आउन सक्छ भन्ने कुरा हो ।

आजको यो अन्तरक्रियामा म उत्तेजनामा त छैन, आवेगमा त छैन तर चीजको गम्भीरतालाई हेर्दा यदि यसरी नै केही मानव अधिकारवादीहरु डलरको भरमा माओवादीलाई ठेड्कोमा हाली छाड्छौं भन्ने सोचेको हो भने तपाईहरुले चिनिराख्नुस् को को हुन ती ? तपाईहरुले चिनिराख्नु पर्ने हुन्छ । हामी त फेरि भूमिगत जाने फेरि बन्दुक चलाउने भर्खरै स्थिति छैन । अब तपाईहरुले विद्रोह गर्दा हामीलाई जेलबाट निकाल्नु भयो भने तपाईहरुसँग भइन्छ ।

अहिले सवाल के छ भने हामीले विस्तृत शान्ति सम्झौता जो गरेका छौं त्यो शान्ति सम्झौतामा केही मूल्य केही मान्यताहरु स्थापित गरिएको छ । मुद्दाहरुको बारेमा पनि केही चीजहरु गरिएका छन् । र,  ढिलो किन ग¥र्यौ भनेर साथीहरुले भन्नुभयो । ढिलो भयो किनभने एउटा कुरा दार्शनिकहरुले के भनेका छन् भने युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातविहीन युद्ध हो । बडो डायलिटीकल छ यो कुरा । हिजो हामी रक्तपातपूर्ण राजनीतिमा थियौं । हाम्रो राजनीति नै थियो त्यो । अहिले हामी रक्तपातविहीन युद्धमा छौं । कतिपय युद्धमा हामीले चाहेकै बेला भइहाल्छ भन्ने छैन । राजनीतिक युद्धमा पनि त्यो कुरा लागू हुन्छ । अहिले जे भए पनि एउटा समय आएको छ ।

मलाई के अनुभूति हुन्छ भने किरणजीले पहिला एउटा किताब लेख्नु भएको छ, ‘संङ्घर्षको दर्शन’ भन्ने । सङ्घर्षको दर्शन भन्ने किताबमा प्रचण्डको बारेमा धेरै कुरा लेख्नु भएको छ उहाँले । मेरो बारेमा धेरै कुरा लेख्नुभएको छ हिजोको । उहाँ र मेरो अहिले अलिकता मतभेद भएको छ तर उहाँले जे लेख्नु भएको छ त्यो मध्ये एउटा कुरालाई म कोट गर्न चाहन्छु ‘म नेतृत्वमा आएपछि नेपालको राजनीतिमा एउटा नयाँ तरङ्गको सुरुवात भयो ।’

म आउने बित्तिकै एकता केन्द्र बन्यो । म नेतृत्वमा आउने बित्तिकै उहाँले लेख्नुभएको एकता केन्द्र बनेको हो । हामी संसदमा गएर नयाँ जनवादी क्रान्ति जिन्दावाद भनेर नारा लगाएकै हो । नौं (९) जना मात्रै संसद भएपनि हामीले त्यो गरेकै हो ।

त्यसपछि २०५२ सालमा गएर जनयुद्ध सुरु गरेर देशको राजनीतिमा एउटा नयाँ तरङ्ग ल्याएकै हो । १० वर्ष धेरै लामो कुरा होइन इतिहासमा राजनीतिक आन्दोलनमा हेर्ने हो भने १० वर्षको अवधि धेरै लामो अवधि होइन छोटै अवधि हो तर छोटै अवधिमा हामीले ठूल्ठूला राजनीतिक परिवर्तन र हाम्रो एजेण्डाको वरिपरि सिङ्गो नेपाललाई सबै पार्टीहरुलाई ल्याउन हामी सफल भएकै हो । हामीले ल्याएकै हो, शान्ति प्रक्रियामार्फत् संविधानसभामा सबैलाई, संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्ने ठाउँमा ल्याएकै हो ।

अहिले यसलाई डिरेल (भङ्ग) गर्न खोजिदैछ । मेरो भनाई के छ भने कुनै पनि मूल्यमा अब माओवादीलाई एक ठाउँमा केन्द्रीत गर्ने फेरि एकचोटी संङ्घर्षलाई नयाँ शिराबाट अगाडि बढाउने र हामीलाई, हाम्रो साथीहरु, जनता र उत्पीडित वर्ग र समुदायलाई अपमानित गर्ने प्रवृत्ति जारी रह्यो भने त्यसलाई धरासायी गर्न जस्तो सुकै त्याग, तपस्या र बलिदानी गर्न पनि तयार हुने यही प्रतिज्ञा यही प्रतिबद्धता, अहिलेको आवश्यकता हो भन्ने मलाई लाागेको छ ।

मानिसहरुलाई अनौठो लाग्छ, प्रचण्डले के गर्छ ? के गर्छ ? पत्याई नसक्नु मान्छे ! मलाई भनिएको छ । मलाई थाहा छ । धेरै ठूल्ठूला शक्तिहरुले मलाई के भनेका छन् भन्ने मलाई थाहा छ । एकदमै अनप्रेडिक्टेवल भन्छन् । मैले के भन्ने ग¥या छु भने अनप्रेडिक्टीविलिटी इज द क्यारक्टास्टिक अफ लिडर । मैले के गर्छु भन्ने पहिल्यै सबैले थाहा पायो भने त म लिडरै होइन नि ! मैले देश र जनताको पक्षमा गर्छ कि गर्दैन मुख्य कुरा त्यो हो । मैले राष्ट्रको पक्षमा परिवर्तनको पक्षमा मैले काम गरिराख्या छु कि छैन ? त्यो प्रमुख कुरा हो भन्ने लाग्छ ।

गल्तीहरु भएका छन् डा.सुन्दरमणिले भन्नुभएको छ । म मान्छु । हामी चुकेका छौं । नचुकिकन इतिहासमा कहीँ पनि नयाँ चीज बनेको पनि छैन । तपाई हामीले युद्ध लड्दाखेरि चुक्या थिएन भन्ठान्नु भा’छ । युद्धका बेला पनि हामी धेरै ठाउँमा चुक्या थियौं । चुक्दा चुक्दै सिक्यौँ र एउटा शक्ति बन्यौं । शान्ति प्रक्रियामा पनि हामी चुकेका छौं चुक्दा चुक्दै एउटा कुरा सिकेका छौं । हेर्नुहोला, म तपाईकोमा फेरि आउँछु । त्यसकारण अहिलेको हाम्रो मुख्य मुद्दा भनेको विस्तृत शान्ति सम्झौता अनुसार यो संङ्क्रमणकालिन न्यायको सिद्धान्त अनुसार हिजोको मुद्दा मामिलाहरुलाई मेलमिलापको स्पीरिट अनुसार निरुपण गर्ने या नगर्ने ? यति हो मुद्दा ।

विस्तृत शान्ति सम्झौताअनुसार सबै मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् मेलमिलापको उद्देश्यसहित समापन गर्ने कि नगर्ने ? मुद्दा यति हो । जसले गर्न चाहेको छैनन् उसले यसलाई फसाउने, फसायो भने फाइदा हुन्छ भन्दैै हिँडिरहेको छ । जसले चाहेको छ, उसले इमानदारिता साथ टुङ्ग्याउन चाहेको छ ।

नेपालमा अहिले हिजो द्वन्द्वरत् शक्तिहरु यो प्रक्रियालाई सकारात्मक र रचनात्मक ढङ्गले टुङ्ग्याउन चाहेका छन् । त्यसकारण यसलाई सकारात्मक ढंगले नै टुङ्गिन्छ, टुङ्ग्याउनुपर्छ । यदि देशलाई फेरि भूमरीमा हाल्ने फेरि एउटा अराजकतातिर लैजाने कसैले घृणता गर्दछ भने त्यो सफल हुँदैन । नेपालमा त्यो सफल हुँदैन । किनभने, म सिराहा, बीरगंजमा गएँ, महोत्तरी गएँ  । १०औं हजार मधेशी जनताको बीचमा सम्बोधन गरेँ । मैले के भनेको छु भने जब मधेशीहरु आफ्नो पहिचान, अधिकार, हाम्रो हक चाहियो भन्छन् । जनजाति, महिला, दलितले भन्छन्, मुस्लिमले भन्छन्, हामीलाई गौरव महशुस हुन्छ । यो आवाज १० वर्षको विद्रोहद्वारा पैदा भएको आवाज हो । त्यहाँ म माओवादी एजेण्डा देख्छु । माओवादी आन्दोलनको छाप देख्छु । त्यसकारण भलै तत्काल विभिन्न खालको कन्फ्युजन हुनसक्छ तर अन्ततः त्यहाँभित्र उत्पीडित, विभेदमा परेका अपमानित रहेका वर्ग समुदायका वाणी छ ।

हामीले हिजो विद्रोह गर्दा नेपाल एउटा बलियो राष्ट्रिय एकता कायम गर्ने हाम्रो सपना हो । देशलाई कुनै हालतमा विखण्डनमा लैजाने हुनु हुँदैन । विखण्डनमा त्यतिबेला जान्छ, जतिबेला एउटा समुदायमाथि अर्को समुदायले विभेद गर्छ । राज्यले एउटा निश्चित समुदायमाथि अपमान गर्छ, दमन गर्छ त्यतिबेला विखण्डनको विभाजनको बिउ रोपिने गर्छ । त्यसकारण, समानताको आधारमा नयाँ राष्ट्रिय एकता कायम गर्ने आन्तरिक राष्ट्रिय एकता कायम गरेर मात्रै यो राष्ट्रलाई स्वाधीन, सुदृढ बनाउन सकिन्छ भन्ने मान्यताबाट हामी परिचालित हुँदै आएका छौं ।

अन्त्यमा अझै पनि नेपालको यो परिवर्तनको प्रक्रियालाई अन्तिम टुङ्गोसम्म पु¥याउने जिम्मेवारी हाम्रै काँधमा छ । हामी माओवादी अहिले निराश हुने कुनै कारण छैन् । बरु एकचोटी जागरुक भएर, सचेत भएर, एकताबद्ध भएर एकता प्रक्रियालाई टुङ्गोमा पु¥याउने र क्रान्तिको नयाँ प्रक्रिया सुरुवात गर्नको लागि एकजुट हुनुपर्ने आवश्यकता छ । यो अन्तरक्रियाको चुरो कुरो पनि यही नै हो । यसैमा हामी अगाडि बढौं । हामीले त्यो प्राप्त गर्न सम्भव छ । तर, सामान्य सिद्धान्त जनताले भन्छन् “एकता नै बल हो” विभाजित हुँदा के हुँदो रैछ भन्ने कुराको तितो अनुभव हामीले हासिल गरिसकेका छौं । अब समय आएको छ । फेरि हामी एकजुट होऔं । जनताको पीडा, जनताको आँशु पुछ्नको लागि । ती शहीद परिवारहरु, ती बेपत्ता योद्धा परिवारहरु, ती घाइते–अपाङहरु तिनीहरुको सपना साकार पार्नका लागि हामी एक भएर अगाडि बढौं । राज्यलाई शान्ति सम्झौताबाट दायाँ बाँया गर्न दिइने छैन् । यही प्रतिज्ञा, प्रतिबद्धता र अपीलसहित बिदा हुन्छु । धन्यवाद ! अभिवादन !

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत