जनता ‘रकम’ नभएर ‘शव’ उठाउन नसक्ने, पूर्वराष्ट्रप्रमुख भएर पनि सबै उठाउने !

काठमाडौं । गरिब जनता ‘रकम’ नभएर अस्पतालबाट शव उठाउन नसक्ने साथै पूर्वराष्ट्रप्रमुखको उपचारको सन्दर्भमा उनीसँग भएर पनि सबै ‘रकम’ उठाउने ? विषय आम-चासो र गम्भीर सवाल भएकाले सरकारको अति संक्षिप्त टिप्पणी गरिएको छ :

Rambaran-Tamang-prachanda

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा श्रीमान तीर्थ तामाङको निधन भएपछि श्रीमती सुनिता तामाङले रकम अभाव हुँदा आफ्नो श्रीमानको शव उठाउन नसकेको समाचार र भिडियो लाइटनेपालबाट सार्वजनिक भएपछि २१ दिनदेखि अस्पतालकै शवगृहमा रहेको नवलपरासी पदमपुरका ५५ वर्षीय तामाङको शव श्रीमती सुनिताले आज बुझेकी छन् ।

लाइटनेपाल डटकमको अग्रसरता र शारदा फाउन्डेसनका अध्यक्ष रतन चन्दको पहलमा झण्डै एक महिनादेखि अलपत्र परेको तामाङको शव उनकी श्रीमती सुनिता तामाङलाई बुझाई आज नै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

मोतीबिन्दु भएकी तीन वर्षीया छोरी सरु तामाङसहित अस्पतालमा आएकी सुनिताले करिब एक महिनाअघि कमलपित्त ‘जन्डिस’ भई अस्पतालमा भर्ना भएका श्रीमानको मृत्यु भएपछि आर्थिक अभावले शव उठाउन सकेको थिएन ।

हुनत, सुनिता तामाङ प्रतिनिधि पात्र मात्रै हुन् । प्रधानमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालयको सिफारिसमा पहुँच हुनेहरुले लाखौं लाख रुपैयाँ उपचारको नाममा लिइरहेका छन् तर तिनै मन्त्रालयहरुमा विभिन्न माध्यमबाट सिंहदरबारको गेट पास लिएर पुगेका गरिबहरु र जनयुद्धका घाइते, अपाङ्गहरुले आर्थिक सहयोगका लागि अनुनय गर्दा प्रधानमन्त्रीको सचिवालयमा रहेका विभिन्न पदधारीहरुले नीतिगत निर्णय नभएको भन्दै ‘अर्को मन्त्रीपरिषदको बैठकसम्म पर्खनु केही गर्दैछौ’ भनेर फर्काइदिएको बताउँछन् पीडितहरु ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटिएका जनयुद्धका एक घाइते जो अहिले पनि शरीरमा गोली र छर्रा बोकेर बाँच्न विवश छन्, उनले नाम उल्लेख नगर्ने शर्तमा हाकाहाकी डटकमलाई भने, ‘सिंहदरबारमा पहुँच भएको मेरो त यो दशा छ भने दूरदराजको गाउँका जनयुद्धका घाइते, अपाङ्ग र दीनहीन गरिबहरुको स्थिति के होला ?’

तर यो ‘देश’ यस्तो देश हो जहाँ राज्यको उच्च पदमा आसिन भएकै भरमा केही नेताहरुले केही समय अघि मात्रै राज्यको ढुकुटीबाट करोडौ रकम उपचारका नाममा लिएको घाम जत्तिकै छर्लङ्गै छ ।

केही दिन अघि मात्रै सरकारले स्वास्थ्य परीक्षणका क्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई प्रोस्टेट क्यान्सर देखिएपछि थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । यादवलाई यसअघि भारतमा उपचार गराउन जाने क्रममा सरकारले १० लाख रुपैयाँ दिएको थियो ।

चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ । तर, उनको सबै उपचार खर्च सरकारले नै व्यहोर्ने बताइएको छ । साथै, सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक अमेरिका जाने-आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता र उनका ३ जना सहयोगीलाई हवाइ टिकट,  दैनिक १५० डलर दैनिक भत्ता दिने निर्णय समेत गरेको छ ।

तर, श्रीमान तीर्थ तामाङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएपछि श्रीमतीले सुनिता तामाङले पतिको शव उठाउनका लागि सहयोगी  मनहरुको सहयोग लिनु परेको छ ।

श्रीमानको निधन भएपछि श्रीमती सुनिता तामाङलाई कसले कति सहयोग गरे ? हेर्नुस् तथ्य प्रमाणहरु :

  • अनिता गुरुङ समुह जापान रु. ३६१०३
  • रामकृष्ण उपाध्याय (हिन्दू जागरण अभियान ) रु. ५०००
  • चार्टर एकाउन्ट समूह रु. १५०००
  • शेर्पा समूह रु. १५०००
  • अस्पताल कर्मचारी समूह रु. ४०००
  • सिर्जन श्रेष्ठ रु. १०००
  • रिजन श्रेष्ठ रु. १०००
  • राम थापा शिशिर रु. ५००

बहुमतको सरकार ढालेर सहमतिको नाममा बहुमतकै सरकारको नेतृत्व गरेका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा कति दह्रो खुट्टा टेक्छन् ? समयले बताउँदै जाला ! तर, प्रचण्डले उत्पीडित वर्ग, जाति, क्षेत्रका जनतालाई बाँडेको सपना पूरा गर्छन् कि सपना देख्दा देख्दै निन्द्रामा नै उनको सरकार ढल्ने हो ? यसका लागि केही समय कुर्नै पर्ने देखिन्छ ।

जे होस्, प्रचण्ड सरकारले चुनौतिपूर्ण अवसरको सदुपयोग गर्दै देश र जनताको पक्षमा काम गरेर पूर्वराष्ट्रप्रमुख डा. रामवरण यादव र श्रीमानको शव उठाउन नसक्ने लाखौं सुनिता तामाङहरुलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार समान हुनुपर्दछ, अन्यथा विभेदको दरारले वर्तमान सरकारलाई असफल करार नगर्ला भन्न कहाँ सकिन्छ र !

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत