आज ऋषितर्पणी, रक्षाबन्धन गरी जनै पूर्णिमा मनाइँदै

२ भदौ, काठमाडौँ । हरेक वर्ष झैं यस वर्षको साउन शुक्ल पूर्णिमाका दिन आज ऋषितर्पणी, रक्षाबन्धन गरी जनै पूर्णिमा मनाइँदैछ ।

swoyambhu

आजका दिन तागाधारीहरुले आफ्नो जनै फेर्छन् साथै कपाल मुण्डन गरी एक छाक मात्र खाएर व्रत बसेकाहरुले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

जनै पूर्णिमाका दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन ‘जनै’ वैदिक परम्पराअनुसार पुरोहितहरुले नाडीमा बाँधिदिन्छन् । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो । आज एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर मनाइन्छ । यसैगरी नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । नेवारी समुदायले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् ।

बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत