हेडक्वाटरको आँखा मातृकातिर, मातृकाको नजर ५ नम्बर प्रदेशको नेतृत्वतिर ?

binod-upadhya

केशरी पुन

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख आतित्यथामा भदौ २७ गते, सोमबार सिरहामा भव्यताका साथ बिशाल जनसभा कार्यक्रम सम्पन्न् हनु गइरहेको छ ।

जसको सम्पूर्ण व्यवस्थापनमा नेकपा (माओवादी केन्द्र)का हेडक्वाटर सदस्य तथा दुई नम्बर प्रदेशका इन्चार्ज मातृका प्रसाद यादव र उक्त प्रदेशका सबै तहका नेता तथा कार्यकर्ता कार्यक्रमको विशेष तयारीमा जुटिरहेका छन् ।

यतिबेला नेकपा (माओवादी केन्द्र) पार्टी हेडक्वाटरको आँखा हेडक्वाटर सदस्य तथा दुई नम्बर प्रदेश ईन्चार्ज मातृका यादवतिर केन्द्रीत भएको छ तर यादवको नजर ५ नम्बर प्रदेशको नेतृत्वतिर सिरहामा हुने बिशाल जनसभा कार्यक्रम पश्चात मात्रै पुग्ने भएको छ ।

कुनै पनि प्रदेशका नेता तथा कार्यकर्तामाथि परेको समस्याको समाधान सोही प्रदेशका इन्चार्ज वा इन्चार्जमार्फत् गरिनु पर्ने हो । तर, पाँच नम्बर प्रदेशका हकमा सो प्रदेशका इन्चार्जले आफ्ना नेता तथा कार्यकर्तामाथि परेको समस्याको समाधान गर्न जुन भूमिका खेल्नु पर्ने थियो, त्यो भूमिका नखेलेकै कारण नेकपा (माओवादी केन्द्र)मा नेता र कार्यकर्ता–कार्यकर्ता बिचमा भावानात्मक साथै साङ्गठानिक एकता नभएको मोटरसाइकल दुर्घटनाले देखाइदिएको छ ।

के हो मोटरसाइकल दुर्घटना ?

नेकपा चौथो महाधिवेशनमा २०३१ सालमै जिल्ला कमिटी सदस्य रहेका र त्यसयता निरन्तर क्रान्तिकारी धारलाई पक्रिएर कम्युनिष्ट राजनीतिमा क्रियाशील योद्धा ६५ वर्षीय विनोद उपाध्याय २०७३ साउन ९ गते भैरहवाको लुम्बिनी गेट नजिकको सडकखण्डमा आफूले रोकी राखेको मोटरसाइकल चढेर अगाडि बढाउन खोजेका बेला एक्कसी ट्रकले ओभरटेक गरी ठक्कर दिएपछि भएको दुर्घटनामा उपाध्यायको दायाँ हातको तीन औंला ट्रकको टायरले कुल्चिएर सख्त घाइते भएका छन् ।

दुर्घटनालगतै मेडिकल कलेज भैरहवामा भर्ना भई १ महिना उपचार गर्दा पनि स्वास्थ्यमा गुणात्मक सुधार नआएपछि उपाध्याय भदौ ७ गते बी एण्ड बी अस्पताल ग्वार्को, ललितपुरमा आएर डा.बाबुकाजी श्रेष्ठको निगरानीमा उपचाररत् रहेका छन् ।

उनको उपचारमा लाग्ने सम्पूर्ण औषधि खर्च लुम्बिनी ट्रक व्यावसायी समिति रुपन्देहीले व्यहोर्दै आइरहेको भएपनि दैनिक करिब ३ देखि ५ हजार रुपैयाँ अस्पतालमा अन्य खर्च हुँदा आर्थिक अभावले उपाध्याय प्रताडित बनेका छन् ।

उपाध्याय आवद्ध पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला देशको कार्यकारी प्रधानमन्त्री छन् । प्रधानमन्त्री प्रचण्डले पूर्वराष्ट्रपति रामवरण यादवलाई उपचार खर्च वापत ६० लाख रुपैयाँ दिने बताइसकेका छन । साथै, उनको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने समेत बताइएको छ ।

तर, प्रधानमन्त्री प्रचण्डको पार्टीका पिबिएम समेत रहेका उपाध्याय दुर्घटनामा परेर उपचाररत् रहेको जानकारी नत प्रधानमन्त्री प्रचण्डलाई छ, नत करिब ५ हजारको संख्यामा रहेका माओवादी केन्द्रीय महाधिवेशन आयोजक समितिका नेताहरुलाई नै छ ।

को हुन् विनोद उपाध्याय ?

जनयुद्धकालमा रुपन्देही जिल्लाको जनसरकार प्रमुख समेत रहेका उपाध्यायको राजनीतिक पृष्ठभूमि हेर्दा तत्कालीन व्यवस्थाको विरुद्धमा लागेकाले २०३५ साल राजकाज अपराधको मुद्दा साथै ज्यान मुद्दा समेत उनीमाथि लागेपछि भूमिगत भएका थिए ।

२०३७ सालमा चौथो महाधिवेशन रुपन्देहीको डिसिएस रहेका उपाध्याय चौथो महाधिवेशन प्रतिनिधि, मोटो मशाल, एकता केन्द्र हुँदै जनयुद्धमा होमिएका थिए ।

चार छोरा, एक छोरीका बुवा विनोद उपाध्यायमाथि पञ्चायतकालमा लागेको राजकाज मुद्दा बहुदल आएपछि खारेज भयो तर पुनः तत्कालीन बहुदलीय व्यवस्थाको समेत विरोध गर्ने कम्युनिष्ट भएकै कारण उनलाई बहुदलकालमै ४ वटा सार्वजनिक अपराधको मुद्दा पनि लागेको थियो ।

उपाध्यायको परिवारका सदस्य ५९ वर्षीया सुगरको बिरामी श्रीमती सकुन्तला देवी उपाध्यय अहिले अस्पतालमा श्रीमानको हेरचाहमा जुटिरहेकी छिन् । यसैगरी जेठो छोरो निमाविस्तरको अस्थायी शिक्षक छन् भने माहिला छोरो बोर्डिङ्ग स्कुलमा पढाउँछन् ।

त्यसैगरी साहिलो छोरो रोजगारीको सिलसिलामा कतार पुगेका छन् भने कान्छो छोरा अध्ययनरत छन् तर उनको एक छोरीको बिबाह भइसकेको छ ।

निजी शिक्षाको विरोध गर्ने तर आफ्ना छोरा–छोरीलाई महङ्गो स्कुल कलेजमा पढाउने नेताहरुका बिचमा एक पृथक पहिचान बनाउन सफल कम्युनिष्टहरुका लागि उदाहरणीय पात्र तथा नेकपा माओवादी केन्द्रका पिबिएम विनोद उपाध्याय यतिबेला माओवादी आन्दोलन, यसले निर्देशित गरेको नीति तथा कार्यक्रम र अहिले पार्टीले लिएको बाटो साथै हिजोका त्यही नेता र आजका त्यही नेताहरुको जीवनशैली, व्यवहार र कार्यशैलीलाई बी एण्ड बी अस्पतालको पाँचौ तलामा रहेको कोठा नं ५२८ को बेड नं. १ बाट नियालिरहेका छन् ।

श्री सरस्वती प्रा.वि.मा स्थायी शिक्षक रहेका उपाध्याय २०३५ सालमा राजकाज अपराधको मुद्दा साथै ज्यान मुद्दा समेत लागेपछि भूमिगत भएका थिए । तर, उनी २०५४ सालमा सोही स्कुलमा १९ वर्षपछि पूनर्वहाली भए पनि उनी निरन्तर क्रान्तिलाई साथ दिँदै जनयुद्धमा सहभागी भए । जसका कारण २०५६ सालमा प्रहरी प्रशासनको मिलेमतोमा तत्कालीन जमिनदारहरुले विद्यालय जाने बेला उनको दायाँ हात र बायाँ खुट्टा भाँचिदिएका थिए ।

त्यतिबेला हातखुट्टा भाँचिएर अञ्चल अस्पतालमा १४ दिनसम्म भर्ना भएका उपाध्यायलाई मानवअधिकारवादी र पत्रकारहरुको एक समूहले अस्पतालबाटै भगाएका थिए ।

पहिलो संविधान चुनावमा नेकपा माओवादी पहिलो पार्टी बनिसकेपछि माओवादी विरोधीहरुले २०६५ बैशाख १७ गते अज्ञात समूहको कभरमा घरमै बम बिस्फोट गराउँदा उनले आफ्नै काका सुरेन्द्र उपाध्यायलाई सधैंको लागि गुमाएका थिए ।

त्यसयता निरन्तर क्रान्तिकै पक्षमा लागेका उपाध्यायलाई उनका विरोधीहरुले अज्ञात समूहको नाममा भैरहवामा रहेकै बखत २०६७ सालमा गोली प्रहार गर्दा दायाँ तिघ्रामा गोली लागेर पनि बाँच्न सफल भए ।

जनयुद्धकालमा रुपन्देही जिल्लाको जनसरकार प्रमुख रहेका उपाध्याय नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि गठित अन्तरिम संसदमा नेकपा माओवादीबाट प्रतिनिधित्व गर्ने ८३ सांसद मध्येका एक पूर्वसांसद समेत हुन् ।

पछिल्लो समय मातृका यादव नेतृत्वको माओवादीमा क्रियाशील उपाध्याय गत जेठ ६ गते माओवादी घटकहरुको पार्टी एकता भएपछि बनेको नेकपा माओवादी केन्द्रका पिबिएम हुन् ।

नाफाको जीवन यतिबेला काँडामा !

यतिबेला देश हाकिँरहेको पार्टीका पिबिएम जसले नाफाको जीवन जिइरहेका छन् तर, त्यही नाफाको जीवनमा यतिबेला बिझेका काँडा झिकिदिनसक्ने हैसियतमा रहेका आफ्नै पार्टीका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनि ती दलका शीर्षस्थ नेताहरु अस्पतालसम्म पुग्ने समय निकाल्न सकिरहेका छैनन् ।

उपाध्यायले अस्पतालमा पार्टीका सचिवालय सदस्य गोपाल ठाकुर र विश्वनाथ साह एकपटक भेट्न आएको बताए । उनले ठाकुर र साहद्वयले सल्लाह गरी सहयोग गरौला भनेर गएपछि नफर्किएको गुनासो गरे । साथै उनले भने, ‘वर्षमान पुन ‘अनन्त’सँग फोनमा कुरा भए पनि सामान्य रुपमा लिएकाले होला भेट्न आएका छैनन् ।’

नेकपा माओवादी केन्द्रका ५ नम्बर प्रदेशमा कार्यरत पिबिएम उपाध्यायले माओवादी केन्द्रका हेडक्वाटर सदस्य तथा दुई प्रदेश इन्चार्ज मातृका प्रसाद यादवसँग पनि फोनमा कुरा भएको जानकारी दिँदै यादव भदौ २८ गते भेट्न आउँछु भनेको बताएका छन् ।

जनयुद्धकालीन चस्मा बेचेर खाइसकेको हो या कतै राखेका हुनाले नदेखेको हो ?

अहिलेसम्म लुम्बिनी ट्रक व्यावसायी समिति रुपन्देहीले गरिदिएको उपचार खर्चबाहेक करिब २ लाख रुपैयाँ ऋण लागिसकेको बताउने माओवादी केन्द्रका पिबिएम उपाध्याय ‘पार्टी हेडक्वाटरको आँखा मातृकातिर अनि मातृका यादवको नजर ५ नम्बर प्रदेशको नेतृत्वतिर’ भएकाले कतै यो अवस्था आएको त होइन ? भन्ने प्रश्न गर्दै उनले ‘माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले जनयुद्धकालीन चस्मा बेचेर खाइसकेको हो या कतै राखेका हुनाले विनोद उपाध्यायलाई नदेखेको हो ? भनी चस्मा खोज्न हाकाहकी डटकम मार्फत् सुझाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत