नक्कली प्रमाणपत्रधारी डाक्टरविरुद्ध अपरेसन ‘क्वाक’

९ असार, काठमाडौं । नेपाल मेडिकल काउन्सीलसितको समन्वयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध अपरेसन क्वाक सञ्चालन गरिरहेको छ ।

कुनै पनि चिकित्सकले नेपाल मेडिकल काउन्सिलको परिक्षा दिनु पुर्व एसएलसी, आइएस्सी तथा एमबिबिएसको प्रमाणपत्र बुझाउनु अनिवार्य हुन्छ । त्यही प्रमाणपत्र बुझाउने क्रममा कतिपयले एसएलसी र आइएस्सीको प्रमाणपत्र नक्कली देखाउनु नै अहिलेको मुख्य समस्या हो । कसै-कसैकोे भने एमबिबिएसको सर्टिफिकेट नै नक्कली फेला परेको छ । र, त्यही प्रमाणपत्रका आधारमा अहिले सिबिआईले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ ।

नक्कली प्रमाणपत्र लिएकाहरुमध्ये पनि कोही एसएलसी पास छन् तर उनीहरु आइएस्सी फेल भएकाले नक्कली प्रमाणपत्र किनेर एमबिबिएस गरेका छन् । केही आइएस्सीमै फेल भए तापनि उसको प्रमाणपत्रमा प्रथम श्रेणीमा पास भएको देखिएको छ । त्यस्तै, कतिपय पास त भएका छन् । तर थोरै नम्बर आएकाले नम्बर बढाउन नक्कली सर्टिफिकेटको सहारा लिएका छन् ।

नेपाल मेडिकल काउन्सिलमा जाँच दिन बसेका दुई नक्कली विद्यार्थीको पक्राउ लगत्तै यो कुरा बाहिर आएको हो । पहिले-पहिले काउन्सिलको परिक्षाको फारम अनलाइन भर्ने चलन थिएन । जसले गर्दा कुनै पनि विद्यार्थीले एउटाको परिचय पत्रमा अर्कोको फोटो टाँसेर जाँच दिनसक्थ्यो । त्यो प्रक्रियालाई बन्द गर्न करिब एक वर्ष पहिले अनलाइन फारम भर्ने, अनलाइनमा फारम भर्दा प्रमाणपत्र पनि अनलाइन नै बुझाउनु पर्ने भयो । यसले सबै कुरा पारदर्शी गरायो ।

पहिले कुनै लाइसेन्स प्राप्त डाक्टरले प्रमाणित गरेको आधारमा लाइसेन्स दिने व्यवस्था थियो । अर्थात् एउटा डाक्टरले उसको प्रमाणपत्र सक्कली हो भनेर सर्टिफाई गरिदिएको खण्डमा उसले लाइसेन्स पाउथ्यो । यसमा विकृति आएपछि काउन्सिलको परीक्षा पनि पास गर्नुपर्ने व्यवस्था गरिएको हो । तर, त्यसरी जाच दिँदा पनि एउटाको प्रवेश पत्रमा अर्कैको फोटा चिप्काउने चलन हावी भयो । त्यसैले अनलाइन सिस्टममा गयो ।

यसबारे थप अनुसन्धानका लागि काउन्सिलले स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्‍यो । मन्त्रालयले काउन्सिलसित समन्वय गरी यसको छानबीनको जिम्मा केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) लाई दिएको हो ।

सिआईबीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्सितको समन्वयमा अनुसन्धान अघि बढायो । काउन्सिलसित भएको प्रमाणपत्र सक्कली हो वा हैन भनेर जाँच्ने काम परिषद्ले गर्‍यो ।

त्यसैगरी उपलब्ध भएका प्रमाणपत्र नक्कली ठहर भएमा उनीहरुलाई पक्राउ गर्ने तथा उनीहरुबारे थप अनुसन्धान गर्ने अधिकार प्रहरीमा निहीत हुन्छ । त्यही आधारमा व्युरोले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गर्न ‘क्वाक’ अपरेशन नै सञ्चालन गर्दै आएको छ ।

उक्त अपरेसनमार्फत व्युरोले ६ महिनाको अन्तरालमा ५० जना भन्दा बढी नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गरिसकेको छ । उनीहरु हाल अनुसन्धानको दायरामा छन् भने उनीहरुको मुद्दामा अदालतमा छ ।

अन्य नक्कली प्रमाणपत्रधारीलाई कारवाही गर्न काउन्सिललाई थप दबाव सिर्जना भएको छ । पक्राउ परेका तिनै समूहले ‘यस्ता व्यक्ति नेपालमै कति छन्, हामीलाई मात्र किन पक्राउ गरेको ?’ भनेपछि थप अनुसन्धान गर्नु पर्ने आवश्यक्ता महसुस भएको छ । सिआईबी तथा उच्च शिक्षा माध्यामिक परिषदमार्फत यस्ता व्यक्तिहरुको खोजी तथा अनुसन्धान तिव्र गतिमा भइरहेको अनलबइनखबरमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत