‘हेल्लो सुन्नुभएको छ ?’ भन्दै प्रधानमन्त्री प्रचण्डले फोनबाटै गरे मिर्चैया जनसभालाई सम्बोधन

janasabha

२७ भदौ, मिर्चैया । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड मौसम प्रतिकुलताका कारण सिरहामा आयोजित बिशाल जनसभामा जान नसकेपछि टेलिफोनबाटै सम्बोधन गरेका छन् ।

मौसम प्रतिकुलताका कारण आफू सभासदमा निर्वाचित भएको क्षेत्र सिरहा -५, मिर्चैयामा आयोजित बिशाल जनसभालाई सम्बोधन गर्न जान नसकेपछि टेलिफोन सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने ‘कार्यक्रममा आउने तयारीमै रहेको भएपनि मौसमले साथ दिएन, प्रकृतिको अगाडि केही नलाग्ने रहेछ ।’ साथै उनले रौतहट, बारा र पर्साबाट कार्यक्रममा आउँदै गरेका नेता र कार्यकर्ताहरु चन्द्रनिगाहपुरमा अलपत्र परेको जानकारी पाएको बताउँदै थुप्रै जिल्लाबाट अप्ठ्यारा झेलेर आएका नेता र कार्यकर्ताहरुप्रति आभार व्यक्त समेत गरे ।

a

सम्बोधनकै क्रममा उनले भदौ ३० गते भारत भ्रमण जानु अघि मधेशी, थारु, जनजातिको मुद्दासँग सम्बन्धित प्रस्ताव संसदमा दर्ता गरेर जाने आफूले बताएको तर प्राविधिक कारणले त्यो सम्भव नभएको बताए ।

मधेशी जनताको समस्यासँग आफू परिचित रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले बाटो–घाटो, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका समस्याहरु समाधान गर्न साथै मधेशी जनताको चाहना, भावना र आवश्यकता पूरा गर्न आफूले सकेजति सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हुलाकी राजमार्गको रणनीतिक महत्व समेत रहेको बताउँदै आफ्नो भारत भ्रमणका क्रममा हुलाकी राजमार्गलाई सम्पन्न गर्न र समग्र मधेशको विकास गर्न अर्थ जुटाउन समेत पहल लिने बताएका छन् ।

b

यसैगरी उनले प्रधानमन्त्री आवास तथा जनता आवास कार्यक्रमलाई समेत अघि बढाउने बताएका छन् । साथै, संविधान संशोधन गरी सबैलाई सर्वस्वीकार्य हुने बनाउन, तीन तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्न पनि संविधानको संशोधन गर्नु आवश्यक रहेको बताएका छन् ।

टेलिफोन सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले बिच–बिचमा ‘हेल्लो सुन्नुभएको छ ?’ भन्दै आजै मिटिङ्ग बसेर आफ्नो भारत भ्रमणको मिति तय गरिने बताउँदै गर्दा उनले आजै मात्र भारतले पनि मिति टुङ्गो लगाइसकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गएर आए लगतै आफू संयुक्त राष्ट्रसंघको एसेम्बलीमा जाने र त्यहाँबाट फर्किएपछि उपत्यकाभन्दा बाहिर मधेशमै कार्यक्रम गरिने उदघोष गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत