प्रधानमन्त्रीको नामावलीमा अर्को एक नाम थपिँदै

PM

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीको नामावलीमा थप एक जना प्रधानमन्त्रीको नाम थपिने दिन नजिकिदै गइरहेको छ ।

नेकपा माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकले ओलीको विकल्प खोज्न अध्यक्ष प्रचण्डलाई प्राधिकार दिएपछि राष्ट्रिय सहमतीय सरकार गठन नभएको अवस्थामा बहुमतीय सरकार बनाउन अंक गणना समेत  सुरु भएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको बहुमतीय सरकारको विपक्षमा रहेको काँग्रेसको २०७, माओवादीको ८२, फोरम लोकतान्त्रिकको, १३, राप्रपाको १२, तमलोपाको ११, सद्भावनाको ५, तमसपाको ३, थरुहट तराई पार्टीको २, अन्य नौ गरी जम्मा ३ सय ४४ सिट (मत संख्या) बहुमतीय सरकारका लागि प्रयाप्त मत भएको चर्चा हुन थालेसँगै ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको हो ।

नेकपा माओवादी केन्द्रमा भर्खरै माओवादीहरुको पार्टी एकताबाट आएका केही शीर्षस्थ नेता र तत्कालिन एमाओवादीका केही पुरानै नेताहरुको उक्साहटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय सहमतीय सरकार बन्ने अवस्था नआए पनि बहुमतीय सरकार बनाउन हौसिएका छन् ।

स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भारत विरोधी भएकाले यसलाई विस्थापित गर्नु पर्ने भारतीय डिजाइनमा राष्ट्रिय सहमतीय सरकारको जाल फालिएको माओवादी केन्द्रका हेडक्वाटर सदस्यले नाम उल्लेख नगर्ने शर्तमा हाकाहाकी डटकमलाई बताए ।

प्रधानमन्त्री ओलीलाई पछिल्लो समय एमाले र माओवादी बिच भएको ९ बुँदे सहमतिको कार्यान्वयन नगरेको, भुकम्प पीडितलाई राहत दिन नसकेको, आदिवासी जनजाति र मधेशी जनताको जायज मागलाई सम्बोधन गर्न नसकेको साथै नयाँ संविधान कार्यान्वयन गर्ने दिशा नसमातेको लगायतका आरोप लगाउन थालिएको छ ।

  •  
    39
    Shares
  • 39
  •  
  •  
  •  

तपाइको मत