गंगामायाले मंगलबार राति तोडिन् अनशन

२९ भदौ, काठमाडौं । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही माग गर्दै वीर अस्पतालमा नै आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले मंगलबार राति अनशन तोडेकी छन् ।

असोज २ मा चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैं गंगा मायाको बयान लिन आउने हुँदा कानुन व्यवसायीको आग्रहमा अधिकारीले अनशन तोडेकी हुन् ।

जिल्ला अदालत चितवनले श्रेष्तेदार गेहेन्द्रराज पन्तलाई आउँदो असोज २ गते द्वन्द्वकालमा मारिएका कृष्णप्रसाद अधिकारीकी आमा गंगामायासँग बकपत्र गराउन आदेश गरेको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश टेकनारायण कुँवरले मुलुकी ऐन अदालत बन्दोबस्तीको १४२ नम्बर बमोजिम श्रेष्तेदार पन्तलाई अधिकारी उपचाररत अस्पतालमै गएर बकपत्र लेखाई ल्याउन आदेश गरेका हुन् ।

चिकित्सकको सल्लाहअनुसार निज गंगामाया बकपत्र गर्न नसक्ने अवस्था भएमा सम्बन्धित चिकित्सकलाई रोहवरमा राखी सोही व्यहोरा उल्लेख गरी मुचुल्का तयार गरी प्रतिवेदन पेस गर्न आदेश गरिएको छ । अधिकारीको असोज ९ गते पेशी समेत तोकिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत