सवारी नियम उल्लङ्घन गर्नेलाई १० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना !

२९ भदौ, काठमाडौं । सरकारले सवारी नियम उल्लङ्घन गर्नेहरुलाई सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गरी जरिवाना रकम १० हजारदेखि ३ लाख रुपैयाँसम्म पुर्‍याउने र कैद सजाय गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

जरिवाना रकम कम हुँदा सवारी नियम उल्लङ्घन गरेर सवारी चलाउने साथै ट्राफिक प्रहरीले भने जति जरिवाना तिरेर हिँड्ने प्रचलन बढेकाले सवारी नियम उल्लङ्घन गर्नेहरुलाई हतोत्साहित गर्न जरिवाना रकम १० हजारदेखि ३ लाख रुपैयाँसम्म पुर्‍याउने र कैद सजाय गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको हो ।

अहिलेसम्म यातायात व्यवस्था ऐनमा सवारी नियम पालना नगर्नेलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवाना लिने व्यवस्था छ । तर, अघि सारिएको प्रस्तावमा कसुरअनुसार सजाय रकम बढाउने, लाइसेन्स निलम्बन र खारेज गर्ने समेत भनिएको छ ।

कस्तो अवस्थामा १० हजार जरिवाना हुन्छ ?

हाल लाइसेन्स नलिई सवारी चलाएको भेटिएमा २ हजार रुपैयाँ जरिवाना लाग्छ तर प्रस्तावित नियमअनुसार यस्तो कसुर गरेमा १० हजार जरिवाना हुन्छ ।

यसैगरी एउटा प्रयोजनमा ल्याइएको सवारीलाई अर्को प्रयोजनमा लगाउनेले अर्थात् निजी सवारीले भाडाका यात्रु बोकेमा र तोकिएको क्षमताभन्दा बढी मालसामान ढुवानी गरेमा पनि १० हजार रुपैयाँ जरिवाना हुन्छ ।

कस्तो अवस्थामा १५ हजार जरिवाना हुन्छ ?

प्रस्तावित नियमअनुसार दर्ता नगरी सवारी चलाएको भेटिएमा चालकलाई १५ हजार रुपैयाँ जरिवाना हुनेछ भने सवारीलाई सरकारले जफत गर्नेछ । साथै, विदेशमा दर्ता भएको सवारी विना अनुमति नेपालमा सञ्चालन गरेको भेटिए १५ हजार रुपैयाँ जरिवाना हुनेछ ।

स्वीकृति नलिई सवारीहरुले सिट थपेमा वा सवारीको स्वरुप, इन्जिन तथा च्यासिसमा परिवर्तन गरेमा, इजाजत नलिइ यातायात सेवा सञ्चालन गर्नु, अनुमति नलिइ यातायात सेवा चलाउनेलाई विभागले १५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरेको छ ।

यसैगरी तोकिएकोभन्दा बढी भाडा लिएमा तथा क्षमताभन्दा बढी यात्रु बोकेमा, सीटबाहेक छत, ढोका वा सवारीका कुनैपनि भागमा नियम विपरीत यात्रु राखेमा, आवागमनमा अवरोध पुग्ने गरी सवारी पार्किङ गर्नेलाई पनि १५ हजार रुपैयाँ तिर्नु पर्ने हुनसक्छ ।

कस्तो अवस्थामा २५ हजार जरिवाना हुन्छ ?

प्रस्तावित संशोधन हुबहु पास भएमा अनुमति नलिइ सवारी प्रशिक्षण केन्द्र, कारखाना र वर्कसप चलाएमा २५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

कस्तो अवस्थामा ५० हजार जरिवाना हुन्छ ?

सडक वा बाटो अवरुद्ध गरेमा ५० हजार जरिवाना प्रस्तावित संशोधनमा प्रस्ताव गरिएको छ ।

सीटबाहेक छत ढोका वा अन्य भागमा राखिएका बेला दुर्घटना भइ यात्रुको मृत्यु भएमा चालकलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

पशुपंक्षी मालिकलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना को व्यवस्था

सवारी तथा यातायात व्यवस्था ऐनको संशोधन प्रस्तावमा घरपालुवा पशुवस्तुका कारण सवारी दुर्घटना भएमा छाडा छाड्ने पशुपंक्षी मालिकलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको प्रस्ताव गरिएको छ ।

प्रतिस्पर्धात्मक तवरले सवारी सञ्चालन नगरी चक्रिय प्रणालीअनुसार सवारी चलाएमा २ लाख जरिवानासहित ५ वर्ष कैद,  रुट इजाजत पत्र रद्ध गर्न सक्ने नयाँ व्यवस्थामा प्रस्ताव गरिएको छ ।

यसैगरी सवारीमार्ग परिवर्तन गरी यात्रु बन्धक बनाएमा २ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजायको प्रस्ताव गरिएको छ । चालक अनुमतिपत्र बिना सवारी चलाएर दुर्घटना गरी कसैको अंगभंग गराएमा जेल सजायसहित ५० हजार रुपैयाँ जरिवाना गर्ने मस्यौदामा उल्लेख छ ।

नक्कली नम्बर प्लेट राखेर सवारी साधन चलाउनेहरुलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तथा बदनियतका साथ दुर्घटना गराएर कसैको अंगभंग भएमा ८ वर्ष कैद र तीन लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत