भारतीय नेताहरुसँग त्यस्ता छलफल त कति गरियो, गरियो – उपप्रधानमन्त्री निधि

१५ भदौ, काठमाडौं । बालुवाटारमा मंगलबार बसेको प्रमुख तीन दलको बैठकमा एमाले उपाध्यक्ष भीम रावलले भारतीय दूतावासको विज्ञप्ति पढेर सुनाएपछि उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले रावललाई जवाफ दिँदै संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग त्यस्ता  छलफल त कति गरियो गरियो भनेपछि स्थिति असहज बन्यो ।

Nidhi

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा कांग्रेस–माओवादी गठबन्धन सरकार आन्तरिक राष्ट्रियता सुदृढ गर्ने, मधेसको माग सम्बोधन गर्ने भन्दै निकै उत्साहका साथ गठन भएको भए पनि अहिलेसम्म सकारात्मक रुपमा काम अघि बढेको छैन् ।

प्रधानमन्त्री दाहालले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख तीन दल (एमाले, कांग्रेस, माओवादी केन्द्र)को बैठक बोलाएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि सिंगापुर र र एमाले अध्यक्ष केपी ओली बैंकक गएकाले बैठकमा कांग्रेसबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत पूर्णबहादुर खड्का अर्जुननरसिंह केसी सहभागी थिए ।

यसैगरी एमालेबाट कार्यवहाक अध्यक्ष बामदेव गौतम, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी थिए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, स्थानीय निकाय पुर्नसंरचना आयोगको काम तथा मधेस समस्या समाधानको विषयमा सुरुमै आफ्नो धारणा राखे लगतै एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीका विशेष दूतका रुपमा दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग छलफल गरेको विषय उठाउँदै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्र, दुवै छिमेकी मुलुकमा विशेषदूत पठाएको विषय र मुख्य रुपमा नेपालको संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग भएको छलफलप्रति आपत्ति जनाए ।

जवाफमा उपप्रधानमन्त्री निधिले आफूले संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग छलफल नगरेको र सामान्य राजनीतिक कुराकानी भएको उल्लेख गरे । त्यसपछि एमाले उपाध्यक्ष रावलले दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति निकालेर वाचन गरेका थिए । जसको बुँदा नम्बर २ मा नेपालको संविधान संशोधनबारे भारतीय नेताहरुसँग छलफल भएको उल्लेख छ ।

रावलले दूतावासको विज्ञप्ति पढेर सुनाएपछि निधिले ‘त्यस्ता  छलफल त कति गरियो गरियो, संविधान जारी गर्ने बेलामा कुन मुलुकले कति फन्डिङ गरे त्यो तपाइँकै ल्यापटमा होला हेर्नुस्’ भनेपछि स्थिति असहज बन्यो । त्यसपछि बैठकमा सहभागी एमाले नेता रावल निकै आक्रमक देखिए ।

उनले कुन मुलुकले कति फन्डिङ गरेको हो सो देखाउन निधिलाई चुनौती दिए । निधिले सोको प्रमाण आफूसँग रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान बनाउन धेरै मुलुकले सुझाव दिए पनि संविधान नेपाली आफैँले बनाएको बताएपछि एमाले नेताहरु केही शान्त भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत