मृत सरकार हार्दिक श्रद्धाञ्जली !

झलक मगर खरमटारे  । तस्बिर: कान्तिपथ

झलक मगर खरमटारे । तस्बिर: कान्तिपथ

हरेक दिन जसो
बिजुली पत्रिका र छापा पत्रिकाहरु
फलानो ठाउँमा भारतले जग्गा अतिक्रमण ग¥यो
यति–यति नम्बरको जंगे पिलर हरायो
फलानी बलात्कारमा प¥यो
फलानो ठाउँको जनता भोकमरीले म¥यो
जस्ता समाचारहरुले भरिन्छन्
तब भन्न मन लाग्छ
मृत सरकार हार्दिक श्रद्धाञ्जली !

जब, बाह्रै महिना बाह्रै काल
खेतको आलीबाटै बग्ने
भारतीयका नामका नदीहरु हेर्दै
खेतको अन्न बाली
झुप्रुक्क झुप्रुक्क निदाइरहेको देख्छु
प्रमाणपत्रले भरिएको झोला बोकेर
दिनभरि कयौँको ढोका ढक्ढकाउँदा ढक्ढकाउँदै
थकित भएका युवा
बेढङ्गले झोला कुनातिर फाल्दै
ओछ्यानमा बर्लङ्ग लड्दै
खुई्य गरेको आवाज सुन्छु
तब भन्न मन लाग्छ
मृत सरकार हार्दिक श्रद्धाञ्जली !

जब बाली लगाउने समयमा किसानहरू
दिनभरि मल, बिउ बिजन खोज्दा खोज्दै नपाएर
दुःखी मन लिएर घर फर्कंदै
हारेको जस्तो अनुहार बनाउँदै
बुढीलाई, बुढी आज पनि बिउ पाइएन, भनेको सुन्छु
जब प्रशासनको हाता भित्र
राहदानीको लागि
सर्प जस्तै बाङ्गो टिङ्गो
राम सेतु भन्दा लामो लाइन देख्छु
तब भन्न मन लाग्छ
मृत सरकार हार्दिक श्रद्धाञ्जली !

सिकिस्त बिरामीलाई अस्पताल लैजाँदै गर्दा
भैँसी नै पुरिने खाडलहरुमा
एम्बुलेन्सको पाङ्ग्राहरु पस्दै निस्कदै गर्दा
सँगसँगै बिरामीको पिडादायी चित्कार सुन्छु
तब भन्न मन लाग्छ
मृत सरकार हार्दिक श्रद्धाञ्जली !

जब मोबाइलमा चार्जर पिन जोड्छु
एन्टेना समाउँदै टिभीमा समाचार हेरिरहेको हुन्छु
भात छड्किँदै गरेको हुन्छ
दुध उम्लँदै गरेको हुन्छ
मैन बत्ती सक्किएको बेला
मट्टितेलको जर्किन रित्तिएको बेला
झ्याप्प बिजुलीको लाइन जान्छ
तब भन्न मन लाग्छ
मृत सरकार हार्दिक श्रद्धाञ्जली !

यहाँ सरकार मृत नै त छ
सोझासाझा चेलीबेटी बेचिन्छ
दिन दहाडै नारी अस्मिता लुटिन्छ
कर्मचारीले खुलेआम घुस माग्छन्
अपराधी देख्दा पुलिस नै भाग्छन्
अदालतमा उजुरीको थुप्रो लाग्छ
अपराधी छुट्छन् , निर्दोषलाई कानुन लाग्छ
गुण्डा हत्याराले राजनीतिक संरक्षण पाउँछ
नेताहरू विकास, समृद्ध र सु–शासनको नारा लगाउँछन्
चपाउँछ, निल्छ र उग्राउँछ
त्यसैले त भन्न मन लाग्छ
मृत सरकार हार्दिक श्रद्धाञ्जली !!

साभार:कान्तिपथ

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत