‘प्रचण्डलाई बोलाऊ र सरकार सुम्पिदेऊ’ भन्नेले तिनै प्रचण्डलाई किन विचरा भने ?

२६ भदौ, काठमाडौं । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदा डा. सुन्दरमणि दीक्षित माओवादी र त्यस पार्टीका नेतृत्व प्रचण्डका समर्थक थिए ।तर, यतिबेला उनै दीक्षीत त्यही पार्टी र त्यही नेतृत्वको विपक्षमा उभिएका छन् ।

s-p-a

माओवादी समर्थक  डा. दीक्षितले माओवादी युद्ध चलिरहेको बेला सिंहदरबारमा बसेकालाई भनेका थिए, ‘तिमीहरूले देश सम्हाल्न सक्दैनौँ, त्यसकारण माओवादी नेता प्रचण्डलाई बोलाऊ र सरकार सुम्पिदेऊ ।’ तर तिनै दीक्षितले एउटा अन्तर्वार्तामा यतिबेलाका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विचरा भनेका छन् भन्दै आदित्यमान श्रेष्ठले  अन्नपूर्णपोष्टमा “प्रचण्ड साँच्चै विचरा हुन् ?” शीर्षकमा आफ्ना विचार व्यक्त गरेका छन् ।

आदित्यमान श्रेष्ठले अन्नपूर्णपोष्टमा लेखेका मुख्य अंश :

माओवादी शान्ति प्रक्रियामा आउँदा डा. सुन्दरमणि दीक्षित दाहालका समर्थक थिए । वर्षौंसम्म समर्थन गर्दा डा. दीक्षित माओवादी भएछन् भन्ने भान पर्‌यो । माओवादी युद्ध चलिरहेको बेला डा. दीक्षितले सिंहदरबारमा बसेकालाई भनेका थिए, ‘तिमीहरूले देश सम्हाल्न सक्दैनौँ, त्यसकारण माओवादी नेता दाहाललाई बोलाऊ र सरकार सुम्पिदेऊ ।’

तर कालान्तरमा उनी माओवादीविरोधी भए । कारण एउटा क्रान्तिकारी शक्तिबाट उनले जुन आशा गरेका थिए, सो उनले पाएनन् । त्यसमा उनले सबभन्दा ठूलो कमजोरी दाहालकै भएको देखे । अहिले दोस्रोपटक देशको प्रधानमन्त्री हुन पुग्दा डा. दीक्षितले दाहाललाई विचरासम्म भन्न पुगे । कारण दाहाल एउटा सिंहजस्तो नेता आज स्यालको अवस्थामा पुगेको उनले वर्णन गरे ।

हुन पनि जुन व्यक्ति पहिलो पालि आफ्नै बलबुतामा प्रधानमन्त्री भएका थिए र दुईतीनजनालाई प्रधानमन्त्री बनाएका थिए, सोही मानिस एउटा विदेशी शक्तिको आशीर्वाद र चलखेलबाट त्यही प्रधानमन्त्रीको पदमा बहाली गर्न पुग्दा आत्मग्लानी हुनु स्वाभाविकै हो ।

त्यो पनि अर्काको डर, धम्कीमा परेर गर्नुपरेको थियो । त्यसबाट ग्लानी अरू गहिरिने भयो । यस्तो छवि मेटाउन उनले ओलीले उठाएका सबै विकासका काम अगाडि बढाउने कुरा संसदमा गरे । तर उनी जुन निरीह हालतमा देखिन्छन्, उनले बोलेको वचन पालना गर्न सक्लान् भनेर विश्वास लाग्दैन ।

अझ भारत दाहालले एउटा लेखमा भनेजस्तो हुने भयो भने पुष्पकमल दाहालले भारतलाई नेपालको हितविपरीत अनेक आयोजना सुम्पेर विगतका सबै प्रधानमन्त्रीलाई पछाडि पार्नेछन् । मैले हेर्दा उनी यतिसारो तल खस्लान् जस्तो लाग्दैन । उनका वर्तमान सरकारी सहयोगी शेरबहादुर देउवा र नेपाली कांग्रेसको पिछलग्गु हुन पुगे भने अर्कै कुरा हो । त्यसो भयो भने उनी पातालै पुग्नेछन् ।

आजको परिस्थितिमा खुला सीमाबाट दुवै देश पीडित छन् । नेपालबाट त्यही खुला सिमानाको फाइदा उठाएर पाकिस्तानी र कश्मिरी आतंककारी भारतमा घूसपैठ गरेको गुनासो भारतले गर्दै आएको छ भने नेपालले भारतबाट अत्यधिक आप्रवासी आएर नेपालको भविष्य नै खतरामा परेको आशंका गर्दछ ।

खुला सिमानालाई नियमन गर्ने बित्तिकै भारतलाई अनेक लाभ हुन जान्छ । सर्वप्रथम, विदेशी आतंककारी र शंकास्पद मानिसको आवतजावतमा नियन्त्रण हुन्छ । दोस्रो फाइदा, नेपालको बाटो भएर भारतमा जाने नक्कली भारतीय नोटको आपूर्ति रोकिन्छ । तेस्रो, भारतबाट नेपालमा हुने गरेको भारतीय मोटरको तस्कर रोकिन्छ ।

चौथो फाइदा, मधेसी दलहरूका बहुसंख्यक माग पूरा गर्न सकिन्छ । किनभने खुला सिमानाको नियन्त्रणबाट नेपालमा भारतीयको राम्रो परिचय, सुरक्षा र इज्जत सबै बढ्छ । पाँचौँ लाभ, खुला सिमानाबाट भइरहेका चोरी, डकैती र तस्कर रोक्न सकिन्छ । छैटौँ फाइदा, दुवै देशका मानिस एकअर्काको मुलुकमा यथावत् आवतजावत गर्न पाउँछन् । त्यसको लागि एउटा परिचयपत्रको मात्र आवश्यकता पर्छ । त्यो कुनै ठूलो अवरोध होइन ।

सातौँ फाइदा, भारतको सुरक्षाको सम्बोधन हुन जान्छ । अर्कोतिर नेपालको नागरिकताको वितरण सहज र सुलभ हुन जान्छ । आठौँ फाइदा, नेपालको सार्वभौमिकता र प्रादेशिक अखण्डता राम्ररी कायम हुन जान्छ । नवौँ लाभ, नेपालबाट हुने गरेको मानव तस्कर रोकिन्छ । नेपाली चेलीलाई भारत या अन्य देशमा तस्कर गरिने बाटो यही खुला सिमाना भएको छ ।

यो एउटा यस्तो मुद्दा हो, जसमा दुवै मुलुक सन्तुष्ट छैनन् । दुवैलाई यो घाँडो भएको छ । खालि बिरालोको घाँटीमा कसले घन्टी झुन्ड्याउने भन्ने प्रश्न मात्र हो । यसलाइ सुल्झाउन जो अगाडि सर्दा पनि हुने खालको मुद्दा हो । यस विषयमा नयाँ अध्ययन-अनुसन्धान गर्नुपर्ने आवश्यक पनि छैन । नेपालमा सीमासम्बन्धी विशेषज्ञ मानिएका बुद्धिनारायण श्रेष्ठ हुन् । यसको बारेमा सबै वृत्तान्त उनीबाट बुझ्न सकिन्छ । नेपाल सरकारलाई यसबारेमा सहयोग गर्न उनी तयार नै देखिन्छन् ।

त्यसकारण प्रधानमन्त्री दाहालले आँट गरे भने यो समस्याको समाधान सजिलो किसिमले हुने देखिन्छ । यसबाट उनले नेपाली जनताको मन जित्ने, नेपालको दीर्घकालीन सुरक्षा र हित गर्ने, भारतको गुनासोको सम्बोधन गर्ने र भारतलाई कुनै हानि नभई लाभ मात्र हुने कदम हो । यस्तो काम पनि गर्न नखोज्नु अथवा नसक्नु उनको साँच्चैको लाचारी हुनेछ ।

यसको साथमा दाहालले भारतले खोजेको सीमा सन्धिको कुरा उठाए पनि हुन्छ । हुन त नेपाल-भारत सिमानामा धेरै विवाद छन् । कालापानी र सुस्ताजस्तो ठाउँको विवाद तुरुन्त मिल्न नसक्ने भए तिनीहरूलाई पछि टुंग्याउने भनेर अरू मिल्न सक्ने विवाद मिलाउन सकिन्छ । यो मुद्दा सुल्झाउन दाहालले साम, दाम, दण्ड, भेदको नीति अपनाउनु पर्ने हुन्छ । ओलीले गरेको भन्दा ठूलो राष्ट्रहितको काम पनि ठहरिनेछ । जनताको मन जित्ने काममा उनी ओलीभन्दा अगाडि पर्नेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत