पहाडतिर डाक्टरको प्रतिष्ठा बढ्यो, तराईतिर त दाइजो पनि बढ्यो – डा. शुशील कोइराला

तस्बिर : स्वास्थ्य खबरपत्रिका

डा. शुशील कोइराला

१२ असार, काठमाडौँ । डा. शुशील कोइराला चिकित्सा क्षेत्रमा इथिक्स र इमान्दारिताको वकालत गर्ने मध्येमा पर्छन् । नेपाल मेडिकल काउन्सिलका सदस्य समेत भइसकेका उनले नक्कली प्रमाणपत्रधारी डाक्टरको गिरफ्तारी र डाक्टर सम्बद्ध संघसंस्थाको प्रतिक्रियाका बारेमा टिप्पणी गरेका छन् ।

नक्कली डाक्टर उत्पादन हुनुका कारण
डाक्टर बन्ने रहरले नक्कली उत्पादन भए । डाक्टर भन्ने जातप्रति झुकाव बढेको २० वर्ष जति भयो । समाजमा डाक्टरको प्रतिष्ठा छ ।

यसका मुख्य कारण दुईटा छन् : एक त पहिलो चरणमा डाक्टरको अभाव भएकाले कमाइ पनि भयो । अर्काे एक समय त डाक्टरलाई नचिन्दा उपचारै राम्रो नहुने वा ठगिने परिस्थिति सिर्जना भयो । जसले गर्दा डाक्टरलाई अरु पेशाकर्मी जस्तो वेवास्ता गर्न सकिएन, सम्मान गर्नै पर्ने भयो । यसरी डाक्टरले सम्मान पाइरहँदा अरु पेशाकर्मीलाई लोभ लाग्यो ।

आफू डाक्टर बन्न सकेन, छोराछोरीलाई जसरी पनि डाक्टर बन्नुपर्छ भन्यो । जसले पैसा कमायो, उसको सन्तान डाक्टर छ । एकचोटी आफ्नै समाजमा पनि हेरौं, व्यापारीले व्यापार नसिकाएर डाक्टर बनाउँछ । सरकारी कर्मचारीले कर्मचारी बन्न नउक्साएर डाक्टरै बनाउँछ । खासमा पहाडतिर डाक्टरको प्रतिष्ठा बढ्यो, तराईतिर त दाइजो पनि बढ्यो ।

छोराछोरीको क्षमता होस् कि नहोस्, इच्छा होस् कि नहोस् उसलाई डाक्टर बनाउनै पर्ने भयो वा जसरी पनि डाक्टर बन्नैपर्ने भयो । डाक्टर बन्नका लागि पढाइको क्षमताले रोक्यो । त्यसपछि यसरी नक्कली सर्टिफिकेट बन्यो । मान्छेको जात हो, मेहनत गर्यो भने डाक्टरी पास गरिहाल्छ । वा, डाक्टरीको सर्टिफिकेट कसरी हासिल गर्यो भन्ने अहिले छानविनको विषय भएको छैन, त्यसैले यो तपसिलमै राखौं ।

चिकित्सक संघको तर्क गलत, सीआईबीको कारबाही सही
नेपाल चिकित्सक संघ (एनएमए)ले अहिले नेपाल मेडिकल काउन्सिलले आफ्ना प्रमाणपत्र प्रमाणित गरिसकेको वा उसैले गर्नुपर्ने भन्ने तर्क अघि सारेको छ । काउन्सिलले यस्तो काममा हात हालेको भए, काउन्सिलमा भएकाहरु पिटइसक्थे वा ज्यान मार्ने धम्की आइसक्थ्यो । त्यसैले यो काम जहाँबाट हुनुपथ्र्याे, त्यहीँबाट भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) वा यस्तै निकायले मात्रै यस्तो काम गर्न सक्थ्यो ।

अरु बुझ्नैपर्ने कुरा आईएसीको सर्टिफिकेट मेडिकल काउन्सिलले जाँच्ने होइन, सम्बन्धित युनिभर्सिटीले जाँच्ने हो । उसले आफूकहाँ ५ देखि ६ वर्ष रहने विद्यार्थीको सर्टिफिकेट सक्कली कि नक्कली भनेर हेर्नुपर्छ । काउन्सिलले उक्त युनिभर्सिटीलाई विश्वास गर्यो । यसैपनि काउन्सिलले यसरी हेरेर कसरी साध्य लाग्छ ? काउन्सिलले चाहिँ मेडिकल क्षेत्रमा प्रवेश गरिसकेपछिका सर्टिफिकेटका विषयमा हेर्ने हो । जुन अहिले सुरु भएकै छैन, त्यो पनि यस्तै गन्जागोल छ । विस्तारै होला । अहिले जहाँबाट थालिएको छ, यो सही पनि हो । आइएसीको छानविनपपिछ एमबिबिएस, एमडीलगायत हुन्छन् ।

सम्मानित पेशा भएकाले यसरी ‘अपराधी जस्तो’ व्यवहार नगर्नु पर्ने भनिएको छ । सम्मान अर्थात् विश्वास गरेकाले घात गर्न हुँदैन । त्यसैमाथि डाक्टर, ड्राइभर र पाइलट अर्काको ज्यानसँग खेल्ने पेशा हुन् । अन्य पेशाकमी असक्षम भए काम बिग्रिएला, कसैको ज्यान त गइहाल्दैन । तर, यी तीन पेशाकर्मी असक्षम भए, धेरैको ज्यान जान्छ । यसकारण पनि डाक्टर नक्कली हुनुहुँदैन वा डाक्टर बन्ने गलत बाटो अपनाउनु हुँदैन ।

 जताततै छ नक्कली सर्टिफिकेट
बढुवा हुनका लागि सरकारी कर्मचारीले बिहारबाट सर्टिफिकेट ल्याउने एक समय प्रचलन जस्तै थियो । उनीहरु रिटायर्ड पनि भइसके होलान् । त्यसैगरी शिक्षक पनि थिए । तर, डाक्टरको सर्टिफिकेट हुँदा किन यत्रो चासो र चर्चाको विषय भन्ने सुन्छु । किन हुँदैन त ? डाक्टरलाई जनताले यी अरु सबै पेशाकर्मी भन्दा बढी विश्वास गरेका थिए, इज्जत दिएका थिए । जसमाथि विश्वास गर्यो त्यसैले घात गर्दा दुःख लागिहाल्छ नि । त्यसैले चर्चा र चासो हुनु स्वभाविक ठान्छु म ।

यसैमाथि मिडियाले पनि बढी एक्सपोज गरेको कुरा पनि साथीहरुले गर्छन् । सिआईबीले समात्ला, अदालतमा मुद्दा चल्ला, त्यसपछि फैसला कहिले हुन्छ कहिले ? यदि यसरी चर्चाको विषय बनाइएन भने यीनै नक्कली डाक्टर फेरि मान्छे जाँच्न थाल्छन्, औषधि दिन थाल्छन् । त्यसैले नक्कली भेटिएकालाई नक्कली हुन् भनेर चर्चा गर्नै पर्छ, जनतालाई देखाइदिनै पर्छ । जसले गर्दा उनीहरु सचेत भएर यस्तासँग नजँचाउन् ।

तराईका बढी किन परे ?
नक्कली डाक्टरको कारबाही पनि तराई केन्द्रीत भएको कुरा पनि उठेको सुन्छु । यसका मुख्य दुईटा कारण छन् । एक त यस्ता सर्टिफिकेट बनाउने ठाउँ अहिले धेरै सुनिएको भारतको बिहारसँग तराईको सहज पहुँच हुन्छ । अर्काे, तराईको मान्छेले भारतबाट आईएसी गरेको प्रमाणपत्र पेश गर्दा कसैले शंका पनि गर्दैन । यदि पहाड वा काठमाडौंको मान्छेले बिहारको सर्टिफिकेट बुझाओस् त, त्यहीँनेरबाट शंका शुरु हुन्छ र छानविन हुन्छ ।

अहिले छानविन पनि बिहारलाई तार्गेट गरेर थालिए जस्तो लागेको छ । किनभने धेरैले त्यहाँबाट नक्कली सर्टिफिकेट बनाएको गुनासो आएर यस्तो गरिएको होला । भविष्यमा अन्य ठाउँका पनि छानविन हुन्छन् र त्यहाँकै बढी देखिहाल्छन् नि । त्यसैले यसलाई छानविन प्रक्रिया त्यहीँबाट थालियो भन्ने बुझौं । तराईमा अर्काे पनि समस्या छ, दाइजोका लागि डाक्टर बन्ने प्रेसर छ । आइएसीमा चाहिने जति नम्बर आएन भने यसरी नै नम्बर थपाउने गरेको हुनुपर्छ ।

कहाँ छ सेवाभाव ?
विस्तारै डाक्टरको प्रतिष्ठा पनि घट्दै गएको छ । अहिले डाक्टर भन्दा राम्रो कमाउने पेशा अरु नै छन् । त्यसैले अहिले चिकित्सा पनि कमाउने लहड चलेको छ । यसको अर्थ के हो भने पछिल्लो २० वर्षमा बनेका धेरै डाक्टरहरु सेवाभाव भन्दा पनि प्रतिष्ठा र दाईजोकै लोभले बने । यी लोभले गर्दा सेवाभाव भएन, कमाउने धन्दामै सक्रिय भए । डाक्टर भन्ने जातको इमेज यस्तो बन्यो कि सुटेडबुटेड र कारमा चढेर हिँड्ने राम्रो डाक्टर हो ।

डाक्टरको तलब कति हुन्छ ? एमबिबिएस पास गरेपछि काठमाडौंमा जागीर गर्ने डाक्टरले पाउने तलब त्यही २२–२५ हजार होइन ? डाक्टर पनि कमाउने धन्दा तिर लाग्नुको कारण खर्च भएको छ, दुःख भएको छ । साँच्चै सेवाभाव भएको भए अहिले एमडीमा रेडियोलोजी वा प्याथोलोजीको क्रेज बढ्ने थिएन । डाक्टरलाई कमिसन दिएर कुनामा बस्ने यो पेशा रोज्ने डाक्टर बढ्नुको कारणले नै प्रमाणित गर्छ, धेरै डाक्टरी सेवाका लागि होइन, कमाउनका लागि पढेका छन् ।

यही कारणले मैले डाक्टर बन्ने प्रक्रिया गलत भयो भनेको हुँ । अब विद्यार्थीले प्रवेश परीक्षामा ल्याएको नम्बर मात्रै होइन, उसको एट्टिट्युड पनि जाँच्न थालौं । प्रवेश परीक्षा र एट्टिट्युडको नम्बर जोडेर मात्रै उसलाई चिकित्सा शिक्षाका लागि योग्य ठहर्याउँ ।

साभार: स्वास्थ्य खबरपत्रिका

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत