विवादको चर्चा चलिरहेका बेला गृहमन्त्री प्रहरी हेडक्वाटर पुगे

७ असोज, काठमाडौं । टिकापुर घटनामा संलग्नको मुद्दा फिर्ता लिने विषयमा गृहमन्त्री र प्रहरी प्रमुखको विवाद भइरहेको चर्चा चलिरहेका बेला गृहमन्त्री विमलेन्द्र निधि शुक्रबार प्रहरी हेडक्वाटर पुगेका छन् ।

गृहमन्त्री निधिले निर्वाचनका लागि तयार रहन उच्च प्रहरी अधिकारीहरुलाई निर्देशन दिँदै प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ र सशस्त्र प्रहरी गण नम्बर १ नक्सालको निरीक्षण गरेका छन् ।

उनले संविधान कार्यान्वयनको सिलसिलामा हुने निर्वाचन लगायतका कार्यलाई सफल बनाउन नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने भूमिकाका लागि तयार रहन निर्देशन दिए ।

गृहमन्त्री निधिले नयाँ संविधानअनुसार नेपाल प्रहरीको प्रादेशिक र संघीय संरचनाबारे कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन साथै परिवर्तित अवस्थासँगै मानसिक तथा सांगठनिक रुपमा रुपान्तरित हुनुपर्ने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गृहमन्त्रीको निर्देशनलाई मार्गदर्शनको रुपमा अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाल प्रहरी संघीयताको सवालमा समयमै ठोस निर्णय आए मानसिक रुपमा तयार भई अघि बढ्न सकिने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत