३ असोज, काठमाडौं । आइतबार विमानस्थल अनुगमन गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सम्वन्धित अधिकारीहरुलाई बोलाएर विमानस्थलमा ट्याक्सी व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

मन्त्री जीवनबहादुर शाही
मन्त्री शाही पर्यटकहरु धेरै ठगिने गरेको गुनासो बढेपछि आइतबार विमानस्थल अनुगमन पुगेका हुन् । अनुगमन लगतै सोमबार मन्त्री शाहीले ट्याक्सीहरु तोकिएको लाइनमा बस्नु पर्ने र पर्यटकहरुलाई तान्ने जस्ता काम नगर्न निर्देशन दिएका छन् ।
आइतबार अबेर झण्डा हल्लाउँदै ट्याक्सी चालकको अनुगमन गर्न विमानस्थल पुगेका मन्त्री शाहीले आफैं पर्यटक बनेर वास्तविकता पत्ता लगाए ।
कोटपाइटमा गएका मन्त्री शाही कालो पाइन्ट, सेतो टिसर्ट, हृयाट र कालो चश्मा लगाएर झोला बोकेर पर्यटक बनेर बाहिर निस्किए । त्यसपछि उनी ट्याक्सीको खोजीमा लागे । ट्याक्सी चालकहरु शाहीलाई पर्यटक सम्झिएर तानातान गर्न लागे र अन्तत उनी निलो नम्बर प्लेटको ट्याक्सी चढे ।
ट्याक्सी चालकलाई उनले आफू भारतीय भएको र अहिले अमेरिकामा बस्ने भन्दै नेपाल घुम्न आएको बताए । र, ठमेल लगिदिन भने । पर्यटकको भेषमा रहेका मन्त्री शाहीले आफूलाई काठमाडौं गेष्टहाउसमा लगिदिन आग्रह गरेका थिए ।
तर, ट्याक्सी चालकले कहिले दियालो राम्रो भएको भन्दै त्यहाँ पुर्यायो । मन्त्रीले काठमाडौं गेष्ट हाउसमा नै लैजा भनेपछि ट्याक्सी चालकले हिमालयन पुर्यायो । तर, नमानेपछि काठमाडौं गेष्ट हाउसमा त पुर्यायो तर, १५ सय भाडा उठाए ।
होटलमा पुगेपछि कोठा बुक गर्नु पर्ने भएकाले बताए ।शाहीले ट्याक्सी चालकलाई आफ्नो असली परिचय दिएपछि ट्याक्सी चालक झस्किएको बताउँदै उनले पर्यटकहरुको गुनासो सही रहेको बताए । साथै, उनले भने, ‘ट्याक्सी चाकलले तानातान गर्नेदेखि अनेक गर्दा रहेछन् । यसले देशकै बेइजत भएको छ ।’