प्रचण्डको नेतृत्वमा हेडक्वाटर, पार्टी प्रवक्तामा भुसाल

1st meeting1

११ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जेठ ९ र १० गते दुई दिनसम्म काठमाडौंको बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको प्रथम बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा ९ सदस्यीय हेडक्वाटर, पार्टी प्रवक्ता साथै ७ प्रदेशको संयोजकको जिम्मेवारी बाँडफाँट गर्दै बिशाल जनप्रदर्शन/जनसभा गर्ने गरी सकिएको छ ।

विभिन्न समयमा विभाजित माओवादीहरुको पार्टी एकता भएसँगै ६९९ सदस्यीय जम्बो केन्द्रीय समिति बनाएको माओवादी केन्द्रले सचिवलायसहित केही जिम्मेवारी बाँडफाँट गरेको छ ।

माओवादी केन्द्रका सदस्य एस.बी.थापा मगरले नेकपा (माओवादी केन्द्र)को पहिलो बैठक जिम्मेवारी बाँडफाँटसँगै ७ प्रदेशको एकता संयोजन भेला तथा प्रशिक्षण गर्दै असार ४ गते काठमाडौंमा बिशाल जनप्रदर्शन/जनसभा गर्ने गरी समापन भएको बताए ।

‘अध्यक्ष प्रचण्डको नेतृत्व रहने गरी नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, कृष्ण बहाुदर महरा, देब गुरुङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहेको हेडक्वाटर गठन भएको छ’ हाकाहाकी डटकमसँगको कुराकानीका क्रममा मगरले भने, ‘१५१ सदस्यीय पोलिटव्यूरो साथै ४९ देखि ५१ सदस्यीय सचिवालयको टुङ्गो ७ दिन भित्र लगाउने निर्णय समेत भएको छ ।’

माओवादी केन्द्रका सदस्य थापाका अनुसार प्रकाशन विभागमा अध्यक्ष प्रचण्ड, प्रवासमा एकता भेला संयोजनका निम्ति नारायणकाजी श्रेष्ठको नेतृत्व रहेको छ भने पार्टी एकताका लागि उच्चस्तरीय कार्यदल वर्षमान पुन ‘अनन्त’को संयोजकत्वमा बनेको छ । र, माओवादी केन्द्रको पार्टी प्रवक्तामा पम्फा भुसाललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी सातै प्रदेशको पार्टी संयोजन, भेला तथा प्रशिक्षणको जिम्मेवारी बाँडफाँट भएअनुसार प्रदेश नं. १ को नेतृत्व राम कार्की, प्रदेश नं. २ मा गोपाल ठाकुर, प्रदेश नं. ३ मा लिलामणि पोखरेल, प्रदेश नं. ४ मा डिलाराम आर्चाय, प्रदेश नं. ५ मा चक्रपाणि खनाल ‘बलदेव’, प्रदेश नं. ६ मा जनार्दन शर्मा ‘प्रभाकर’ र प्रदेश नं. ७ मा लेखराज भट्टको संयोजकत्व रहेको छ ।

यसैगरी बैठकले प्रदेशहरुको पार्टी संयोजन भेला तथा प्रशिक्षण गर्ने मिति र स्थान समेत ठोस गरेको छ । जसअनुसार :
प्रदेश नं. १ को पार्टी संयोजन एकता भेला तथा प्रशिक्षण असार ८ गते इटहरी,
प्रदेश नं. २ को पार्टी संयोजन एकता भेला तथा प्रशिक्षण जेठ २२ गते महोत्तरीको बर्दीबास,
प्रदेश नं. ३ को पार्टी संयोजन एकता भेला तथा प्रशिक्षण जेठ २० गते काठमाडौं,
प्रदेश नं. ४ को पार्टी संयोजन एकता भेला तथा प्रशिक्षण जेठ २४ गते पोखरा,
प्रदेश नं. ५ को पार्टी संयोजन एकता भेला तथा प्रशिक्षण जेठ २६ गते दाङ,
प्रदेश नं. ६ को पार्टी संयोजन एकता भेला तथा प्रशिक्षण जेठ २८ गते सुर्खेत र
प्रदेश नं. ७ को पार्टी संयोजन एकता भेला तथा प्रशिक्षण असार ११ गते धनगढी/अत्तरियामा गरिने निर्णय भएको छ ।

यसैगरी जिम्मेवारी बाँडफाँटमा नपरेका ६९९ सदस्यीय जम्बो केन्द्रीय समितिका सदस्यहरु अहिले जुन प्रदेश र जुन जिम्मेवारीमा छन् सोही प्रदेश र जिम्मेवारीमा रहेर काम गर्ने निर्णय भएको छ । साथै, बैठकले केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा रहने गरी १ नम्बर प्रदेशको कार्यालय काठमाडौंको बुद्धनगरमा रहेको रामबहादुर थापा ‘बादल’हरुले प्रयोग गर्दै आइरहेको कार्यालयलाई प्रयोग गर्ने बताइएको छ । सो कार्यालयमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ पनि रहेकाले बिना विवाद छोडिदिन आग्रह गर्ने भनिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत