१ असोज, काठमाडौं । तत्कालीन नेकपा (माओवादी)को लडाकुको शिविरमा सरकारले भरणपोषणका लागि दिएको रकममा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने बताएको छ ।
शुक्रबार आयोगले पत्रकार सम्मेलन गरेर लडाकुको शिविरमा भएको भ्रष्टाचारको सम्बन्धमा परेको उजुरीका बारेमा तदारुकताका साथ अनुसन्धान भइरहेको जनाएको छ ।
आयोगका प्रवक्ता गणेशराज कार्कीले त्यतिखेर निर्णय प्रक्रियामा सहभागी हुनुभएका महत्वपूर्ण पदाधिकारीहरुलाई अनुसन्धानको दायरामा ल्याएको बताउँदै ३० दिनभित्र जवाफका लागि आमन्त्रण गरेको र जवाफ पछि निष्कर्षमा पुग्ने बताए ।
अनियमितताको सम्बन्धमा यस बीचमा समेत बुझ्ने काम भएको र आयोगसँग महत्वपूर्ण कागजात रहेको बताउँदै प्रवक्ता कार्कीले आरोपीको सम्बन्धमा राज्यको जुनसुकै पदमा भएपनि दोषी ठहरिए उन्मुक्ति नदिने बताए । साथै, उनले लडाकु संख्या र निकासा भएको रकममा तालमेल नमिलेकाले त्यसबेला निर्णय गर्नेहरुलाई समेत अनुसन्धान सुरु गरेको जानकारी दिए ।