५ नम्बर प्रदेशलाई नचलाउन रायमाझीको चेतावनी

८ असोज, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टको माग सम्बोधन गर्ने नाममा  मिलेर बसेका जिल्लालाई टुक्र्याउने काम गरिए निर्णायक लडाई गर्ने चेतावनी दिएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए आफूहरु कुनै हालतमा नमान्ने बताए । उनले अघि भने, ‘७ प्रदेशको टुंगो लागिसकेको छ, पहिल्यै मिलेर बसेका जिल्लाहरु टुक्र्याउने काम भयो भने हामी अर्को निर्णायक  आन्दोलनमा उत्रिन्छौं ।’

उनले पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए आफूहरु कुनै हालतमा नमान्ने बताउँदै त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाई लड्ने चेतावनी दिए।

विवाद नभएको ठाउँमा अनावश्यक विवाद बल्झाउन यस्तो षडयन्त्र गरिएको उनको आरोप छ।  उनले आन्दोलन गरेर मात्रै सबै कुरा पाउने भए आफूहरुलाई पनि संविधानमा चित्त नबुझेको बताउँदै भने,‘अरे, सबै कुरा आन्दोलन गरेर मात्रै हुने हो भने हाम्रा माग र विचार पनि संविधानमा समेटिनुपर्छ, हामी पनि आन्दोलन गर्छौं।’ मधेसी दलको मात्रै किन ? हाम्रो पनि विषयमा संविधान संशोधन हुनुपर्नेमा जोड दिए । ।

विवादित जिल्लाहरु झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरमा हात हाल्न नसक्ने अनि मिलेर बसेका जिल्लाहरुमा हात हाल्ने काम भए आफूहरु कुनै हालतमा नमान्ने बरु सशक्त आन्दोलनमा उत्रिने रायमाझीले चेतावनी दिए। उनले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै संविधान संशोधनको लागि दुई तिहाई चाहिने भएकाले प्रमुख दलहरुवीच सहमति अनिवार्य आवश्यक रहेको बताए । उनले आक्रोश पोखे,‘हैसियत सानो छ अनि ठूलो कुरा गर्ने ?’ अहिले बजारमा आइरहेको यस्ता हल्लाले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भैरहेको रायमाझीको आरोप थियो।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत