१८ असोज, नयाँदिल्ली । भारत र पाकिस्तानवीच तनाव बढ्दै जाँदा केजरीवालको आम आदमी पार्टीले मंगलबार साँझ दिल्लीस्थित पाकिस्तानी दूतावास घेराउ गरेको छ ।
प्रधानमन्त्री मोदी र सत्तारुढ भारतीय जनता पार्टीको विरोध गर्दै आएको आम आदमी पार्टीले पाकिस्तानी दूतावास घेराउ गरेसँगै दिल्लीका मुख्यमन्त्री दबावमा परेका छन् ।
भारतीय सेनाले पाकिस्तानमाथि ‘सर्जिकल स्ट्राइक’ गरेको समाचार आएपछि भारतीय मिडियाले यसलाई प्रधानमन्त्री मोदीको सकारात्मक कदमका रुपमा चर्चा गरे भने विपक्षी कांग्रेस आईका नेता राहुल गान्धीले पाकिस्तानमाथि हमला गरेकोमा मोदीलाई सलाम गरेको जनाउँदै राष्ट्रिय एकताको सन्देश दिने प्रयास गरे ।
तर, त्यहीबेला दिल्लीका मुख्यमन्त्री केजरीवालले भने ‘सर्जिकल स्ट्राइक’को प्रमाण पेश गर्न मोदी सरकारलाई चुनौती दिएका थिए ।
पाकिस्तानले ‘सर्जिकल स्ट्राइक’ भएको होइन भनिरहेका बेला केजरीवालको यस्तो भनाइ आएपछि बीजेपीले यसलाई मसला बनायो र केजरीवालविरुद्ध प्रहारको निशाना बनायो ।
पञ्जावमा हुन लागेको निर्वाचनमा केजरीवाललाई कसरी हराउने भन्ने बाहना खोजिरहेको भाजपाले केजरीवालले सेनाको मनोबल घटाएको र पाकिस्तानको हितमा बोलेको आरोप लगाएपछि आम आदमी पार्टी चर्को दबावमा पर्यो ।
केजरीवालको भनाइलाई पाकिस्तानी मिडियाले महत्वका साथ प्रचार गरेपछि भारतमा आम आदमी पार्टीमाथि त्यहाँका राष्ट्रवादीहरुले कडा प्रहार गरे ।
र, यही दबावलाई खप्न नसकेर आम आदमी पार्टीले मंगलबार साँझ दिल्लीको चाणक्यपुरीस्थित पाकिस्तानी उच्चायोगको कार्यालय अगाडि प्रदर्शन गरेर आफूलाई पाकिस्तानको विरोधमा उभ्याएको सन्देश दिएको छ ।