दुई परिवारका ८ जना पहिरोमा पुरिएर मृत्यु

Pyuthan1
२१ असार, प्यूठान । चार दिनदेखि लगातारको वर्षाले प्युठानका रजवारा र पुँजा गाविसमा दुई परिवारका ८ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
Pyuthan

प्युठानको रजवारा–३ नेटामा गएरातीको पहिरोले दुर्गा बहादुर मल्लको घर बगाउदा एकै घरका ५ जनाको मृत्यू भएको हो । मल्लसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै ज्यान गएको छ ।

अन्दाजी ४५ वर्षिय दुर्गा मल्ला , ४० वर्षिय श्रीमती सिता मल्ल , १० वर्षकी छोरी शुसिला मल्ल , ७ वर्षिय लेखा मल्ल र डेढ वर्षिय सृजना मल्लको मृत्यू भएको घटना स्थलबाट प्रहरीले जानकारी दिएको छ । आठ जनाको उक्त परिवारमा अन्य तीन छोरारछोरी छिमेकीको घरमा बस्न गएकाले ज्यान बँचेको स्थानीयले जानकारी दिएका छन् ।

यस्तै प्युठानकै अर्को घटनामा पूँजा–३ बाग्लीवाङमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यू भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

झिमरुक नदीमा १३ वर्षपछिकै ठूलो बाढी आउँदा बिभिन्न ठाउँ डुबानमा परेका छन् । बरौंलाको झिमरुक नदी किनार उदिक र हरियाटारीको बीचमा कुलो निर्माण गरिरहेका रोल्पाका ७ जना कामदार नदी बीचको टापुमा फसेका थिए । उनीहरुलाई प्रहरी र स्थानीयले तीन घण्टा पछि उद्धार गरेका छन् ।

बाढीकै कारण अर्खा गाविस-३ मा गुञ्छ्याङ, कोर्चेघाट झोलुङ्गे पुल र अर्खा-१ मा घोर्साङ झोलुङ्गे पुल गरी तीन वटा झोलुङ्गे पुल बगेका छन् । बिजुवारमा निर्माणाधिन प्यूठान नगरपालिकाको भवन र शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठानको भवन डुबानमा परेका छन् । जिल्लाका विभिन्न क्षेत्रहरुमा झोलुङ्गे पुलहरु जोखिममा छन् ।

चार दिनदेखि लगातारको वर्षाले झिमरुक नदीमा १३ वर्षयताकै ठूलो बाढी आएको छ । झिमरुक जलविद्युत आयोजना श्रोतका अनुसार मंगलबार विहान ४ बजे ६४४.९ प्रतिसेकेण्ड घनमिटर पानीको बहाव मापन गरिएको छ । विहान २ बजे ७९.७, विहान ३ बजे १५० प्रतिसेकेण्ड घनमिटर रहेकोमा ४ बजे एक्कासी बहाव बढेको हो ।

यसअघि २०६० साउन ३२ गते ८३४.३६ प्रतिसेकेण्ड घनमिटर पानीको बहाव रहेको आयोजनामा कार्यरत भोजबहादुर बस्नेतले जानकारी दिए । पानीको बहाव अझै सामान्य बनिनसकेको उनले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत