प्रेस सेन्टरको एकता महाधिवेशनले उठाएका प्रश्न : लामा सेन्टर र केन्द्रबाट किन अलग भए ?

banner

प्रेस सेन्टरको एकता भेला तथा सम्मेलन, १३ बुँदेको जगमा !

१६ असोज, काठमाडौं । गत जेठ ६ गते विभिन्न समयमा विभाजित माओवादी घटकहरु १३ बुँदेको जगमा नेकपा (माओवादी केन्द्र) गठन गरी एकता भएसँगै जेठ १९ गते माओवादी केन्द्र निकट पत्रकारहरुको एकता भेलाबाट ४ सय ९९ सदस्यीय प्रेस सेन्टर नेपाल केन्द्रीय भेला आयोजक समिति गठन भएको थियो ।

प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालय सदस्यहरुको बैठकले विभिन्न माओवादी घटकबाट एकता प्रक्रियामा सहभागी भएका पत्रकारहरुको नेतृत्वलाई १३ बुँदे सहमतिको जगमा जिल्ला, प्रदेश र प्रतिष्ठानको एकता भेला गर्ने जिम्मेवारी तोकिदिएको थियो ।

जसअनुसार, १ नम्बर प्रदेश इन्चार्ज विष्णु सापकोटा जुगल, २ नम्बर प्रदेश इन्चार्ज एसबी थापा मगर, ३ नम्बर प्रदेश इन्चार्ज बलराम थापा, ४ नम्बर प्रदेश इन्चार्ज विश्वास शर्मा, ५ नम्बर प्रदेश इन्चार्ज सचिन रोका, ६ नम्बर प्रदेश इन्चार्ज दिपेन्द्र रोका र ७ नम्बर प्रदेश इन्चार्ज ओपेन्द्र शर्मालाई तोकिएको थियो ।

पहिलो चरणमा तोकिएको मितिमा कुनै पनि प्रदेशले एकता भेला सम्पन्न गर्न सकेन् तर दोस्रो पटक बसेको कार्यालय सदस्यहरुको बैठकले भदौ मसान्तभित्र जिल्ला एकता भेला तथा सम्मेलन र अजोस ७ गतेसम्म प्रदेशको सम्मेलन गर्ने गरी मिति तोकिदिएको  थियो । र, तोकिदिएको मितिकै सेरोफेरोमा एकाध जिल्ला बाहेक सबै जिल्ला र प्रदेशको एकता भेला सम्पन्न भयो ।

बन्दसत्रले नयाँ कार्यसमिति चयन गर्न सकेन् 

प्रेस सेन्टर नेपालको कार्यालय बैठकले नै ठोस गरेको मिति असोज १३ र १४ गते प्रथम राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भयो ।

तोकिएको मिति असोज १३ गते राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट कार्यक्रमको उदघाटन भव्यताका साथ भए पनि देशभरबाट आएका प्रतिनिधिहरु उपस्थित बन्दसत्रले असोज १४ गते नेतृत्व चयन गर्न सकेन् ।

बन्दसत्रमा ओम शर्मा, बलराम थापा, विष्णु सापकोटा, सचिन रोका, दिपेन्द्र रोकाया साथै दिपक मैनाली अध्यक्षका प्रत्यासी रहेका थिए । शर्मा बाहेकका प्रत्यासीहरु सबै जना अध्यक्ष पदमा जो सुकै निर्वाचित भएपनि दोस्रो पुस्ताले नेतृत्व लिनुपर्दछ र त्यसका लागि सर्वसम्मत अध्यक्ष नभएको खण्डमा निर्वाचनमार्फत् नेतृत्व चुनिनु पर्नेमा दृढ रहेका थिए ।

लोकतान्त्रिक विधिलाई आत्मसात् नगरेर बालुवाटारमा बस्यो बैठक : दाहाललाई बनाइयो अध्यक्ष

नेकपा (माओवादी केन्द्र)ले निर्वाचनमार्फत् नेतृत्व चुनिने लोकतान्त्रिक विधिलाई आत्मसात् नगरेर अस्वस्थ प्रतिष्पर्धा हुन गइरहेको भन्दै हस्तक्षेप गरेर १३ गते साँझ बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, कार्यालय सदस्य रामबहादुर थापा, देव गुरुङ्ग, पम्फा भुसाल, नारायणकाजी श्रेष्ठ साथै पोलिटव्यूरो सदस्य महेश्वर दाहाल लगायतको उपस्थितिमा बैठक बस्यो ।

उक्त बैठकले समेत निकास दिन नसकेपछि १४ गते बिहान करिब साँढे ८ बजतिर पुनः बैठक बस्दा समेत सर्वसम्मत नेतृत्व चुनिने परिस्थिति नबनेपछि अध्यक्ष प्रचण्डले क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष महेश्वर दाहाललाई प्रेस सेन्टर नेपालको संस्थापक अध्यक्ष बनेर अघि बढ्न निर्देशन ग-यो । र, १४ गते अपरान्ह आफू स्वयम् बन्द सत्रमा उपस्थित भई प्रधानमन्त्री प्रचण्डले बन्द सत्रलाई सम्बोधन गर्दै घुमाउरो भाषामा निर्वाचनमा नगई पार्टीको ह्वीप लागू गर्न समेत निर्देशन गरे ।

प्रधानमन्त्री प्रचण्डको  आग्रह : प्रथम राष्ट्रिय एकता महाधिवेशन भएकाले एक पटकलाई निर्देशन मानेर जानु

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले बन्दसत्रलाई सम्बोधन गर्दै गर्दा देशभरबाट चुनिएर आएका प्रतिनिधिहरुले आफूहरुले नेतृत्व छान्न पाउनुपर्ने भन्दै ‘निर्देशन मानिदैन, चुनावमा जानु पर्दछ’ भन्दै होहल्ला गरेपछि ‘प्रथम राष्ट्रिय एकता महाधिवेशन’ भएकाले एक पटकलाई निर्देशन मानेर जान आग्रह गरेका थिए ।

पार्टी अध्यक्ष प्रचण्डले आफू सरकार प्रमुख रहेको साथै सञ्चारमन्त्री समेत माओवादी पार्टीको रहेकाले सञ्चारसँग सम्बन्धित सरकारी नियुक्तिहरुमा सबैलाई समेटर जाने प्रतिवद्धता जनाएपछि हल शान्त भएको थियो । र, अध्यक्षका प्रयासीहरुले पनि एक पटकका लागि भन्दै आफ्नो फरक मत दर्ज गर्दै महेश्वर दाहाललाई ‘अध्यक्ष’ स्वीकार गरेका थिए ।

‘नाटक किन गरेको ?’ भन्दै फर्किए प्रतिनिधि

पार्टीको ह्वीपमा असोज १४ गते साँझ महेश्वर दाहालको नेतृत्वमा पदाधिकारी बिनाको ९९ सदस्यीय नयाँ कार्यसमिति घोषणा भयो । तर, उक्त घोषणासँगै कार्यसमितिमा नपरेका देशभरबाट दशैंको मुखमा हजारौं रुपैयाँ खर्चिएर महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरु ‘केन्द्रीयता लागू गर्नु नै थियो भने यत्रो नाटक किन गरेको ?’ भन्दै अधिकांश प्रतिनिधि १४ गते राती नै र बाँकी १५ गते बिहान गन्तव्यतिर फर्किएका थिए ।

आफ्नो पद सुरक्षित गर्न मरिमेट्ने अरुलाई किन दबाउने ?

सबै प्रतिनिधि र पर्यवेक्षकहरु जिल्ला फर्किएपछि असोज १५ गते पार्टी प्रवक्ता पम्फा भुसालको विशेष उपस्थिति र प्रेस सेन्टरका नवनिर्वाचित अध्यक्ष महेश्वर दाहालको नेतृत्वमा १ बजे नयाँ कार्यसमितिको बैठक बस्ने भनिएको भएपनि केही सदस्यहरुलाई खबर नै नगरी बिहान १० बजे नै पार्टी कार्यालय पेरिसडाँडामा बैठक राखियो ।

उक्त बैठकमा प्रेस सेन्टरका केही केन्द्रीय सदस्यहरु प्रवक्ता पम्फा भुसालको प्रस्तुतिप्रति कटाक्ष गर्दै खासखुस गरिरहेका थिए ।  बादल समूहबाट एकता प्रक्रियामा आएका एक केन्द्रीय सदस्यको प्रश्न थियो, ‘माओवादी घटकहरु बिच पार्टी एकता भई नेकपा (माओवादी केन्द्र) गठन भएसँगै आफ्नो पद सुरक्षित गर्न मरिमेटेर लागेकी प्रवक्ता पम्फा भुसालले यतिबेला प्रेस सेन्टर नेपालको केन्द्रीय समितिमा केही जिल्ला छुटेको छ भनेर जानकारी गराउँदा साथै विभिन्न पदका आकांक्षीहरुलाई आक्रामक शैलीमा पद नखोज्न निर्देशन गर्नु उचित हो ?’

लामा सेन्टर र केन्द्रबाट किन अलग भए ?

यसैबिच प्रेस सेन्टर नेपालका कार्यालय सदस्य समेत रहेका बादल समूहबाट एकता प्रक्रियामा सामेल भएका नेता राजु लामाले आजैको मितिबाट प्रेस सेन्टर नेपाल र नेकपा (माओवादी केन्द्र)को सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

लामाले सम्प्रेषण गरेको एसएमएसमा भनेका छन्, ‘मैले आजैका मितिबाट लागू हुने गरी प्रेस सेन्टर नेपाल र माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’

लामाले प्रेस सेन्टरको एकता प्रक्रिया १३ बुँदे सहमति विपरीत भएको र नेताहरुले आफू निकटलाई च्यापेर जनवादी केन्द्रीयताको नाममा निरंकुशता लादेको प्रति असहमति जनाउँदै प्रेस सेन्टर र माओवादी केन्द्रबाट अगल भएका हुन् ।

उनलाई यसबारे थप बुझ्नका लागि सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन् ।

सचिवालय गठनसँगै केन्द्रीय सदस्य हल बाहिर राखेर पदाधिकारी चयन

प्रायः सबै प्रदेशका अध्यक्षहरुले केन्द्रीय सदस्य नभएका जिल्लामा केन्द्रीय सदस्य राखिनुपर्ने बताउँदै गर्दा राजधानी काठमाडौंलाई केन्द्रविन्दुमा राखेर सम्बोधन गरेकी प्रवक्ता भुसालले ३३ सदस्यीय सचिवालय गठन भएको बताइन् ।

तेत्तीस सदस्यीय सचिवालय गठन भएसँगै बाँकी केन्द्रीय सदस्यहरुलाई हलबाट बाहिर जान आग्रह गरियो । र, सचिवालयले पदाधिकारी टुङ्गो लगायो भन्दै अघि नै तयार पारिएको पधाधिकारीको नामावली सचिवालयमा प्रस्तुत गरियो ।

जसमा, पार्टीका पालिटव्यूरो सदस्य महेश्वर दाहाल अध्यक्ष, यसैगरी पोलिटब्युरो सदस्य एवम् प्रेस सेन्टरका पूर्वसंयोजक तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रेस सेन्टर नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन भनिएता पनि उपाध्यक्षको नामावलीमा पूर्वएमाओवादीबाट प्रधानमन्त्री प्रचण्डका पूर्वप्रेस सल्लाकार एवम् गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मा, सचिन रोका, बलराम थापा, कमल गिरी र देवराम यादवको नाम उल्लेख गरिएको छ भने रामबहादुर थापा ‘बादल समूह’का दीपक मैनालीको नाम उपाध्यक्षमा समेटिएको छ ।

यसैगरी महासचिवको जिम्मेवारी पूर्वएमाओवादीकै बिष्णु सापकोटालाई दिएको छ भने सचिव पदमा एकाधबाहेक सबै पूर्वएमाओवादीबाट नै राखिएका छन् ।

जसमा ओपेन्द्र शर्मा, उपेश महर्जन, मनोज घर्तिमगर, गोमा घिमिरे, लक्ष्मी पुन,  रुबी श्रेष्ठ, प्रभा बोगटी, आस्था केसी, लक्ष्मण खड्का, एसबी थापा मगर, सुरेश यादव, विवेक गौतम, पहल साउद, मणि विक, मनिषा श्रेष्ठ र राजेश चाम्लिङलाई सचिवको जिम्मेवारी दिएको छ । साथै, सुरेशचन्द्र अधिकारीलाई कोषध्यक्षको जिम्मेवारी दिएको छ ।

सेन्टरको एकता प्रक्रिया १३ बुँदे सहमति विपरीत

सचिवालय सदस्यमा नपरेपछि पार्टीको क्यान्टीनमा चिया पिउँदै गरेका प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यहरु ‘प्रथम राष्ट्रिय एकता महाधिवेशन’ नाममा मात्रै ‘एकता’ भन्ने शब्द सीमित रहेको भन्दै छलफल गरिरहेका थिए भने एक सदस्यले यो एकता प्रक्रियामा सहभागी मणि थापा समूहबाट एक जना केन्द्रीय सदस्यबाहेक अन्य कसैलाई पनि नसमेटेको भन्दै सेन्टरको एकता प्रक्रिया १३ बुँदे सहमति विपरीत रहेको बताइरहेका थिए ।

अर्का एक सदस्यले १० माओवादी घटकको एकता भने पनि पूर्वएमाओवादी र बादल समूह १३ बुँदे साझा सम्झौताअनुसार अघि नबढेकै कारण महाधिवेशन आयोजक कमिटीको संख्या संसारमै नभएको भइरहेको बताइरहेका थिए ।

अर्का एक सदस्यले मातृका यादव, मणि थापा, जयपुरी घर्ती, तिलक परियार र बसन्त घर्ती मगरको समूहका कारण नेकपा माओवादी केन्द्रमा समस्या नरहेको तर पूर्वएमाओवादी भित्रका गुटवादी, फुटवादी, अवसरवादी केही नेता र बादल समूहका संख्या थप्ने अस्वस्थ प्रतिस्पर्धामा लागेका नेताहरुका कारणले विभिन्न तहका पार्टी कमिटी, जबस मोर्चा र पेशागत संगठनहरु दुनियाँलाई नै हसाउँने किसिमले अघिबढ्नु बिडम्बना भएको बताइरहेका थिए ।

यसैगरी चियाको चुस्की लगाउँदै अर्का एक सदस्यले भन्दै थिए, ‘पार्टीको निर्देशन मान्ने हो तर निर्देशनको नाममा पार्टी संगठनलाई विभाजन गर्ने साथै आफ्नो समूहको पक्षपोषण गर्ने किसिमले दिने निर्देशन पालना गर्नु जरुरी छैन् ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत