जंगलीको आरोप : पिता देशभक्त योद्धा, पुत्र नेपालको खाएर विदेशीका लागि काम गर्ने

१७ भदौ, काठमाडौं । एमालेका सांसद चूडामणि जंगलीले गृहमन्त्री विमलेन्द्र निधिलाई नेपालको खाएर विदेशीका लागि काम गर्ने गरेको आरोप लगाएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा एमाले सांसद जंगलीले निधिका पिता महेन्द्रनारायण निधी देशभक्त योद्धा थिए भन्दै छोराले भने नेपालको खाएर विदेशीका लागि काम गर्ने गरेको आरोप लगाएका हुन् ।

मन्त्री निधिले जंगलीको भनाइ प्रतिवाद गर्दै उनको भनाई रेकर्डबाट हटाउन समितिका सभापति प्रभु शाहलाई आग्रह गरे । साथै, उनले आफूले मार्क्सवाद-लेनिनवाद पनि अध्ययन गरेकाले मार्क्स, लेनिनका चेलाको राष्ट्रवादबारे कुनै शंका नरहेको तर आफू पनि वीपीको चेला भएकाले राष्टवादको पाठ आवश्यक छैन् भन्दै राष्ट्रवादको बहस गर्न तयार रहेको बताए ।

उक्त बैठकमा एमालेको नाम नलिई गृहमन्त्री निधिले एमालेलाई संकेत गर्दै ‘कुनै पार्टीको बैठकमा चीनमा विशेष दूत पठाइनु उपयुक्त र भारतमा पठाउनु अनुपयुक्त थियो भन्ने चर्चा चलेछ’ भनेपछि मन्त्री निधी र एमाले उपाध्यक्ष भीम रावलबीच भनाभन समेत भएको छ ।

रावलले एमालेको बैठकमा त्यस्तो छलफल नभएको तर भारतीय प्रधानमन्त्रीलाई पठाइएको चिठी सार्वजनिक हुनुपर्छ भन्ने संस्थागत निर्णय भएको बताए । साथै, उनले मन्त्री निधि संसदीय समितिमा दलको बैठकमा जस्तै गरी प्रस्तुत भएको भन्दै आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री निवासमा चर्काचर्की परेको चार दिन नबित्दै शुक्रवार पुनः निधी र रावलबीच चर्काचर्की परेको हो ।

रावलले समितिको निर्णयको मस्यौदामा सभापति प्रभु साहलाई दुई देशसँगको सम्बन्ध कहाँ बिगि्रएको छ ? भन्दै पञ्चशीलको सिद्धान्त, राष्ट्रसंघको बडापत्रअनुरुप चीन-भारत लगायत सबै मुलुकसँगको सम्बन्ध समधुर बनाउने शब्द राख्न लगाए ।

सच्याउनु अघि मस्यौदामा दुई देशसँगको सम्बन्ध अझ सुमधुर बनाउन सरकारलाई निर्देशन दिने भन्ने थियो ।

फास्ट ट्रयाक भारतलाई नै दिनुपर्ने गृहमन्त्री निधिको जोड

काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक आयोजनाको काम भारतलाई नै दिनुपर्ने बताउँदै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै सो धारणा फेरि दोहोर्याएका छन् ।

गृहमन्त्री निधिले  सर्वोच्च अदालतले इन्फ्रास्टक्चर लिजिङ् एन्ड फाइनान्सियल सभिर्सेज (आइएलएफएस) नामक विवादित भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माणको ठेक्का नदिन आदेश जारी गरिसकेको भएपनि फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने पक्षमा बोलेका हुन् ।

बैठकमा निधिले आफू अघिल्लो सरकारमा भौतिक योजना मन्त्री हुँदा यो योजना सम्पन्न गर्न भारतीय कम्पनीसँग विधिवत रुपमा प्रारम्भिक सम्झौता भएको बताउँदै उनले ओली नेतृत्वको सरकारले यो योजना आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको दाबी गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत