दुई बालिकाको उपचार नपाएर मृत्यु

सेवामुखी भन्दा पनि नाफामुखी व्यवसाय बन्यो स्वास्थ्य क्षेत्र 

Hospital 1

११ भदौ, हुम्ला । नेपालमा स्वास्थ्य क्षेत्र पछिल्लो समय सेवामुखी भन्दा पनि नाफामुखी व्यवसायको रुपमा फस्टाएकाले पैसा हुनेहरुले राजधानी र सदरमुकाममा अस्पताल खोल्ने होड नै चलेको छ ।

कुनै पनि व्यापार व्यवसाय राजधानी र सदरमुकाममा फस्टाए झै स्वास्थ्य क्षेत्र पनि राजधानी र सदरमुकाममा केन्द्रीत हुनु बिडम्बना नै भन्नु पर्दछ । किनभने, ग्रामीण क्षेत्रका जनता सिटामोल समेत नपाएर जीवन गुमाउनु परेको वर्तमान हाम्रो सामु रहेको छ ।

रोडिकोटमा उपचार नपाएर दुई दूधे बालिकाको मृत्यु

हालै मात्र हुम्ला जिल्लाको रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधे बालिकाको मृत्यु भएको खबर छ । मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला कार्की र सोही ठाउँ बस्ने अङ्गत कार्कीको दुई महिनाको छोरी सुस्मिता कार्की रहेका छन् ।

सुशीला र सुस्मिताको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले सो क्षेत्रमा औषधि पठाइसकिएको बताए पनि स्थानीयकाअनुसार स्वास्थ्य चौकीमा सिटामोल समेत छैन ।

उक्त स्वास्थ्य चौकीका अहेब जोर फडेराकाअनुसार स्वास्थ्य चौकीमा बिरामी सङ्ख्या बढ्दै गइरहेको तर सदरमुकामबाट पठाइएको औषधि सकिएको र थप औषधि आइनपुगेको कारण बिरामीको उपचारमा समस्या भएको छ ।

यद्यपि, आफू स्वस्थ रहे पनि स्वास्थ्य मन्त्री गगन थापाले शनिबार ‘जनता क्लिनिक’मा जनतासँगै आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । काठमाडौँं क्षेत्र नम्बर ४ बाट निवार्चित सांसद थापाले आफ्नो संसदीय निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयले आयोजना गरेको क्लिनिकमा स्वास्थ्य परीक्षण गराएका हुन् ।

स्वाथ्यमन्त्री थापाले स्वास्थ्य क्षेत्रमा देखिएको क्यान्सर निर्मुल गर्लान् त ?

कांग्रेस नेता भए पनि आम युवा माझ हाई–हाईका पात्र बनेका स्वाथ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा देखिएको क्यान्सर निर्मुलीकरणको ठोस कदम र ग्रामीण जनतालाई दिने स्वास्थ्य सेवाले उनको उचाई निर्धारण गर्ने देखिन्छ ।

सुगम होस् वा दुर्गम स्थानका राज्य संयन्त्रमा पहुँच हुनेहरुले राज्यकोषबाट लाखौं होइन, करोडौं रुपैयाँ सहयोग लिएका छन् तर पहुँच नहुनेहरुको दुर्दशा दुधेबालक द्वय सुशीला र सुस्मिताको जस्तै निमोनिया, ज्वरो साथै सामान्य उपचार नपाएर मृत्युवरण गर्नु परिरहेको अवस्था छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत