विकासका लागि संविधान कार्यान्वयन निर्विकल्प शर्त – मन्त्री लेखक

2-1

२५ भदौ, सप्तरी । भौतिक पुर्वाधार, निर्माण तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभार काँधमा बोकेर अघि बढिरहेको बताएका छन् ।

मन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता र विकासका लागि संविधान कार्यान्वयन निर्विकल्प शर्त भएको बताउँदै सरकारका गतिविधि पनि सोही दिशामा अघि बढिरहेको बताए ।

शनिबार सप्तरीको छिन्नमस्ता गाविसस्थित सखडेश्वरी भगवतीको दर्शन गरेर फर्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले भुकम्प, बाढी–पहिरो लगायतका कारण पीडामा रहेका जनताको पुनस्र्थापना तथा विकास निर्माणमा पनि सरकारले उच्च प्राथमिकताका साथ काम अघि बढाएको जानकारी दिए ।

मन्त्री लेखकले हुलाकी मार्ग सञ्चालनमा नल्याएसम्म मधेशको विकास असम्भव रहेको बताउँदै नेपाल सरकारकै लगानीमा सडक निर्माण गरी विकासको मेरुदण्ड तयार गरिने दाबी समेत गरे ।

शुक्रबार १८.७ किलोमिटरको जनकपुर–भिठ्ठामोड सडक र जनकपुरको कदमचोटक–तीनकौरिया सडकखण्डको शिलान्यास गरेका उनले नेपाल सरकारको लगानीमा ६ वटा र भारतीय सहयोगमा ११ वटा सडक खण्ड निर्माण गर्ने दुई देशबिच सहमति भएको पनि जानकारी दिए ।

तराई मधेस र भारतीय सीमासँग जोडिएका राजमार्गलाई व्यापारीक मार्गका रुपमा निर्माण गर्नुपर्ने तर्क गरेका मन्त्री लेखकले यसका लागि रकम अभाव हुन नदिने र गुणस्तरमा पनि सम्झौता नगरिने बताए ।

मन्त्री लेखकले जिल्लास्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग समेत भेटघाट गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत