प्रेस काउन्सिलद्वारा पत्रकार आचारसंहिता -२०७३ जारी

६ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले बिहीबार राष्ट्रपति भवनमा कार्यक्रम आयोजना गरी नयाँ पत्रकार आचारसंहिता-२०७३ जारी गरेको छ । यो आचारसंहिता जारी भएसँगै पत्रकार आचारसंहिता- २०६०  खारेज भएको छ ।

काउन्सिलकाअनुसार प्रेस काउन्सिलमा सूचीकृत हुने अनलाइन पत्रिकाहरुको संख्या ३७२ पुगेको छ भने अनलाइन पत्रिकालाई समेट्ने गरी काउन्सिलले नयाँ आचारसंहिता-२०७३ जारी गरेको छ ।

नयाँ आचार संहितामा ‘पत्रकार र सञ्चारमाध्यमको कर्तव्य’ १५ बुँदामा उल्लेख गरिएको छ । जसअन्तर्गत प्रेस स्वतन्त्रताको संरक्षण र सम्बद्र्धन, मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान, पेशागत मर्यादा तथा व्यवहार, सामाजिक दायित्व, सम्पादकीय स्वतन्त्रताको सम्मान गर्नुपर्दछ ।

यसैगरी पत्रकार र सञ्चारमाध्यमको कर्तव्यभित्र सत्य-तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण, समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण, गोप्य स्रोतको संरक्षण, गोपनीयताको हकको सम्मान, भ्रमण तथा लेखनवृत्तिमा पारदर्शिता, राष्ट्रिय विपदमा संयम, मत सर्वेक्षणमा सतर्कता, अन्तर्वार्तामा सजगता, अनलाइन सञ्चारमाध्यमको जिम्मेवारी र गल्ती सच्याउन तत्परताका बुँदालाई समेटिएको छ ।

त्यस्तै पत्रकार आचारसंहिता २०७३मा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने १५ बुँदा रहेका छन् । जसअन्तर्गत सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण गर्न नहुने उल्लेख छ ।

यसैगरी पत्रकार र सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने, पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण, घटनासंग असम्बन्धित व्यक्तिको नाम उल्लेख, बीभत्स दृश्य र तस्बिर प्रकाशन वा प्रसारण, फोटो तथा दृश्यको गलत प्रयोग, विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनका रूपमा प्रस्तुति गर्न नहुने उल्लेख गरिएको छ ।

त्यस्तै पोस्ट डिलिट, अनुचित दवाब वा सम्बन्ध, प्रविधिको अदृश्य प्रयोग, न्याय निरूपणमा प्रभाव, पेशागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण, मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर साथै जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जना पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने उल्लेख गरिएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत