मातृका माओवादीले तत्काल एकता नगर्नुको कारण यस्तो पो रहेछ !

३ जेठ, काठमाडौं । विभिन्न समयमा फुटेका माओवादी घटकहरु बीच एकताको लागि भनेर तयार पारिएको साझा सहमतिका १३ बुँदे प्रस्तावमा मातृका यादव नेतृत्वको नेकपा (माओवादी)ले असहमति जनाउँदै तत्काल पार्टी एकताको सम्भावना नरहेको भन्दै एकता प्रक्रियाबाट बाहिएको छ ।

Prachanda-Matrika

यद्यपि, मातृका यादवले एकताको ढोका खुला नै रहेको बताएका छन् । तर, मातृका माओवादीले गोर्खा राज्य विस्तारलाई एकीकरण भनिए पनि आन्तरिक रुपमा गोर्खाली साम्प्रदायिक सत्ताको औपनिवेशिक शासन मुनी मधेश लगायतका राष्ट्रियताहरु परतन्त्रको जाँतो मुनी पिल्सिएको बताएको छ ।

स्रोतकाअनुसार मातृका यादव जेठ १ गते पार्टी एकताका लागि प्रचण्डले तयार पारेको साझा सहमतिका १३ बुँदेमा हस्ताक्षर गर्न तयार नै रहे पनि केही केन्द्रीय सदस्यहरुको दबाबमा एकताबाट पछि हट्न बाध्य भएका हुन् ।

एमाओवादी अध्यक्ष प्रचण्डलाई उदृत गर्दै स्रोत भन्छ, ‘जेठ १ गते शनिबार बिहान मात्रै प्रचण्डलाई भेटेका मातृका यादवले १३ बुँदेमा आफ्ना तर्फबाट केही कुरा थप्न लगाएर ‘पार्टी एकताका लागि साझा सहमतिका १३ बुँदे’ आधार पत्र लिएर आफ्नो पार्टी कार्यालय बिजुलीबजार पुगेर उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरु साथै वार्ता टोलीलाई बोलाएका थिए ।’

‘संयोजक मातृका यादव माओवादी घटकहरु बिच पार्टी एकता गर्ने पक्षमा भए पनि मधेशका मुद्दाहरुमा एमाओवादीबाट भर्खरै मातृका माओवादीमा प्रवेश गरेका मधेशका नेता र केही केन्द्रीय सदस्यहरुको चर्को दबाबका कारण १३ बुँदेमा केही बुँदा थप गर्नु पर्ने भएपछि मातृका एकताको विपक्षमा उभिन बाध्य भएका थिए ।’ स्रोत भन्छ, ‘मातृका यादव पार्टीले गठन गरेको वार्ता टोलीले एकता गर्ने निर्णय गरे, एकता गर्ने र यदि नगर्ने निर्णय भए एकता नगर्ने भनी बसेका थिए । अन्नत: पार्टी एकता नगर्ने पक्ष हावी भएपछि यादव माओवादी एकता प्रक्रियाबाट बाहिरन पुगेका हुन् ।’

एमाओवादी अध्यक्ष प्रचण्डलाई लाजिम्पाट निवासमै भेटेर १३ बुँदेमा आफ्ना तर्फबाट केही कुरा थप गरेर पार्टी कार्यालय आएका मातृकालाई वार्ता टोली र उपलब्ध केन्द्रीय सदस्यहरुले पार्टी एकताका लागि केही कुरा थप गर्न अन्य माओवादीहरु सहमत नभए पार्टी एकता नगर्ने भनी दबाब दिए पछि उनी दबाबमा परेको स्रोत बताउँछ ।

मातृका माओवादीका वार्ता टोली र उपलब्ध केन्द्रीय सदस्यहरुले थप्नै पर्ने भनी उल्लेख गरेका विषय हाकाहाकीले फेला पारेको छ । जसमा भनिएको छ, “पार्टी एकताका लागि साझा सहमतिका १३ बुँदे’ आधार पत्रको १०औं बुँदामा ‘नेपालको संविधान २०७२ लाई मधेशी जनताले अस्वीकार गर्दै गरेको, मधेश आन्दोलनको सम्मान गर्दै, आन्दोलनको मागहरु पूरा गराउन संघर्षको नीति लिने, मधेश आन्दोलन लगायत जनताको आन्दोलनमाथि दमनको नीति नलिने’ भनी उल्लेख गर्नु पर्दछ ।”

यसैगरी मातृका माओवादीले मधेश आन्दोलन लगायतका आन्दोलनहरुलाई सम्बोधन गर्दै जनतन्त्रको लडाईं नै आज प्रधान विषय हो भनी ठोस गर्नु पर्ने बताएको थियो । स्रोत भन्छ, ‘मालेमावाद, संघीयता, आत्मनिर्णयको अधिकार, स्वायततालाई आधारभूत मान्यता स्वीकार गर्दै यसका लागि तत्काल संघर्षमा जानु पर्दछ ।’

पाँच माओवादी घटक बिच छलफल हुनु अगावै मातृका समूहसँग मातृका नआउनुको कारण सोधेका एमाओवादी अध्यक्ष प्रचण्डले ‘तपाईंहरुको एकताबारे धाराणा के हो ?’ भने पछि वार्ता टोली संयोजक गोपाल ठाकुरले उल्लेखित विषयवस्तु बताएपछि प्रचण्डले ‘अन्य माओवादी घटकहरुले आ–आफ्नो पार्टीमा छलफल गरेर सहमति भएर आइसकेको १३ बुँदेमा तत्काल केही पनि थपघट नसकिने बताउँदै तपाईंहरुसँग छुट्टै छलफल गर्नु पर्ने देखियो । त्यसैले हामीहरु टुङ्याउँछौं । तपाईंहरुसँग पछि छलफल गरौंला’ भनेसँगै मातृका समूह छलफलबाट बाहिरिएको थियो ।

यही छलफलबाट बाहिरिएसँगै मातृका माओवादी अन्य माओवादी घटकसँगै पार्टी एकतामा सामेल नहुने निश्चित भएको हो ।

स्रोतका अनुसार आज सोमबार मात्रै पनि मातृका यादवले मणि थापा र सोनाम लगायतका नेताहरुसँग भेटघाट गरे पनि यादव तत्काल पार्टी एकता नगर्ने मुडमा पुगेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत