स्वास्थ्य मन्त्री थापा र डा. केसीको भेट : स्वास्थ्य क्षेत्र सुधार गर्नु पर्ने विषयमा छलफल

१७ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर डा. गोविन्द केसीलाई भेट गरी उनले उठाएका माग र स्वास्थ्य क्षेत्रमा  सुधार गर्नु पर्ने लगायतका विषयमा छलफल गरेका छन् ।

Gagan Thapa- Dr KC

डा.केसीले मन्त्री थापासँगको भेटका क्रममा आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ ?  भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री थापाले आफू सधैँ डा.केसीले उठाएका मागको पक्षमा रहेको र ती माग पूरा गर्न सकारात्मकरुपमा काम अघि बढाइसकेको बताए ।

आठ पटकसम्म अनशन बसेका र नवौँ पटक आमरण अनशन बस्ने चेतावनी दिइसकेका डा.केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्ले महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने, माथेमा प्रतिवेदनको सुझाव विपरीत प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यसैगरी डा. केसीले सरकारी शिक्षण संस्थाका सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने, काठमाडौँ उपत्यकामा आउँदो १० वर्षसम्म नयाँ सम्बन्धन नदिने, अधिकतम शुल्क र सिट यो वर्ष झैं व्यवस्था गर्ने, केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था गर्ने र त्यो मर्यादित हुने व्यवस्था गर्ने माग राख्दै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत