असार २५ गते माओवादी निकट ट्रेड युनियनहरुको संयुक्त एकता भेला तथा प्रशिक्षण

Trade Union

१ असार, काठमाडौं । माओवादी निकट ट्रेड युनियनहरुको संयुक्त बैठकले असार २५ गते काठमाडौंमा एकता भेला तथा प्रशिक्षण गर्ने गरी १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय कोटेश्वरमा बुधबार बिहान बसेको माओवादी निकट ट्रेड युनियनहरुको संयुक्त बैठकले शालिकराम जमरकट्टेलको अध्यक्षतामा जयबहादुर कार्की, गणेश रेग्मी, धनबहादुर विश्वकर्मा, उषा देवकोटा, जगत सिंखडा, एस.बी.थापा, निरज गोले, कार्सन तामाङ, सोनलाल साह, शालिक काफ्ले, अर्जुन सत्याल र राजेन्द्र रहने गरी १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको हो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी)का संयोजक एस.बी.थापाका अनुसार बुधबार बिहान बसेको संयुक्त बैठकले अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) र क्रान्तिकारी ट्रेड युनियन विङ्ग (चार वटा ट्रेड युनियन)का सबै केन्द्रीय सदस्यहरु आयोजक समितिमा रहने गरी एकता भेला सम्पन्न गर्न शालिकराम जमरकट्टेलको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

ट्रेड युनियनहरुको संयुक्त बैठकले अखिल नेपाल ट्रेड युनियन महासंघका १९९ जना, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका १०५ जना, अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी)का ३३ जना र क्रान्तिकारी ट्रेड युनियन विङ्गबाट ११ जना गरी कूल ३ सय ४८ सदस्यीय सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय गरिएको मूल व्यवस्थापन समितिका अध्यक्ष शालिकराम जमरकट्टेलले हाकाहाकी डट कमलाई जानकारी दिए ।

यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी)का सचिवालय सदस्य निरज गोलेले बताएअनुसार आज गठित १३ सदस्यीय मूल व्यवस्थापन समितिले असार २५ गते काठमाडौं गरिने एकता भेला तथा प्रशिक्षणको सम्पूर्ण व्यवस्थापन र प्रस्तावित विधान, प्रतिवेदन तयार गर्नेछ ।

विभिन्न समयमा विभाजित माओवादी घटकहरुको बैशाख ६ मा पार्टी एकता महाअधिवेशन भई नेकपा (माओवादी केन्द्र) गठन भए पनि ट्रेड युनियनहरुको एकता भेला हुन सकिरहेको थिएन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत