मच्छिन्द्रनाथको भोटो देखाइयो, तोडिन् परम्परा राष्ट्रपतिले

१४ साउन, काठमाडौं । शुक्रबार ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन भएको छ  । भोटो जात्रामा सहभागी हुने विद्यादेवी भण्डारी नेपालकै पहिलो महिला राष्ट्रप्रमुख हुन् ।

रातो मच्छिन्द्रनाथको भोटो सयौं वर्षदेखि पुरुष राष्ट्रप्रमुखले हेर्दै आएको परम्परा तोडिएको छ । राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति  भण्डारीले भोटो नजर गरिन् ।

भोटो देखाउने जात्रामा सहभागी हुन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, न्यायाधीश लगायत विशिष्ट अतिथिहरु जावलाखेल पुगेका थिए । जात्रालाई ध्यानमा राख्दै ललितपुरको सुरक्षा व्यवस्था कडा पारिएको  थियो ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा राजा गुणकामदेवले लिच्छवी कालदेखि सुरू भएको मानिन्छ । बहुमूल्य हिरामोती जडित भोटोलाई प्रदर्शन गरी सुरक्षित रुपमा राख्ने र हरेक वर्ष प्रदर्शन गर्ने परम्परा छ ।

भोटो देखाएसँगै नेपालकै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा समाप्त हुन्छ । मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत