टीकापुर घटनाका सबै मुद्दाहरू फिर्ता लिने सरकारको निर्णय

२ असोज, काठमाडौं । सरकारले टीकापुर घटनाका सबै मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले यो प्रक्रिया आगामी दुई साताभित्रै पूरा हुने बताएका छन् ।

शनिबार पत्रकार सम्मेलन गरी कार्यवाहक प्रधानमन्त्री निधिले मोर्चाका कार्यकर्तामाथि लागेका मुद्दा दसैंसम्म फिर्ता लिने जानकारी दिए । गृह मन्त्रालयका अनुसार आन्दोलनमा तीन सय ७४ जनामाथि छुट्टा-छुट्टै एक सय ६० किसिमका मुद्दा लगाइएको छ ।

मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्णसहितको टोलीले शनिबार सरकारसँग वार्ता गरेको थियो । मोर्चाका तर्फबाट अधिवक्ता सुरेन्द्र महतो र दीपेन्द्र झा तथा सरकारका तर्फबाट कानुन मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयबीच मुद्दा फिर्ताको विषयलाई टुंग्याउने सहमति भएको जानकारी गृहमन्त्री निधिले दिए ।

पुष्पकमल दाहाल नेतृत्वको सरकार बन्दा मोर्चासँग संविधान संशोधन, आन्दोलनमा घाइतेको उपचार खर्च र मृतकलाई क्षतिपूर्ति दिई सहिद घोषणा गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको थियो ।

उपप्रधानमन्त्री निधिका अनुसार आन्दोलनमा घाइते भएकालाई अस्पतालको बिलअनुसारको रकम भुक्तानी गर्ने र आन्दोलनताका भागेर भारत पुगेर उपचार गरेकालाई पनि विवरणका आधारमा उपचार खर्च दिर्ने निर्णय गरिएको छ । साथै, निधिले मोर्चाको आन्दोलनमा मृत्यु भएकामध्ये ५२ जनालाई सहिद घोषणा गरिसकेको जानकारी दिँदै थप १२ जनालाई पनि सहिद घोषणा गर्नुपर्ने मोर्चाको मागप्रति छानबिन भइरहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत