प्रधानमन्त्री ओली सरकारविरुद्ध माओवादी केन्द्रको दोस्रो राउण्ड फायर

som

सोमबहादुर थापा

काठमाडौं । नेपाली काँग्रेसको आड लिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पहिलो राउण्ड फायर खोलेको नेकपा माओवादी केन्द्रको यही असार २१, २२ र २३ गते बसेको पोलिटव्यूरो बैठकले औपचारिक रुपमा दोस्रो राउण्ड फायर खोलेको छ ।

माओवादी केन्द्रको पहिलो राउण्डकै फायरिङ्गले तिल्मिलाएको ओली सरकार माओवादीको प्राथमिक उपचार (नौ बुँदे राजनीतिक सहमति)ले बजेट पारित गर्ने दिनसम्मलाई जसोतसो तङ्ग्रिने देखिन्छ ।

शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न राष्ट्रिय सहमतीय सरकार, नयाँ संविधान र नौ बुँदे सहमति कार्यान्वयन गर्न साथै भुकम्प पीडितलाई राहत दिलाउन र मधेशी मोर्चा, आदिवासी जनजाति, थारु लगायतका माग पूरा गर्न भन्दै माओवादी केन्द्रले अतिउच्च विस्फोटक पदार्थसहितको हाई एक्सप्लोभसिभ (एचई) प्रयोग गरी ओली सरकारविरुद्ध दोस्रो राउण्ड फायर खोलेको छ ।

बजेट पारित हुने पूर्व सन्ध्यामा अर्थात् असार २३ गते नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्न माओवादी केन्द्रको हेडक्वाटरले आवश्यक गोली गट्ठा नेपाली काँग्रेस र एमालेबाटै जोहो गर्ने र अपुग हातहतियार तथा गोलीगट्ठाहरु आन्दोलनरत् मधेशवादी दल, आदिवासी जनजाति, थारु लगायतबाट पूर्ति गर्ने निर्णय लिएसँगै प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकार माओवादी केन्द्रको शिकार हुने निश्चित भएको हो ।

यतिबेला, एउटा पक्ष वर्तमान ओली सरकार राष्ट्रियताको सवालमा दरोसँग उभिएको निर्भीक सरकार भन्दै वर्तमान सरकारलाई निरन्तरता दिनु पर्ने र यही सरकारलाई राष्ट्रिय सहमतीय सरकारको रुपमा अगाडि बढाउनु पर्ने तर्क अघि सारिरहेका छन् ।

तर, अर्को पक्ष वर्तमान सरकार राष्ट्रियताको सवालमा दरोसँग उभिएको नभई आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियतालाई जोड्न नसकेको सरकारको रुपमा परिभाषित गर्दै राष्ट्रियताको नाममा एउटा छिमेकी देशको विरोध गर्दै अर्को छिमेकी देशको गुलामी गर्न पुगेको भन्ने व्याख्या गर्न थालेका छन् ।

अन्ततः देश र जनताको नाममा देश र जनतालाई नै दुहुनो गाई बनाउने नेपालको राजनीति संस्कार निरन्तरतामा क्रम भङ्ग भन्ने कुरामै सीमित रहेको कुरा घाम जतिकै छर्लङ्ग छ ।

देश र जनताको नाममा राजनीति गर्नेहरुले सत्ताको चाबी हातमा लिएपछि देश लुटेरा र विदेशी दलालहरुकै कित्तामा उभिने वा उभिएर उत्पीडक वर्गकै पक्षपोषण गर्ने र उत्पीडकहरुको चारित्रिक विशेषतालाई अनुसरण गर्दै राष्ट्रघात, जनघात गर्ने सत्ताको चरित्र यथावत् रहँदासम्म उत्पीडित वर्ग, जाति, क्षेत्रले देश भित्रै विदेशिनु पर्ने स्थिति रहिरहन्छ ।

तसर्थ, यतिबेला देश र जनताको नाममा राजनीति गर्ने स्वार्थी समूहहरु सच्चिएर आमूल परिवर्तन गर्न चाहेकै हो भनेदेखि निःस्वार्थ भई काम गर्ने इच्छा शक्ति छ भने अहिलेसम्म अस्वस्थताले सुन्निएर मोटाएको जस्तै देखिएका ठूला पार्टी विशेषत् नेपाली काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र साथै मधेशवादी दलहरु र तिनका नेताहरु एकाकार भई अघि बढ्ने हो भने परिवर्तन त्यति टाढा छैन् ।

तर, राजनीतिक आवरणमा भ्रष्टाचारी, तस्करी, कालोबजारी गर्ने, कमिशनखोर तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय दलालहरुकै कारण नेपालमा राष्ट्रियता, जनतन्त्र, जनजिविकाका सवालहरु बेहोस भई भुईंमा लडेको अवस्था छ । अब, यी मूर्छित सवालहरुलाई बैशाखी दिई उपचारार्थ इमर्जेन्सीमा लैजान ढिला गर्न नहुने अवस्था  आइसकेको छ ।

यसकारण जुनकुनै पार्टीमा रहेर काम गरिरहेका होस् वा कुनै पनि पार्टीमा नरहेर स्वतन्त्र बसेका इमानदारहरुको हिस्साले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका साथै यी तीन अङ्गभन्दा बाहिर रहेका अराष्ट्रिय तत्वहरु, जनविरोधी धाराहरुलाई समेत ध्वस्त पार्न फायररको निशाना बुलमा भए झैं दुरुस्त राजनीतिक फायरिङ्गका लागि पोजिसन लिन किन ढिला गर्ने ?

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत