यादवको निरन्तर पदोन्नती : हत्या अभियोगमा फरार हुँदा पोलिटब्यूरो, पूर्पक्षका लागि थुनामा हुँदा अञ्चलको जिम्मेवारी !

२८ भदौ, काठमाडौं । नेकपा एमालेले दुई जनाको हत्या अभियोगमा फरार रहेकै अवस्थामा पूर्वसांसद योगनारायण यादवलाई बैकल्पिक पोलिटब्यूरो सदस्य तथा जनकपुर अञ्चल इन्चार्ज बनाएका थिए । उनै यादव पूर्पक्षका लागि थुनामा रहेकै बेला एमालेले दुई नम्बर प्रदेशको सदस्यसहित जनकपुर अञ्चलको जिम्मेवारी दिएको छ ।

आइतबार एमालेले सातवटै प्रदेश कमिटिलाई पूर्णता दिदै ज्यान मार्ने उद्योगमा सिरहा कारागारमा रहेका यादवलाई उक्त जिम्मेवारी दिएको हो । यादवमाथि ज्यानमार्ने उद्योग र हातहतियार तथा खरखजानासहित तीन वटा मुद्दा जिल्ला अदालत धनुषामा विचारधिन अवस्थामा रहेको छ ।

२०७१ चैत्र ८ गते धनुषा जिल्लाको सबैलामा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा यादव समूहले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । उक्त घटनाको मुख्य योजनाकारका रुपमा प्रहरीले उनीमाथि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

उक्त मुद्दाको थुनछेक बहसमा २०७२ चैत्र २६ गते जिल्ला अदालत धनुषाका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको एकल इजलासले यादवलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यादवसहित उक्त घटनामा संलग्न रहेको भन्दै अदालतले महेश यादव, महेन्द्र यादव र भगवान प्रसाद साहलाईसमेत पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको चुनावमा रामसेवक राउत र रामप्रकाश यादवको हत्या पछि एक वर्षसम्म फरार रहेका यादव २०७२ चैत्र १७ गते काठमाडौंस्थित नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय नजिकबाट पक्राउ परेका थिए । एमालेमा ओली गुट निकट मानिएका यादव पक्राउ पर्दा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

पूर्वनेकपा (माओवादी)का संयोजक मातृका यादवसहित सबैलाका स्थानीयबासीहरुले योगनारायण यादव पक्राउ परेपछि जनकपुरधाममा दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत