आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुर्दावाद भनिरहेको छ ? – विवशकुमार सेजुवाल

विवशकुमार सेजुवाल

काठमाडौं ।

तपाईंको पूरानो सुरक्षा गार्डको तर्फबाट रातो सलाम !
म २०५७ सालको मध्यतिर विद्यार्थी संगठनमा काम गरेँ । अनि २०५८ सालको सुरुवातमै भौतिक जीवनलाई खुकुरीको धारमा हिडाउने यात्रा तय गरेँ । जब मैले वर्गसंघर्षको बाटो रोजेँ अनि मेरो आमा र दाईले मलाई त्यो कठिन यात्राको मुखबाट फर्काउन धेरै कोसिस गर्नु भयो । तर मेरो मनले मान्दै मानेन । किनकि, मसँग मेरो वर्ग मुक्तिको सपना थियो, अनि नेपाल आमाको ठूलो भरोसा ।

sejuwal

त्यो सपनाको नयाँ घरलाई आमाको भरोसाले पूर्णता दिनका निम्ति मलाई त्यो बाटो रोज्न कर्तव्यबोध गरायो । र, पो अहिले प्रचण्ड जिउँदो लाश भए पनि म यो यात्रामा निरन्तर लागिरहेको छु ।

२०६१ सालसम्म आउँदा मलाई सधै एउटा सपनाले पिरोलीरहेको थियो । त्यो बीचमा म घाइते बाघ जस्तै जङ्गिएको थिए । किनकि, युद्धको नशाले मलाई लठ्ठै पारेको थियो । मैले कुनै प्रवाह गरेको थिएन, त्यो प्रतिक्रियावादीको बर्बर आततायी दमन र तातो गोलीको । बरु एउटा निश्चल र अविचलित सपनाले मेरो यात्रालाई रोक्न मानेको थिएन र, बन्दुकको गोली जस्तै मेरो यात्रा र सपनालाई निश्चित लक्ष्यमा पुर्याउने चाहना अझै पनि जस्ताको त्यस्तै छ ।

त्यो समय र त्यो कालमा मैले मृत्युबाट त जितिसकेको थिएँ । मेरो बाँचेको र बाँकी रहेको नाफाको जीवनको कुनै महत्व राखेको थिइन । बरु एउटा सपनाबाट हारेको जस्तै भएँ । त्यो सपना थियो तत्कालीन जनयुद्धको नायकलाई भेट्न नपाउदै भौतिक जीवनबाट विदा लिनु पर्ने त होइन ? यस्तै मन भित्रका सपनाले मुटुमा सधै घचघच्याइँ रहन्थ्यो । त्यो समयको त्यस्तो बहुमुल्य मेरो नायक आज किन यति घृणित पात्रको रुपमा म परिभाषित गर्न बाध्य छु । ऊ कायरहरुको जत्थामा हाम्रो वर्ग विरोधी नारा लागाएको देख्छु । यो आफैँलाई पनि पत्याउन गाह्रो भएको ठानिरहेको छु ।

हिजो प्रचण्डपथ जिन्दावादको नारा लगाउने मेरो यो पुस्ता किन आज खाडीको मरुभूमिमा बालुवामाथि प्रचण्डलाई यति तीखो घृणा गरिरहेको छ ? गाउँको दुरदराजदेखि काठमाडौको गल्लीसम्म ठूलो जमातले किन आज पुष्पकमल दाहाल (प्रचण्ड) मुर्दावाद भनिरहेको छ ? के यसको जवाफ प्रचण्डसँग छ ?

कमरेड प्रचण्ड, सायद तपाईंलाई त्यति हेक्का नहोला । तपाईंलाई देख्ने इच्छा हुँदा हुँदै पनि कयौ मेरो सहयोद्धाले मृत्युको अन्तिम प्रहरमा मेरो यो पुस्ताले भनेका शब्दहरु यस्ता  थिए : ‘प्रतिक्रियावादी संसदीय व्यावस्था–मुर्दाबाद, जनगणतन्त्र नेपाल–जिन्दावाद, प्रचण्डपथ–जिन्दावाद !’

यो कुरुप संसदीय व्यवस्थाको विरुद्धमा छेडिएको युद्धमा यही व्यवस्था फेर्नका निम्ति रोल्पा, रुकुम, कालिकोट र जाजरकोटहरु रणमैदानमा फेरिएका थिए । यही व्यवस्थाका विरुद्धमा कालिकोट र मालकोटकी प्याउकली बिकहरु हतियार खोस्न तम्सिए । आज यही व्यवस्थाका विरुद्धमा लडेबापत मेरो यो पुस्ताले अरबको तातो बालुवामाथि बसेर बेग्लै सपना देखिरहेका छन् र, यही व्यवस्थाको विरोध गरे बापत मेरो पुस्ताले फेरि जेल बस्नु पर्ने परिस्थिति सिर्जना हुदैछ । कस्तो अचम्म ! परिस्थितिको के दोष ! तर तपाई आफैँ घटिया र निच भएपछि आफैँले बुनेको आफ्नै सपनाहरुलाई आफै बलात्कार गरेर फेरि अर्को चोटी प्रधानमन्त्री हुने दाउमा लागि रहनु भएको छ ।

कमरेड प्रचण्ड, तपाईंले आफूलाई आफैँले अलौकिक शक्तिको रुपमा परिभाषित गरेर अझै पनि जनयुद्धको विरासत अगाडि राखि दुनियाँलाई धम्क्याउन छोड्नु भएको छैन । तपाईंलाई किन आफ्नो इमान र इज्जतको डर छैन हँ ? मानवीय स्वभाव यो हुन्छ कि जब मान्छेमा ईमान र इज्जतमा दाग लाग्छ तब त्यो मान्छे समाजमा स्वतन्त्र भएर भएर बस्छ । तर, तपाई यति बदनामित भएर पनि अझै उल्टो गरिवका सपनाको व्यापार गरेर राजनीतिको व्यापार गरिरहनु भएको छ । गाउँघरमा एउटा उखान छ–”ईख नभएको छोरा र बिख नभएको सर्पले काम गर्दैन’’ सही रहेछ। आज मलाई यही उखानको पात्रको अग्रपंक्तिमा तपाईंलाई राखेर परिभाषित गर्न बाध्य छ मेरो यो पुस्ता !

एउटा ठूलो पीडा छ मलाई । म तपाई (प्रचण्ड) जस्तो युद्धको परिवेशमा कहिले भारत त कहिले नेपालकै सुरक्षित ठाउँमा बसेर निर्देशन मात्र दिने मान्छे परिन् । म त आफू प्रत्यक्ष मोर्चामा ‘’मर या गर’’को बचन बोकेर लडेको योद्धा हुँ । हामीले जनयुद्धमा ‘‘जिते संसार हारे हत्कडी’’ अनि ‘मुक्ति या मृत्यु’को कसम खाएर पहिलो एसाल्टको अर्गभागमा रहेर लडेका सिपाही हौं ।

यति मात्र होइन, ४८ घण्टा सम्म पानी नखाएर तिनगिरे मोर्चाको ताजा अनुभूति समालेको सिपाही हुँ । कति सहयोद्धा त यही हातले पुरेर आएको छु । अझै पनि मेरो शरीरमा बमका छर्राले छियाँ छियाँ भएका घाउँ बेला बेला बल्झिरहन्छन् । आखिर, सबै तपाईंले यही कुरुप खेलको लागि उपयोग गर्नु भयो ।

प्रचण्ड तपाईं नवसंशोधनवादमा फसेको देखेर मेरा सहयोद्धा कमरेड युद्ध, कमरेड बारुद, कमरेड मुक्ति, कमरेड विजय, कमरेड सपनाहरुको मृत्युले अहिले पनि पीडा दिइरहेको छ । मेरा सहयोद्धाको मृत्युसँगै यहाँको बलिदानी भएको भए जीवनभर सकारात्मक शिक्षा हुन्थ्यो होला ! तर, आज ठिक उल्टो भएको छ । इतिहास कुरुप बनेको छ । मेरा सहयोद्धाको बलिदानीको बुइँ चढेर व्यक्तिगत गुजारा चलाएको प्रचण्डलाई ती निर्दोष आत्मा र सपनाहरुले हिजोको ‘प्रचण्ड’ आजको ‘पुष्पकमल दाहाल’लाई तराजुमा राखेर तौलिरहेका छन् ।

जनयुद्धका घाइते, हाल अरब ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत