तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण प्रधानसेनापतिको उमेर ‘मार्क रजिस्टर’मै केरमेट : १८ वर्ष नपुग्दै सेनामा प्रवेश !

२९ साउन, काठमाडौं । “सानालाई ऐन, ठूलालाई चैन” भन्ने उक्ति नेपाली समाजमा यतिकै स्थापित भएको होइन भन्ने प्रमाणहरु हाम्रा सामू अनगिन्ति छरिएर रहेका छन् । हाम्रो समाजमा कानुनीराजको धज्जी उडाउँदै पीडकहरु पीडितकै अघि खुलेआम हिँडिरहेका यत्रतत्र प्रमाणहरु छन । त्यतिमात्रै होइन किर्ते गरेर ठाटा–बाठाहरुले सोझा सीधा नागरिकलाई कालोचस्मा लगाइदिएका घटनाहरु पनि समाजमा नभएका भने होइनन् ।

प्रसङ्ग बदलौं, नेपाली सेनामा १८ बर्ष नपुगी सेवा प्रवेश गर्न पाइदैन तर नेपाली सेनाका वर्तमान प्रधानसेनापतिको हकमा त्यो नियम लागू भएको देखिँदैन । नेपाली सेनाको प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो उमेर एक वर्ष सच्चाएको प्रमाण फेला परेको सरोजराज अधिकारीले खोज पत्रकारिता केन्द्रका लागि अनलाइनखबरमा स–प्रमाण लेखेका छन् । उक्त समाचार पाठनीय सामग्री भएकाले जस्ताको तस्तै साभार गरिएको छ ।

समाचारको पूर्णपाठ :

प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो उमेर एक वर्ष सच्चाएको प्रमाण फेला परेको छ । १ मंसिर २०१६ मा जन्मिएका क्षत्रीले प्रधानसेनापति हुन प्रवेशिका परीक्षा (एसएलसी)को मार्कसिट र प्रमाणपत्रमा १ मंसिर २०१७ बनाएको खुलासा भएको हो ।

rajendra-chhetri-1

क्षत्रीले तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको ‘मार्क रजिस्टर’मै केरमेट गरी एक वर्ष उमेर सच्चाएका हुन् (हेर्नुस् तस्बिर १) । जसमा १ मंसिर २०१६ लाई केरेर १ मंसिर २०१७ बनाएको देख्न सकिन्छ । क्षत्रीको उमेर सच्याइएको व्यहोरा ‘मार्क रजिस्टर’ को माथिल्लो भागमा पनि उल्लेख छ (हेर्नुस तस्बिर २) । परीक्षा नियन्त्रक कार्यालयबाट ०९ साउन २०७३ मा हामीले ल्याएको मार्कसिट र प्रमाणपत्रको सक्कल प्रतिलिपीअनुसार क्षत्रीले शान्ति विद्या गृह, काठमाडौंबाट तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् (हेर्नुस् तस्बिर ३ र ४) । क्षत्रीको सिम्बोल नम्बर १४०५६ ‘पी’ छ ।

rajendra-chhetri-2

शान्ति विद्या गृहका प्रधानाध्यापक शिवकुमारी घिमिरेका अनुसार क्षेत्रीले २०३१ सालमै एसएलसी दिएका थिए । ‘तर पहिलो परीक्षा बिग्रिएपछि चिफसाबले दोस्रो एटेम्प्टमा २०३२ सालमा पास गर्नुभएको रहेछ,’ उनले भनिन् ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार ५ पूरा भएर ६ पुगेपछि विद्यालय भर्ना हुने र लगातार पास गरे १६ वर्षमा एसएलसी उत्तीर्ण हुने नेपालको शिक्षा नीतिको परिकल्पना हो । ‘उमेरअनुसारको सिकाई हुन्छ, हामीकहाँमात्र होइन, भारतमा पनि यही हो,’ उनले भने । तर २०३१ सालमा एसएलसी दिँदा क्षत्री सच्चाइएको उमेरअनुसार १४ वर्षका मात्र देखिन्छन् । क्षत्रीले विद्यालयको रजिस्टरमा पनि केरमेट गरेर उमेर सच्याएका रहेछन् । विद्यालयको डायरीमा उनको रजिस्ट्रेशन नम्बर २५६५-०३१ उल्लेख छ । विद्यालय प्रशासनले डायरीको तस्विर खिच्न अनुमति दिएन ।

उमेर सच्याएसँगै सेनापति क्षत्रीको सेना प्रवेशको मिति पनि विवादित बनेको छ । सेनाको सिट रोल (सैनिक व्यक्तिको व्यक्तिगत विवरण रहने डायरी) अनुसार क्षत्री ७ कात्तिक २०३५ मा सेकेन्ड लेफ्टिनेन्टका रुपमा सेना प्रवेश गरेको देखिन्छ (हेर्नुस् तस्बिर ५) । सच्चाइएको उमेरसंग सेवा प्रवेशको मिति तुलना गर्दा क्षत्रीले १८ वर्ष नपुग्दै सेनामा जागिर खाएको देखिन्छ ।

rajendra-chhetri-5
‘सेनामा १८ वर्ष नपुग्दै इन्फेन्ट्री (पैदल सैनिक) तर्फ अधिकृतमा प्रवेश गर्ने व्यवस्था रहेको मेरो जानकारीमा छैन,’ क्षत्रीभन्दा दशकअघि सेना प्रवेश गरी करिव ३९ वर्ष काम गरेका पूर्वरथी बालानन्द शर्माले भने । तर उमेर सच्याउँदा क्षत्री १८ वर्ष पुग्नुभन्दा करिव २४ दिनअघि नै सेनामा भर्ना भएको देखिन्छ । सेनामा अधिकृत क्याडेटको भर्नाका लागि प्रमाणपत्र तह उत्तीर्णले १८ वर्ष पुरा गरी २१ वर्ष र स्नातक तह उत्तीर्णले १८ वर्ष पुरा गरी २४ वर्ष नकटेको हुनुपर्छ । यही विवाद बाहिर आउने भयले हुनसक्छ– क्षत्रीको सेवा प्रवेशसम्बन्धी मिति सेनाले उनी सेनापति भएदेखि नै गोप्य राख्न खोजेको देखिन्छ । किनकि, सेनाबाट वितरीत कुनै पनि दस्ताबेज र सेनाको वेबसाईटमा पनि क्षत्रीको सैन्य सेवा प्रवेशको मिति उल्लेख छैन ।

मन्त्रिपरिषद्को २८ साउन २०७२ को निर्णयअनुरुप तत्कालीन राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामवरण यादवले २४ भदौ २०७२ मा राजेन्द्र क्षत्रीलाई प्रधानसेनापति पदमा नियुक्ती गरी दज्र्यानी चिह्न लगाईदिएका थिए । त्यसबेला सैनिक जनसम्पर्क निर्देशनालयले सन्चार माध्यमहरुलाई समाचार, तस्बिरका साथै क्षत्रीको जीवनी पनि पठाएको थियो । तर, त्यो जीवनीमा क्षत्रीको उमेर र सैन्य सेवा प्रवेश दुवैको मिति छैन । जबकि त्यसअघिका सेनापतिको जीवनीमा सेवा प्रवेशलाई महत्वका साथ उल्लेख गरिएको हुन्थयो ।

नेपाली सेनाको आधिकारिक वेबसाइट नेपाल आर्मी डटमिल डट एनपी मा राखिएको सेनापति क्षत्रीको जीवनीमा पनि सेवा प्रवेशको साल, महिना र मिति खुलाईएको छैन । सेनापति क्षत्रीको कुन मितिमा सेनाको कुन दर्जामा सेवा प्रवेश भएको हो र उनले कति सालमा कुन स्कुलबाट एसएलसी उत्तीर्ण गरेका हुन् भन्ने विषयमा जिज्ञासा राख्दा सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले भने, ‘आवश्यक विवरण सेनाको वेबसाइटमा राखिएको प्रधानसेनापतिज्यूको जीवनीमै छ, अन्य कतिपय कुराहरु नितान्त व्यक्तिगत हुन् ।’

सेनापतिले खुलाउन नचाहेको र सैन्य प्रवक्ताले नितान्त व्यक्तिगत बताएको सेवा प्रवेशको मिति क्षत्रीपछिका दुई रथीको जीवनीमा भने बकाइदा उल्लेख छ (हेर्नुस् तस्बिर ६, ७, ८) । सेनापतिको जीवनी हेर्न यो लिंकमा जानुहोस् । त्यसैगरी दुई रथीहरु बलदेवराज महतपूर्णचन्द्र थापाको जीवनी हेर्नुस् ।

rajendra-chhetri-6

बरिष्ठ सैनिक अधिकारीका यस्ता कीर्ते कामको परीक्षण गर्न सजिलो छैन । रक्षा मन्त्रालयमा पनि सेनाले उपल्ला सैनिक अधिकृतका सम्पूर्ण विवरणहरु पठाउँदैन । पूर्वरक्षासचिव ईश्वरीप्रसाद पौड्यालले २०७२ वैशाखमा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेलभन्दा माथिल्लो दर्जाका सबै सैनिक अधिकृतको जन्म, सेवा प्रवेश, शैक्षिक योग्यताको प्रमाणपत्र, बढुवा भएको मिति जस्ता विवरण मागेका थिए, सैनिक मुख्यालय जंगीअड्डासंग ।

‘उपल्लो तहका सैनिक अधिकृतको विवरण रक्षा मन्त्रालयमा पनि डाटा बैंक बनाएर राख्न खोजिएको थियो । ताकि पछि सेनाले कुनै सैनिक अधिकृतको सरुवा, बढुवाका लागि प्रस्ताव गर्दा पठाएको विवरण र रक्षामा रहेको विवरण जुधाएर हेर्न सकियोस् । तलमाथि भए, नभएको एकीन गर्न सकियोस् भन्ने उद्देश्य थियो,’ पौड्यालले भने, ‘नत्र त सेनाले जे पठायो, त्यसैलाई सही मानेर टिप्पणी उठाउनुपर्ने अवस्था थियो ।’

खासगरी पूर्ववर्ती प्रधानसेनापति गौरवशमशेर जबराले उपरथीमा सिफारिस गरेका तत्कालीन सहायकरथी ज्ञानेन्द्रजंग रायमाझीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि सबै उच्चपदस्थ सैनिक अधिकृतका विवरण जाँच गर्न कस्सिएका थिए, पौड्याल । तर, २७ फागुन २०७१ मा रक्षा आएका पौड्याल साढे आठ महिनामै १३ मंसिर २०७२ मा रक्षाबाट लखेटिए । सेनालाई विधिमा बाध्न खोज्दा भएको टकरावकै कारण पौड्यालअघिका कामु सचिवको जिम्मेवारी सम्हालेका देवेन्द्रप्रसाद सिटौलाले पनि २१ कात्तिक २०७१ मा पदबाटै राजीनामा दिएका थिए ।

संगठन तथा पद्धती (ओएण्डएम) सर्भेक्षणबिना सेनाबाट प्रस्तावित पुनर्संरचनाको प्रस्ताव अघि नबढाउने अडान र सेनाले खरिद गर्न लागेको दुई वटा एमआई–१७ हेलिकप्टरको मूल्य बढी प्रस्तावित भएको भनेर फाइल रोकेकाले उनीसँग सेना चिढिएको थियो ।

पूर्वरथी शर्मा जंगीअड्डाले राख्ने सैनिक अधिकृतको सबै विवरणको एकप्रति रक्षा मन्त्रालयलाई पनि दिनु उचित हुने बताउँछन् ।

‘सरोकारवाला मन्त्रालयलाई त विश्वास गर्नुपर्यो नि,’ उनले भने, ‘त्यसो हुँदा चेक एण्ड ब्यालेन्स पनि हुन्छ ।’ तर अर्का एक उच्चपदस्थ पूर्वसैनिक अधिकृतका भन्छन्, ‘कर्णेल (महासेनानी) र त्यसमाथिका सैनिक अधिकृत सबैका व्यक्तिगत विवरणको जाँच गर्ने हो भने आधै जति घर जानुपर्ने हुन्छ । कसैले उमेर त कसैले सेवा प्रवेश र कसैले शैक्षिक योग्यताका प्रमाणपत्रमा कीर्ते गरेका छन् । कुनै विवरण पनि एकआपसमा मेल खाँदैनन् ।’ पूर्व रक्षासचिव पौड्यालका बुझाइमा, ‘सायद त्यसैले होला, सैनिक अधिकृतको विवरण माग्यो कि जंगीअड्डा जंगिइहाल्छ ।’

यसअघिका प्रधानसेनापति रुक्मांगद कटवाल पनि उमेर विवादमा फसेका थिए । २७ कात्तिक २००१ मा जन्मिएका कटवालले राजाको ठाडो आदेश हुकुमप्रमाङ्गीबाट चार वर्ष उमेर घटाएर २७ कात्तिक २००५ बनाएको भन्दै सर्वोच्च अदालतमा अधिवक्ता दिलहरि शर्माले रिटसमेत हालेका थिए । हुकुमप्रमाङ्गी सबै खारेज हुने निर्णय जनआन्दोलन २ पछि भइसकेको थियो, यस हिसाबले कटवाल सेनापति हुनबाट बन्चित हुने थिए । तर, कटवाल सेनापति नियुक्त भएकै भोलिपल्ट २६ भदौ २०६३ मै रिट दायर भए पनि फैसला गर्ने मामिलामा सर्वोच्च अदालत पनि उदार भइदियो । कटवालले तीन वर्षे कार्यकाल पुरा गरेको केही समयपछि अदालतले ‘अवकास पाईसकेकाले केही गर्न नपर्ने’ फैसला ग¥यो ।

कटवालले हुकुम प्रमाङ्गीबाट जन्म मिति घटाएकोबारे दरबारका पूर्वसैनिक सचिव विवेककुमार शाहले आफ्नो पुस्तक मैले देखेको दरबारमा लामो व्याख्या गरेका छन् । पुस्तकको १९५, १९६, १९७ र ५६८ पृष्ठमा शाहले यसबारे चर्चा गरेका छन् । पुस्तकअनुसार, २०३३ सालमा तत्कालीन राजा वीरेन्द्र पूर्वी क्षेत्रको भ्रमणका क्रममा धनकुटा पुगेका रहेछन् । त्यसबेला कटवाल सेनाको इन्डिपेन्डेन्ट गुल्मको गुल्मपति रहेछन् । सवारी शिविरको मुख्य अधिकृत सहायकरथी सच्चितशमशेर जबरालाई हारगुहार गरी उनीमार्फत् दरबारमा बिन्तिपत्र हालेर कटवालले उमेर सच्याएका रहेछन् ।

‘सहायकरथी कटवालको उमेरसम्बन्धी कागजात करिव २५ वर्षअघिको भएको हुँदा पुरानो फाईल खोज्ने क्रम चलिरहेको थियो । यसैबीच मेरो मुमाको स्वर्गे भयो । म पशुपति आर्यघाटमा काजक्रियामा बसेँ । कोरा बसेको ठाउँमा कटवाल मलाई भेट्न बेलुकीपख नियमितजस्तो आउनुहुन्थ्यो । त्यसबेला उहाँ सेनाको सैनिक गुप्तचर विभाग (डीएमआई) को प्रमुख हुनुहुन्थ्यो । एक दिन उहाँ मसँग रुनुभयो । उहाँले मलाई भन्नुभयो– जर्साब, मैले चाँडै नै अवकाश पाउने भए । चिफसाब र कार्यरथी सदीप जर्साबले सैनिक सचिव सहायकरथी गोविन्दबहादुर गुरुङलाई लगाएर मेरो व्यक्तिगत फाईलबाट हुकुमप्रमाङ्गीको कागज गायब पारिदिए । मलाई अन्याय भयो । म गाउँको मान्छे । मलाई स्वर्गीय श्री ५ महेन्द्रले पालनपोषण गरी पढाइबक्सेको जर्साबलाई थाहै छ । यस अवस्थामा जर्साबबाहेक अरु कसैले मलाई सहयोग गर्दैन । यसोभन्दा उहाँ भक्कानो फुटाएर रुनुभएको थियो,’ शाहको पुस्तकमा २०५८ जेठको कुनै एक दिनको प्रसंग यसरी उल्लेख छ ।

शाहले आफूले सहयोग नगरेको भए कटवाल सहायकरथीबाटै अवकास पाउने कुरा उल्लेख गरेका छन् । शाहपछि आफ्नो जीवनी प्रकाशनमा ल्याए पनि कटवालले हुकुमप्रमाङ्गीको प्रसंग कतै उल्लेख गरेका छैनन्, न शाहको दाबीको खण्डन नै गरेका छन् ।

सेनापतिमात्र होइन, सेनाभित्र अन्य दर्जाका उपल्ला अधिकृतहरुले पनि उमेर, सेवा प्रवेश र शैक्षिक योग्यता कीर्ते गर्ने प्रवृत्ति ठूलो छ । सहायकरथी हेम खत्रीले उमेर मिलाएको र शैक्षिक योग्यताको प्रमाणपत्र शंकास्पद देखिएपछि उनलाई जंगीअड्डाले २७ कात्तिक २०७० मा बर्खास्त गरेको थियो ।

त्यसैगरी शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि तत्कालीन रक्षासचिव पौड्यालले उपरथीमा बढुवाका लागि जंगी अड्डाले २०७२ वैशाखमा सिफारिस गरे पनि सहायकरथी ज्ञानेन्द्रजंग रायमाझीको फाइल अगाडि बढाएनन् । रायमाझीले राजीनामा दिए । उच्च सैनिकस्रोतका अनुसार पहिले खेलाडीका रुपमा १८ वर्ष उमेर देखाएर सेना प्रवेश गरेका बिनोज बस्न्यातले करिव २ वर्षपछि १८ वर्ष नै उमेर देखाएर अधिकृत क्याडेटमा भर्ना भएको खुलेपछि उनको उपरथीमा २ वर्षे पदावधी नथपिएको हो । पदावधि नथपिएसंगै उनले १५ चैत २०७२ मा अवकास पाए ।

सरकारी सेवामा यो प्रवृति बढेको छनक पाएर हुन सक्छ, १६ फागुन २०५० मै मन्त्रिपरिषदले निर्णय गरेर ‘नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा लेखिएको जन्म मिति फरक परेमा एसएलसी वा सोसरहको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित मितिलाई आधार मान्ने’ निर्णय गरेको थियो । यस अनुसार पनि प्रधानसेनापति क्षत्रीको काम अवैध प्रमाणित हुन्छ ।

सेनाको अनुगमन गर्ने निकाय संसदको राज्यव्यवस्था समिति भने निश्क्रिय प्रायः छ । समितिका सदस्य तथा सांसद यज्ञराज सुनुवारले भने, ‘सभापतिको निश्क्रियताले केही ज्वलन्त विषय ओझेलमा परेको देखिए पनि हाम्रो अनुगमन क्षेत्रभित्र पर्ने सेनाका विषयबारे हामी जानकार छौं । सार्वजनिक भइरहेका तथ्यहरुमा हामी छानबिन अघि बढाउँछौ ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत