संघीय गठबन्धन बिना पनि मधेसी मोर्चा सरकारसँगको वार्तामा सहभागी हुने

१० असार, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धन बिना पनि मधेसी मोर्चा सरकारसँगको वार्तामा सहभागी हुने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी वार्ताका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीय गठबन्धनलाई कुरेर बस्ने पक्षमा नरहेको बताउँदै महतोले भने, ‘संघीय गठबन्धनले वार्ताका लागि सरकारलाई दवाब दिने गरी आन्दोलन गर्न सकेन । अब वार्ताका लागि संघीय गठबन्धनलाई कुरेर बस्ने पक्षमा छैनौं ।’

अध्यक्ष महतोले संघीय गठबन्धनलाई सरकारले पत्राचार नगरेको अवस्थामा मोर्चा संघीय गठबन्धन विना नै वार्तामा सहभागी हुने बताउँदै मोर्चाले आफ्ना राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता अहिले नै नखोजेको बताए ।

महतोले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरिनु पर्ने, घाइतेहरुको उपचार गरिनु पर्ने लगायतका पूर्वशर्त तत्काल पूरा गरेर वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत