सभामुख घर्तीद्वारा संसद्को सचिवमा योगीको नाम सिफारिस, राष्ट्रपतिबाट सदर हुन बाँकी

१९ भदौ काठमाडौं । सभामुख ओनसरी घर्तीले संसद्को सचिव पदमा नियुक्तिका लागि माओवादी कार्यकर्ता गोपालनाथ योगीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेकी छिन् । योगीको नाम राष्ट्रपतिबाट सदर भएर आउन बाँकी छ ।

राजनीतिक रुपमा नियुक्ति हुने संसद्को सचिव पद विगत नौ वर्षदेखि खाली रहेको थियो । ०४८ सालपछि तत्कालीन सभामुख दमननाथ ढुंगानाले सूर्यकिरण गुरुङलाई सिधै संसदको सचिव बनाएका थिए ।

गुरुङ संसदको महासचिव हुँदै रुसको राजदूतको कार्यकाल पूरा गरि फर्कीएर अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष छन् । तर, यतिका वर्षसम्म संसद्को सचिव पद खाली नै थियो । ०६३ सभामुख बनेका सुवास नेम्वाङ ९ वर्षसम्म सभामुख पदमा रहे पनि कसैलाई नियुक्त गरेका थिएनन् ।

संसदका अरु सचिवहरु आन्तरिक बढुवाबाट नियुक्त हुन्छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुई सचिव राजनीतिक नियुक्ति हुने व्यवस्था छ । यी राजनीतिक नियुक्ति सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिबाट हुने संसद सेवा ऐनमा व्यवस्था छ ।

यसअघि सभामुख घर्तीले संसदको सचिवालय सचिवमा सहसचिवद्वय हिमलाल सुवेदी र सोमबहादुर थापालाई बढुवा गरेको एक हप्ता नबित्दै योगीको नाम सचिवका लागि सिफारिस गरेकी हुन् ।

यसैगरी सभामुख घर्तीले प्रेस विज्ञका रुपमा उपसचिव सरह वविन शर्मालाई र सह-सचिव सरहको कानुनी सल्लाहकारमा दिनमणि पोखरेललाई नियुक्त गरिसकेकी छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत