भूपू कमरेड तपाईको छोरी स्कुल जाने बेला हामी स्कुल ब्यागमा बारुद बोकेर हिड्दैथियौं – कुनै बेलाको कार्यकर्ता

२२ जेठ, काठमाडौं ।

भूपू कमरेड बाबुराम भट्टराई,

Nayaएकदिन म पढ्ने  स्कुलको भित्तामा ‘माओवादी जिन्दावाद’ भन्ने नारा लेखिएको देखेँ । बेलुकी घरमा आएर बुवालाई सोधें । त्यो नारा यही फोटो (बाबुराम भट्टराई)को मान्छेहरुले लेखेको हो भन्नुभयो । अर्को दिन राती घरको पिँडीमा केही मान्छेहरु गुनगुन कुरा गरेको सुनें । नियालेर हेरेँ । झोला बोकेका केही मान्छेहरु बुवासँग कुरा गर्दै रहेछन् । विस्तारै नजिकै गएर कुरा सुने । एक जनाले बुवालाई भनेको शव्द आज पनि मेरो कानमा गुन्जिन्छ । त्यो झोला बोकेको मान्छेले भनेका थिए । “काका,  यो देशमा ९५ प्रतिशत गरीवहरु छन् । ५ प्रतिशत धनी सामन्तहरु छन् । त्यो ५ प्रतिशतले ९५ प्रतिशत गरीवहरुमाथि शासन गरीरहेका छन् । हामी त्यही ९५ प्रतिशत गरीवका लागि राज्यसत्ता ल्याउन बन्दुक बोकेर हिडेका हौं ।”

बस् मैले यति बुँझे, तपाईले सुरु गरेको जनयुद्धको बारेमा । त्यसपछि, मसाल जुलुसमा हिड्न मन लाग्यो । राती राती सामन्तको घरको भित्तामा नारा लेख्दै हिड्न लाग्यो । र, गरियो त्यस्तै त्यस्तै ।

अन्ततः सात कक्षाको अर्ध वार्षिक परीक्षा दिएर  १४ वर्षको उमेरमा तपाईले सुरु गरेको जनयुद्धमा होमिएँ ।

प्रिय बाबुराम, यो वास्तविकता मैले रहरले तपाईलाई सुनाएको होइन । म जस्तै हजारौं लाखौं मान्छेहरु यस्तै यस्तै अवस्थाबाट युद्धमा होमिएका हुन् । आधाउधी सात कक्षा पढेको मैले तपाईका प्रायः कितावहरु जानी नजानी पढेँ । जति बुझेँ त्यसैको आधारमा लडाई लडेँ ।

यस्तो लाग्यो कहिले काँही, तपाईं र प्रचण्डलाई भेटेर एक पटक मर्न पाए हुन्थ्यो । लडाईंमा जाँदै गर्दा हामी कुरा गथ्र्याैं । हामी मध्ये कोही न कोही त पक्कै शहीद हुन्छौं । जो बाँच्छ उसले पछि प्रचण्ड-बाबुरामलाई भेटेर हाम्रो नामसम्म सुनाईदिनु है ।  ती साथीहरु कयौं उतै युद्धभूमिमै छाडिए । बाँचेकाहरु पनि प्राय: आज  खाडीमा छन् ।

त्यसबेला हामी तपाईका कितावहरु झोला भरी-भरी बोकेर हिड्थ्यौं ।  नौलो विहानी, जनादेश, जस्ता पत्रिकाहरुमा छापिएको तपाईको लेख हामी आफ्नो बच्चालाई भन्दा धेरै माया गरेर बोक्थ्यौं । कयौं बस्तिहरु छन् अझै, तपाईको लेख भएको पत्रिका भेटिएकै कारण जेल बसे, कति त मारिए पनि ।

तपाई हामीलाई मर्न र मार्न सिकाउने मान्छे आफै पो पार्टी छाडेर निस्कनु भयो । आन्तरिक तत्व तपाईमा थियो भने, वाह्य तत्व हामी विना आजको बाबुराम भट्टराई बन्न सक्नु हुन्थेन । तपाईलाई प्रधानमन्त्रीको कुर्चिमा चढाएको सहरका सौखिन मान्छेहरुले होइन । म जस्तै अनपढहरुले हो ।

तपाईलाई हेक्का हुनुपर्छ: जब तपाई प्यारी छोरी र श्रीमती च्यापेर इन्डियन रेलमा सफर गर्दै हुनुहुन्थ्यो त्यसबेला हामी मृत्युसँग लुकामारी खेल्दै थियौं । हजारौं आमाहरु रुवाएर छोराछोरीलाई जनसेनामा भर्ति गर्दै थियौं । तपाईको प्रिय छोरी मानुषी स्कुल ब्याग बोकेर इन्डियन स्कुलमा छुनुमुनु गर्दै जानेबेला हामी स्कुल ब्यागमा बारुद बोकेर हिड्दै थियौं ।

प्रिय बाबुराम, आज सुन्छु तपाई सहरका वुद्धिजीवीहरु भेला पारेर नयाँ शक्ति नामको खिचडी बनाउँदै हुनुहुन्छ रे ! नयाँ कामको सुभारम्भका लागि  शुभकामना ! म सुन्दैछु, तपाईकी छोरी मानुषी पीएचडी गर्न भारत गएकी छिन् रे ! उनलाई पनि शुभकामना ! खाँचो छ यो देशमा अझै धेरै तपाईँजस्तै डाक्टरहरुको । हामी अनपढ नै सही । हामी पनि पीएचडी गरौंला जीवनशास्त्रको ।

प्रिय बाबुराम, अब तपाईको घरमा बनाउन लगाउँनुस् ठूलो कम्पाउण्ड किनकी सडक खन्दै आइपुगेकाहरुको पसिनाको नमिठो गन्ध तपाईको महलसम्म आइपुग्न सक्छ । कोठाबाट निकाल्नुस् माक्र्सको फोटो र गेटमा लेख्नुहोस् ‘संसारका पुँजीपतिहरु एक होऔं’ नारा ।  खबरडबलीमा डा.बाबुराम भट्टराईको कुनै बेलाको कार्यकर्ताको पत्र छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत