बन्दुकको अन्त्यका लागि बन्दुक बोक्न बाध्य पारिँदैछ – विप्लव

८ भदौ, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘युद्धको अन्त्यका लागि युद्ध र बन्दुकको अन्त्यका लागि बन्दुक’ बोक्न बाध्य पारिएको बताएका छन् ।

Biplab

नेकपा माओवादीसँग कम्युनिस्ट न्युक्लियस, क्रान्तिकारी माओवादी, माओवादी केन्द्रलगायत समूह एकीकृत भएको कार्यक्रममा महासचिव विप्लवले संसदवाद र संसदवादीहरूले धोका दिएको भन्दै  आफूहरुलाई ‘युद्धको अन्त्यका लागि युद्ध र बन्दुकको अन्त्यका लागि बन्दुक’ बोक्न बाध्य पारिएको बताएका हुन् ।

माओको भनाइ सापटी लिएर महासचिव विप्लवले ‘हामीलाई युद्धको अन्त्यका लागि युद्ध र बन्दुकको अन्त्यका लागि बन्दुक बोक्न बाध्य पारिँदैछ’ भन्दै संसदीय  व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी दिए ।

कांग्रेस-एमाले पुरातनवादी, माओवादी केन्द्र डोरीबाट छुटेको चंगा

विप्लवले अहिले अवस्थामा जनता यो व्यवस्था र सरकारसँग सन्तुष्ट नभएको बताउँदै कांग्रेस-एमालेलाई पुरातनवादी शक्ति र माओवादी केन्द्रलाई डोरीबाट छुटेको चंगा भन्दै संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने दाबी गरे ।

जमलस्थित राष्ट्रिय नाचघरमा विभिन्न समूहका नेता र कार्यकर्ताका बीचमा महासचिव विप्लवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलाई दलाल, गद्दार, आत्मसमर्पणवादी र धोकेबाज’ भएको बताए ।

मंगलबार राजधानीमा विप्लव माओवादीसहित कम्युनिस्ट न्युक्लियस, माओवादी केन्द्र, क्रान्तिकारी माओवादीसहितका नेताहरुको केन्द्रीकरण भयो । सो क्रममा चार माओवादी धाराबीच भएको एकता घोषणा-सभामा तयार पारिएको संयुक्त घोषणा-पत्रको पूर्णपाठ :

प्रिय कमरेड तथा न्यायप्रेमी जनसमुदाय,

सर्वप्रथम हामीले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने पार्टी धु्रवीकरण एकीकरणको विषय सान्दार रुपमा सफल हुदै गरेको सहर्ष जानकारी गराउन पाउँदा उच्च गौरवको अनुभूति गरेका छौ । यहाँहरुलाई अवगत नै छ कि हामी क्रान्तिकारीहरु विशेष कालखण्डमा छितरिएका सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एक बनाएर नेपालको अधुरो क्रान्ति सफल गर्ने अभियानमा जुटिरहेका थियौ ।

आज हामी उक्त अभियानमा एक तहको उचाइँ हासिल गर्न सफल भएका छौं । यो सफलाताको कारण नेपाल कम्युनिस्ट पार्टी माओवादी, कम्युनिस्ट न्युक्लियस नेपाल, माओवादी केन्द्रका पिविएम कमरेड सन्देश पौडेल, सिसिएम कमरेड रमेश नेपाली, नेकपा क्रान्तिकारी माओवादीका सिसिएम कमरेड इस्लाम हवारी लगायत पार्टीका नेता तथा कार्यकर्ताहरु एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पुनर्गठन गर्न सम्भव भएको छ ।

यो पार्टी पुनर्गठन क्रान्तिकारी नेता, कार्यकर्ता र जनताले आत्मसमर्पणवाद, विसर्जनवाद, पलायनवाद, भारतीय विस्तारवाद, साम्राज्यवादमाथि हासिल गरेको एक स्तरको विजय हो भने समस्त क्रान्तिकारीहरुलाई ध्रुवीकृत र एकीकृत गर्ने वृहद अभियानको नयाँ सुरुआत पनि हो । यस अवसरमा हामी देशको आमुल परिवर्तनका लागि जीवनको बलिदान दिने समस्त शहिदहरुप्रति विशेष श्रद्धान्जली व्यक्त गर्न चाहन्छौ । वेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छौं र त्यो क्रममा घाइते तथा अपांग हुनु भएका कमरेडहरुमा विशेष सम्मान व्यक्त गर्न चाहन्छौ ।
यो प्रक्रियामा हामीले क्रान्तिकारी धु्रवीकरण हुन सफल भयौ ।

हामीले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्यौं, हामीले आत्मसमर्पणवादी, विसर्जनवादी, अवसरवादी, संसदवादी, साम्राज्यवादी, विस्तारवादीका घेराहरु परास्त गर्यौं र एकहदसम्मको विजय हासिल गर्यौं । हाम्रो यो सफलता र धु्रवीकरण केवल भावनात्मक र संगठनात्मक समानताको आधारमा सम्पन्न विषय होइन । यो ध्रुवीकरण र एकीकरणको सफलताका पछाडि महत्वपूर्ण वैचारिक, राजनैतिक, संगठनात्मक र सांस्कृतिक आधारहरु छन्, जस्लाई निम्नानुसार उल्लेख गरिन्छ ।

१) मालेमावाद विशेषतः सर्वहारा सांस्कृतिक क्रान्तिप्रतिको समान वुझाई

२) नयाँ जनवाद र वैज्ञानिक समाजवादप्रतिको विश्वास

३) राज्यसत्तालाई हेर्ने समान दृष्टिकोण

४) एकीकृत जनक्रान्तिप्रतिको सहमति

५) सर्वहारा वर्गीय कम्युनिष्ट पार्टीको मान्यता

६) क्रान्तिकारी धु्रवीकरणको आवश्यकताप्रति सहमति

सर्व्विदितै छ कि महान् जनयुद्धको नेतृत्व गरेको तत्कालीन नेपाल कम्युुनिस्ट पार्टी (माओवादी) को मुख्य नेतृत्व प्रचण्ड–बाबुरामहरु शान्ति प्रक्रियामा प्रवेशसँगै साम्राज्यबादी तथा विस्तारवादी शक्ति र त्यसका नेपाली दलाल संसदवादीसामु आत्मसमर्पण गर्न पुगे । उनीहरु संसदवाद र संशोधनवादमा पतन भएपछि माओवादी आन्दोलन विभाजित हुने अवस्थामा पुग्यो ।

तत्कालीन पार्टी र प्रचण्ड बाबुरामहरुमा आएको यस प्रकारको बिचलन रोक्नका लागि र पार्टीलाई क्रान्तिकारी दिशामा एकताबद्ध गर्न पार्टी्भित्रका क्रान्तिकारी नेता र कार्यकर्ताबाट भिषण दुईलाईन संघर्ष चलाइयो । परन्तु पार्टीको मुख्य नेतृत्वले नयाँ जनवाद, वैज्ञानिक समाजवाद, सर्वहारा सांस्कृतिक क्रान्तिका मूल्य–मान्यताहरु, अन्तर्राष्ट्रिय सर्वहारावाद, सर्बहारा अधिनायकत्वको मान्यता, मालेमावादी सिद्धान्त एबं राजनीति, कम्युनिस्ट रणनीति र कार्यनीति जस्ता आधारभूत सैद्धान्तिक मान्यताहरु परित्याग गरेपछि क्रान्तिकारी धाराको पुनर्गठन गर्नुपर्ने परिस्थिति बन्न पुग्यो ।

तत्कालीन माओवादी पार्टीको मुख्य हिस्सा संसदवादमा पतन भैसकेपछि माओवादी आन्दोलन स्वभावतः माओवादी र संसदवादी लाइनमा विभाजित हुनु अनिवार्य हुन्थ्यो । जसको परिणाम नै नेपाल कम्युनिष्ट पार्टी माओवादी र कम्युनिस्ट न्युक्लियस नेपालको गठन हुन पुग्यो । आजको यो धु्रवीकरण र एकीकरणले त्यो पतनको प्रकृयालाई निषेध गर्दै नयान् पार्टीको निर्माण हुने स्थानमा पुगेको छ ।

समय समयमा कम्युनिस्ट नेताहरुमा हुने विचलन, उनीहरुले जनताप्रति गर्ने विश्वासघात र कम्युनिस्ट आन्दोलनलाई विजयसम्म पु¥याउन नसक्ने असक्षमताको प्रदर्शनका कारण सिंगो कम्युनिस्ट आन्दोलनप्रति नेपाली जनता, अन्तर्राष्ट्रिय जगत र विश्व सर्वहारा वर्गमा सैद्धान्तिक, राजनीतिक एवं वैचारिक क्षेत्रमा अहिले पनि केही जल्दा–बल्दा प्रश्नहरु निश्चित रुपमा रहेका छन् । हामीले ती प्रश्नहरुलाई विनम्रतापूर्वक लिने गरेका छौं र त्यसको वैज्ञानिक विधिमा समाधान खोज्ने अठोट गरेका छौ ।

हामी स्पष्ट गर्न चाहन्छौं कि नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका केशरजंग रायमाझी, मोहनविक्रम सिंह, मदन भण्डारी र पछिल्लो चरणमा देखा परेको प्रचण्ड बाबुरामको आत्मसमर्पणवाद, विसर्जनवाद, संशोधनवाद, छदमसंशोधनवाद तथा नवसंशोधनवादलाई पूर्ण रुपमा तिरस्कार एवं खारेज गर्दछौ । साथै त्यस प्रकारका प्रवृत्तिका विरुद्ध निरन्तर रुपमा सैद्धान्तिक, वैचारिक एवं राजनैतिक संघर्ष चलाउँदै, जनवादी केन्द्रीयताको सिद्धान्तमा प्रतिवद्ध रही समाज विकासको चरण तथा पार्टी र संगठनको आवश्यकताको आधारमा यसमा थप विकास गर्ने नीतिमा लचकता कायम राख्दै एकता–संघर्ष– रुपान्तरणको प्रक्रियामा अगाडि बढाउने प्रतिवद्धता प्रकट गर्दछौं ।

हामीले स्पष्ट गरेका छौ कि नेपाली क्रान्ति र विश्व सर्वहारा आन्दोलन माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र विचारलाई दृढतापूर्वक अवलम्बन नगरी कम्युनिस्ट आन्दोलनका ऐतिहासिक कार्यभार सम्पन्न गर्न र त्यसलाई जनता र मानव समाजको हितमा निरन्तर विकास गर्न असम्भव हुन्छ । अझै ठोस रुपले भन्नुपर्दा आजको विश्वमा मालेमाको प्रयोग र विकास नयाँ उचाइँमा नउठाई साम्राज्यवादलाई पूर्णरुपमा परास्त गर्न असंभव छ । यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न प्रयत्नहरु भइरहेका छन् । त्यस्ता प्रयत्नहरुप्रति रचनात्मक वैचारिक संघर्ष गर्दै त्यसको विकासमा मदत गर्ने हाम्रो नीति रहनेछ ।

त्यसैगरी, हाम्रो पार्टी महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई आत्मसात गर्दै बृहत जनसमुदायमा राजनीतिक, वैचारिक, दार्र्शिनक जागरुकता पैदा गर्ने, जनताको सत्तालाई पुँजीपति वर्गबाट खोस्न नदिन सचेत बनाई रहने र नेपालमा सर्वहारा वर्गको सत्ता स्थापना गर्न र भइसकेपछि त्यसको रक्षा, प्रयोग र विकास गर्ने शक्तिको रुपमा समस्त नागरिकलाई आन्दोलित बनाईराख्न प्रतिबद्ध छ ।

कमरेड माओको नेतृत्वमा समाजवादी चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको जुन लक्ष र उद्देश्य थियो, त्यसलाई सही तरिकाले स्थापित गर्न, तत्कालीन समाजमा देखा परेका कमी र अपूर्णताहरुको वैज्ञानिक निराकरण खोज्न पनि हाम्रो पार्टी प्रतिबद्ध छ । पुरानो प्रकारको वर्ग विभाजन, पूरानो प्रकारको उत्पादन सम्बन्ध र त्यो उत्पादन सम्बन्धबाट पैदा भएको पुराना संस्कृति तथा आदतको सत्ता अन्त्य गर्ने मान्यतालाई पकड्न पनि पार्टी प्रतिवद्ध छ । नयाँ समुन्नत विचार र चेतनालाई निरन्तर क्रान्तिकृत गर्दै लैजानुका साथै समाजवादी देशमा हुने प्रतिक्रान्तिलाई रोक्नु महान सर्वहारा सांस्कृतिक क्रान्तिको हो भन्ने मान्यतालाई स्पष्ट गर्दै सांस्कृतिक क्रान्तिलाई पार्टी जीवन र समाजको अनिवार्य अंग बनाउन पनि पार्टी दृढ रहने छ ।

नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गर्दै वैज्ञानिक समाजवादमा पुग्ने नेपाली क्रान्तिको अहिलेको वैज्ञानिक कार्यदिशा एकीकृत जनक्रान्ति हो । एकीकत जनक्रान्तिको कार्यदिशाले मात्र नेपालको दश वर्षको महान् जनयुद्ध र माक्र्सवाद–लेनिनवाद–माओवादका सैद्धान्तिक, वैचारिक एवं राजनीतिक क्षेत्रमा प्राप्त गरिएका उपलब्धिहरुको रक्षा र विकास गर्नेछ । एकीकृत जनक्रान्तिको कार्यदिशा नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गर्दै वैज्ञानिक समाजवादमा रुपान्तरण गर्ने, विश्वलाई मानिसबाट मानिसका विरुद्ध हुने सबै प्रकारको उत्पीडन र भेदभावको अन्त्य हुने साम्यवादी समाजमा लैजाने र समग्र मानवजातिलाई अन्तर्रािष्ट्रय जातीमा बदल्ने वैज्ञानिक कार्यदिशा हो ।

नेपालमा अहिले पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु यथावत रहेका छन् । नेपालको राष्ट्रियताको सवाल अत्यन्त जटिल छ । नेपाल अहिले पनि दलाल पूँजीवादको नेतृत्वमा अर्धसामन्ती एवं नवऔपनिवेशिक अवस्थामा रहेको छ । देशको आर्थिक आधार र राजनैतिक उपरिसंरचानामा एकाधिकारवादी साम्राज्यवादी तथा विस्तारवादी शक्तिको बर्चस्व र नियन्त्रण रहँदै आएको छ । यस प्रकारको विदेशी उत्पीडनका कारण देशमा राष्ट्रिय पूँजीको विकास हुन सकेको छैन भने देशले अन्तर्रािष्ट्रय बजारमा आफ्नो उपस्थिति बनाउन सकेको छैन ।

अर्धसामन्ती तथा दलाल पूँजीवादी उत्पादन सम्बन्धका कारण देशको कुल जनसंख्याको करिब १९ प्रतिशत जनता अहिले पनि भूमिहीन तथा सुकुम्बासी अवस्थामा रहेका छन् । देशको कुल जनसंख्याको ठूलो प्रतिशत बेरोजगार अवस्थामा छ । देशका लाखौ अशिक्षित युवाहरु मात्र होइन, हजारौको संख्यामा रहेको शिक्षित युवाहरु समेत शैक्षिक बेरोजगारीको चपेटामा छन् र उनीहरु विश्व श्रमबजारमा अतुलनीय रुपमा सस्तो श्रम बेच्न बाध्य बनाइएका छन् ।

जनताको गाँस, बाँस, स्वास्थ्य, शिक्षा जस्ता नैसर्गिक अधिकार तथा सामाजिक सम्मान र अस्मिताजस्ता सम्वेदनशील क्षेत्रमा समेत दलाल पुँजीपति वर्गले खुलेआम ब्यापार गरिरहेको छ । देशको कृषि प्रणाली अस्तव्यस्त बनेको छ । यस्तो देशलाई संजीवनि दिन पुनः ऋण, पुनः राष्ट्रघात, पुनः जनविरोधी हर्कत गर्न सबै दलाल सरकारहरुको नियति बनेको छ । दलाल पूँजीवादी राज्य सत्ताको कारण भ्रष्टाचार, लुटखसोट, राष्ट्रिय सम्पदाको विदेशी दोहन संस्थागत र कानुन सम्मत बनेका छन् ।

देशभित्र आन्तरिक राष्ट्रियता संसदवादी पाखण्डका कारण झन् भन्दा झन् भयावह बनेको छ । मधेश, तराई, पहाड र हिमालमा रहने जाति, जनजातिका समस्त समस्याको वैज्ञानिक समाधान दिँदै राष्ट्रिय एकता पैदा गर्ने र त्यसलाई अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा विकास गर्नुको सट्टा नेपालको प्रतिगामी सत्ताले सबै क्षेत्रका जनतामा फुट पैदा गर्ने, उत्पीडन एवं दमन गर्ने र विदेशीका अगाडि आत्मसमर्पण गर्ने नीति अख्तियार गरेको छ । जस्को परिणम जातीय, क्षेत्रीय, लैगिंक एवं वर्गीय भेदभाव तथा उतपीडन वढ्दै गएको छ ।

देशका समस्त राजनैतिक, आर्थिक, साममाजिक विकृतिका विरुद्ध नेपाली जनताको संघर्ष निरन्तर चल्दै आई रहेको छ । तर जब दलाल पूँजीवादका विरुद्ध जनताको संघर्ष अगाडि बढ्दै गर्छ र त्यो संघर्ष साम्राज्यवाद तथा विस्तारवादको स्वार्थमा टकराउन पुग्छ, त्यतिबेला एकाधिकार पुँजीवादबाट पालित, पोसित र निर्देशित दलाल पुँजीवादी सत्ता नेपाली जनताका बिरुद्ध राज्यका सम्पूर्ण हतियार (कानुन, प्रहरी, शेना, नाकाबन्दी) सहित दमनमा उत्रन पुग्छ । अन्ततः प्रतिक्रियावादी सत्ताको संरक्षेणका लागि सम्पूर्ण देशलाई दाउमा राख्न पुग्दछ । आजको शासक वर्गले पनि यही रवैया दोहर्याई रहेको हाम्रा सामु छर्लग छ ।

नेपाली क्रान्तिका समस्याको समाधान गर्न नेपाली समाजको प्रधान अन्तरबिरोधको पहिचान वैज्ञानिक तरिकाले गर्नु अनिबार्य हुन्छ । नेपालको बदलिएको राजनीतिक अवस्थाको कारण नेपाली जनताको प्रधान अन्तरविरोध पनि बदलिएको छ । विं स २०५२ सालसम्म प्रधान अन्तरविरोध देशीय सामन्तवाद, साम्राज्यबाद र विस्तारवादबाट संरक्षित दलाल पुँजीवादी वर्ग मिलेर बनेको घरेलु प्रतिक्रियावादी सत्ता र नेपाली जनताको बीचको थियो । यद्येपि देशमा कथित संघीय लोकतान्त्रिक गणतन्त्रको नाममा अराजकतावादी निरंकुशतावाद सहितको संसदीय व्यवस्था स्थापित भएको छ ।

तथापी दश वर्षको महान् जनयुद्धले देशमा गणतन्त्त स्थापना भएको छ र त्यसले देशको अन्तरविरोधमा समेत फेरबदल ल्याएको छ । दलाल पुँजीवाद राज्यको आर्थिक आधार र राजनीतिक उपरिसंरचनामा प्रमुख रहेको कारण अहिले दलाल पजीपति वर्ग र नेपाली जनताको अन्तरविरोध प्रधान हुन पुगेको छ । यसप्रकारको अन्तरविरोध समाधान गर्नका लागि देशका समस्त क्रान्तिकारीहरु, जनवादी तथा देशभक्त शक्तिहरु एकताबद्ध हुन आवश्यक छ र त्यसका लागि हाम्रो पार्टी समस्त जनतामा हार्दिक अपिल गर्दछ ।

साम्राज्यवादले विश्वमा आफ्नो बर्चस्व कायम गर्न यसमा निरन्तर परिवर्तन गरिरहेको हुन्छ । प्रतिस्प्रर्धात्मक औद्योगिक पुँजीवादबाट एकाधिकार वित्तीय पुँजीवादहुँदै अहिले निगम पुँजीवादमा आइपुग्दा पुँजीवादको उच्चतम रुप साम्राज्यवादमा केही फेरबदलहरु भएका छन् । साम्राज्यवाद र सर्वहारा क्रान्तिको वर्तमान युगमा लेनिनले विश्लेषण गर्नु भएको एकाधिकार, केन्द्रीकृत र मरणोन्मुख पुँजीवाद दोस्रो सहश्राव्दीको सुरुवातसँगै अतिको अवस्थामा पुगेको छ र यो अति एकाधिकार, अति केन्द्रीकृत र अति मरणोन्मुख अवस्थामा रहेको देखापर्छ ।

जसरी आधुनिक साम्राज्यवादले विश्वका प्राकृतिक सम्पदा तथा मानव संशाधनलाई आफ्नो लुटकालागि एक ठाउँमा एकत्रित गरेको छ, त्यसको परिणाम विश्वको श्रमजीवि, उत्पीडित जनसमुदाय र सर्वहारा वर्ग त्यही विश्व व्यवस्था अनुरुप साम्राज्यवादको चिहान खन्न एउटै धरातलमा एकत्रित भएको छ । साम्राज्यवादको यो रक्तपिपासु चरित्रले विश्वका समस्त जनताको आक्रोश, घृणा र प्रतिरोधलाई बढाइरहेको छ । तसर्थ साम्राज्यवादको यो चरित्रलाई समग्रमा उत्तरसाम्राज्यवाद, अथवा मृत्युशैयामा छटपटाउँदो साम्राज्यवादका रुपमा बुझ्न सकिन्छ ।

साम्राज्यवादका विरुद्ध विश्व भरका माओवादीहरु, कम्युनिस्ट क्रान्तिकारीहरु, साम्राज्यवाद विरोधी जनवादी शक्तिहरु र राष्ट्रवादी शक्तिहरुको ध्रुवीकरण, केन्द्रीकरण र त्यसप्रकारको अन्तर्र्रािष्ट्रय आन्दोलनको पुनर्गठनको आवश्यकता तड्कारो बनेको छ । त्यसकालागि पनि हीाम्रो पार्टी समस्त माओवादी तथा क्रान्तिकारी कम्युनिस्टहरुमा विशेष अपिल गर्न चाहन्छ ।

नेपाली जनताको क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओबादी) इतिहासले सुम्पेको यो ऐतिहासिक कार्यभारलाई काँधमा उठाउन तैयार रहेको छ । यो पार्टी, नेपाली नयाँ जनवादी क्रान्ति सम्पत्र गदै देशलाई समाजवादमा रुपान्तरण गर्ने र विश्वलाई साम्यवादको दिशामा विकास गर्ने अभियानमा अविचलित हुँदै अदम्य साहसका साथ अघि बढ्न प्रण गर्दछ ।

कमरेडहरु तथा न्यायप्रेमी जनसमुदाय,

सबै क्रान्तिकारीहरुलाई एकताबद्ध गर्नु पर्ने वस्तुगत आवशयकता र क्रान्तिकारीहरु एकताबद्ध हुने आत्मगत परिस्थितिको निर्माण हुनुको कारण नै क्रान्तिकारी कम्युनिस्टहरुको ध्रुवीकरण, एकीकरण र पुनर्गठन सम्भव भएको हो । यो ऐतिहासिक अवसरमा समाहित हुन विभित्र पार्टीहरुमा विभाजित अवस्थामा रहेका समस्त माओवादी कम्युनिस्टहरु, वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्न चाहने क्रान्तिकारीहरु, जनताको वास्तविक लोकतन्त्र चाहने जनवादी शक्तिहरु र देशको माया गर्ने देशभक्त शक्तिहरुका बीचमा एकता र धुव्रीकरणका लागि हामी अपिल गर्दछौं ।

त्यसैगरी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता चाहने नेपाली समाजको विभित्र क्षेत्रमा रहेका जनसमुदाय नेपाली सेना, नेपाल प्रहरी, नेपालको कर्मचारी तथा सर्वसाधारण नेपाली जनतालाई देशको परिवर्तनवाट पैदा हुने शान्ति र समृद्धि र प्रगतिका लागि वर्गीय एकता, संयुक्त मोर्चा र सहकार्यमा अबद्ध हुन पनि विशेष अपिल गर्दछौं ।

धन्यवाद !

नेकपा माओवादी महासचिव−विप्लव
कम्युनिस्ट न्युक्लियस नेपाल संयोजक−सुदर्शन
नेकपा माओबादी केन्द्रका पीवीएम− सन्देश पौडेल
नेकपा क्रान्तिकारी माआवबादीका केस−इस्लाम हवारी

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत