‘जनताको माओवादी जनताको घरमा’ – प्रचण्ड / ‘…बस्न दिए पो ?’ भन्छन् मातृका

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले ‘जनताका माओवादी, जनताको घरमा’ अभियानलाई तिब्रता दिने बताउँदै माओवादी स्कुलको संघर्ष गर्ने, साच्ने र काम गर्ने तरिका कसैसँग नमिल्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले काठमाडौंमा आयोजित ट्रेड युनियन महासंघहरूको संयुक्त राष्ट्रिय एकता सम्मेलनलाई शुभकामना दिंदै माओवादीहरु विभाजित भएपछि प्रतिक्रियावादीहरु खुसी भएको बताए । उनले मजदूरहरुको एकतामा तागत छ भन्ने बुर्जुवाहरुलाई राम्ररी थाहा भएकाले नै उनीहरु माओवादीको फुटमा खुसी भएको प्रष्ट्याउँदै “जनताका माओवादी, जनताको घरमा”जान सुझाए ।

अध्यक्ष प्रचण्डले नेपालमा माओवादीले ठूलाठूला राजनीतिक परिवर्तनका नेतृत्व गरेको, त्यसमा खासगरी विचारधारात्मक रुपले नयाँ स्कुलको विकास गरेको भन्दै माओवादी केन्द्र नयाँ माओवादी स्कुलको संश्लेषणको बहसमा जुटेको र निषेधको निषेध द्वन्द्वात्मक भौतिकवादी नियमको प्रयोग गर्दै आएको बताए ।

प्रचण्डले अहिलेदेखि नै ‘जनताका माओवादी, जनताको घरमा’ भन्ने नारासहित अभियान जानु पर्ने उल्लेख गर्दै र यो अभियान मंसिर महिनासम्म सञ्चालन हुने बताए ।

आन्दोलनको केन्द्रविन्दु फेरिएको, जनयुद्ध सुरु गर्दा ग्रामिण इलाकालाई आदोलनको केन्द्र बनाएको र अबको आन्दोलन शहरमा केन्द्रित भएको बताए ।

मजदुरहरुलाई हडताल गर्न लगाउने नेताहरु आफू चाहिँ मालिकसँग गएर खाने ? – मातृका  यादव

नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य मातृका प्रसाद यादवले मजदुर आन्दोलनमा देखिएको विकृतिलाई कोट्याउँदै मजदुर नेताहरुले मजदुरहरुलाई हडताल गर्न लगाउने आफू चाहिँ मालिकसँग गएर खाने गरेकाले आन्दोलन उठ्न नसकेको बताए ।

कार्यालय सदस्य यादवले माओवादीको प्रधानमन्त्री दुई दुई पटकसम्म भएको स्मरण गराउँदै गृहमन्त्री पनि माओवादीकै हुँदा समेत सहिद, बेपत्ता, घाइते र अपाङ्ग कति छन् भन्ने तथ्याङ्क निकाल्न नसकेको प्रति रोष व्यक्त गर्दै गृहमन्त्रीको आफ्नो भन्ने एउटै हवल्दार पनि नभएको र भए पनि सरुवा गर्दा २–४ हजार लिने गरेकाले नमान्ने गरेको स्पष्ट पारे ।

यादवले आफू  तीन पटक मन्त्री हुँदा समेत केही गर्न नसकेपछि हेडमास्टर बन्न हिँडेको बताए । तर, १०औं हजारको बलिदानबाट बनेको हेडमास्टर (प्रचण्ड)लाई सिध्याउन खोजेको भए पनि नसकिएको बताए ।

यद्यपि, यादवले आफूहरुले नसकेपछि पार्टी प्रवेश गरेको भनेर नबुझ्न सचेत गराउँदै कसैले पनि नसकेपछि सबै जना मिलेर नयाँ बनाउन अघि बढ्नु पर्ने बताए ।

कार्यकर्ताहरुले नेतालाई दायाँ-जादा पनि ताली बजाउने बायाँ जाँदा पनि ताली बजाउने, खाल्डोमा जाँदा पनि ताली बजाउने गर्दा पार्टी र नेतृत्व बिग्रिएको भन्दै यसमा नेताको मात्रै नभएर कार्यकर्ता पनि दोषी रहेको बताए ।

मजदुरहरुको एकता सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यादवले भने, ‘मालिक नबन्नु होला, मजदुरहरुको सेवक बन्न शुभकामना छ !’

उनले एक प्रसङ्गमा जमिनदारको छोरो किसान संगठनको अध्यक्ष बन्ने परम्परा नतोड्दासम्म र मजदुरको नेता मजदुर नै नबन्दासम्म समस्या यथावत रहिरहने बताए ।

‘जनताको माओवादी जनताको घरमा’ भनी अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको अंशलाई कोट्याएर ‘जनताको माओवादी जनताको घरमा’ ….(एकछिन रोकिएर) यादवले भने, ‘बस्न दिए पो ?’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत