धेरै डाक्टर, इन्जिनियर, पाइलट, वकिल, पत्रकारका सर्टिफिकेट नक्कली छन् – कोइराला

१० असार, काठमाडौं ।

तस्बिर : साप्ताहिकबाट ।

तस्बिर : साप्ताहिकबाट ।

असारको पहिलो र दोस्रो हप्ताको अघिल्ला दिनहरु शिक्षा क्षेत्रमा निकै चर्चामा रह्यो । यसै बिच उच्च मावि शिक्षा परिषदका सदस्य सचिव नारायणप्रसाद कोइरालाले धेरै डाक्टर, इन्जिनियर, पाइलट, वकिल, पत्रकारका सर्टिफिकेट नक्कली रहेको हुनसक्ने बताएका छन् ।

गएको साता शिक्षा क्षेत्र तीन कारणले चर्चामा आयो । प्रथम, एसएलसी परीक्षाको नयाँ खालको परिणाम । दोस्रो, आउँदो वर्षदेखि एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद परीक्षा बोर्ड हटेर राष्ट्रिय परीक्षा बोर्ड गठन हुने भएको छ । तेस्रो, गएको साता बिरामी जाँचिरहेका दर्जनौं डाक्टर नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ परे । यी तीनवटै काममा उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायणप्रसाद कोइरालाले प्रमुख भूमिका खेलेका थिए । उनै कोइरालासँग अश्विनी/विदुरले गरेको कुराकानीको अंश साप्ताहिकबाट :

सर्टिफिकेटकै कुरा गर्दा अहिले डाक्टरहरू नक्कली सर्टिफिकेट काण्डमा मुछिएका छन् । दर्जनौ पक्राउ परेका छन् । खासमा उनीहरू कसरी नक्कली डाक्टर भए ?
सर्टिफिकेट छानबिनमा सुरुदेखि नै मेरो संलग्नता थियो, जसले भारतका विभिन्न कलेजको सर्टिफिकेट पेस गरेर आफू डाक्टर भएको बताएका छन्, ती कलेजहरूमा हामीले प्रहरी र मेडिकल काउन्सिलका वरिष्ठ व्यक्तिहरूलाई उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी बनाएर पठाएका थियौं । किनभने विदेशी विश्वविद्यालयले हामीलाई मात्र उनीहरूको गोप्य डाटा सेन्टरमा प्रवेश दिन्छन् । वर्षौं लगाएर, करोडौं खर्च गरेर नक्कली प्रमाणपत्रधारीका बारेमा सूचना संंकलन गरिएको हो । अहिले जो–जो पक्राउ परे, उनीहरू नक्कली प्रमाणपत्रधारी नै हुन्, त्यसमा शंका नगरे हुन्छ । कसको कुन सर्टिफिकेट नक्कली, उनीहरूले गरेको नक्कली काम के–के हुन् भन्ने कुरा मात्र फरक–फरक छ । कतिपयले यति ठूलो अपराध गरेका छन् कि त्यसको लेखाजोखा गर्दा पनि छक्क परिन्छ । राज्यलाई कसरी हेपिएको छ, यहाँ जे गरे पनि हुन्छ भन्ने सोच कसरी मौलाएको छ भन्ने कुरा यही काण्डलाई ध्यान दिएर हेर्दा पनि पुष्टि हुन्छ ।

केही उदाहरण दिन सकिन्छ ?
कतिपय पटक–पटक एसएलसी फेल भएका छन् । यसरी फेल भएपछि भारतका स्कुलबाट परीक्षा दिएर उच्च श्रेणीमा पास भएका छन् । नेपालमा पटक–पटक एसएलसी फेल भएको विद्यार्थीले भारतबाट उच्च अंक ल्याउनु आफैंमा आश्चर्य छ । त्यसपछि ऊ नेपालमा आईएस्सी भर्ना हुन्छ तर पास गर्न सक्दैन । त्यसपछि ऊ भारतको कुनै कलेज जान्छ र आईएस्सीमा उच्च अंक प्राप्त गर्छ । अनि त्यही एसएलसी र आईएस्सीको उच्च अंक देखाएर सरकारको सुविधामा डाक्टर पढ्न विदेश जान्छ । अचम्म छ, उसले त्यहाँ एमबीबीएस पास गर्छ तर नेपालको मेडिकल काउन्सिलले परीक्षा लिँदा ऊ फेल हुन्छ । अब कल्पना गर्नुहोस्, नक्कली सर्टिफिकेट ल्याएर उसले बिरामीको जीवनसँग मात्र खेलबाड गरिरहेको छैन, सरकारी सुविधामा डाक्टर पनि पढेको छ । जसले दु:ख गरेर पढेको थियो, एसएलसी र आईएस्सीमा ऊभन्दा थोरै अंक पाएको थियो त्यस्तो प्रतिभाशाली विद्यार्थी डाक्टर पढ्न बञ्चित भयो तर पढ्दै नपढी नक्कली सर्टिफिकेटको भरमा एउटा मान्छे डाक्टर भयो । कतिपयले सरकारी सुविधामा एमडीसमेत गरेका छन् ।

यति ठूलो अपराध कसरी सम्भव भयो ?
मैले माथि नै भनेँ, राज्य भनेको केही होइन, यहाँ जे गरे पनि चल्छ भन्ने मानसिकताले जरो गाडेको छ । त्यसैको परिणाम चिकित्सकजस्तो सम्मानित पेसामा समेत यस्तो विकृति छिरेको हो । अब कल्पना गर्नुहोस्, विश्वका चर्चित विश्वविद्यालयमा पढेरै पास गर्नुपर्ने चिकित्सा पेसाको अवस्था त यस्तो छ भने सामान्य पढाइ भए पुग्ने अन्य क्षेत्रको अवस्था कस्तो होला ?

अन्य कुन–कुन क्षेत्रमा नक्कली प्रमाणपत्रधारी हुन सक्छन् ?
एक दर्जन पाइलटका सर्टिफिकेट नक्कली भएको कुरा थाहा भैसकेको छ । सम्भवत: यो अन्तर्वार्ता प्रकाशित हुन्जेलसम्म उनीहरू पनि पक्राउ पर्लान् । दुई–चार सय इन्जिनियर पनि पक्राउ पर्ने सूचीमा छन् । अझै २–४ सय डाक्टर पक्राउ पर्दैछन् । जब डाक्टर, इन्जिनियर र पाइलटको स्थिति यस्तो छ भने तपाईंले कुन पेसामा नक्कली सर्टिफिकेटधारी पाउनु हुन्न ? धेरै वकिल–पत्रकार आदिका सर्टिफिकेट नक्कली छन् भनेर ढुक्क हुनुहोस् । हामीले धेरैको नाममा छानबिन गरिरहेका छौं ।

यस्ता नक्कली प्रमाणपत्रधारीहरू सरकारी सेवामा छैनन् ?
अख्तियारले समाउने डरका कारण हुनसक्छ, डाक्टर, इन्जिनियर र पाइलटको लिस्टमा सरकारी जागिरेहरू अहिलेसम्म भेटिएका छैनन् । भएकाहरूले जागिर छाडिसकेका होलान्, तर निजी क्षेत्रमा काम गर्दा थाहा हुँदैन र यसलाई अपराध पनि मानिँदैन भनेर काम गरिरहेका हुन सक्छन् । नक्कली सर्टिफिकेट देखाएर त्यही आधारमा काम गर्नु अपराध हो । त्यस्ता व्यक्ति उम्कन पाउँदैनन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत