लोडसेडिङ गराउने अपराधीहरुका कारणले मात्रै लोडसेडिङ भएको हो ?

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि बिजुली चोरेर बेच्ने गिरोहको निद्रा हराएको छ ?

pradhikaran

१ मंसिर, काठमाडौ । यसअघि दैनिक १८ घण्टासम्म हिउँद-बर्खा, दिन-रात सधैं लोडसेडिङ हुन्थ्यो । अहिले नयाँ विद्युत थपिएकै छैन, तर लोडसेडिङ हटेको छ । आखिर हिजो किन र कसरी लोडसेडिङ हुन्थ्यो ?  अनलाइनखबरमा खबर छ :

यसअघि लोडसेडिङ कसरी हुन्थ्यो भन्ने बारेमा हामीले विद्युत प्राधिकरणका एक जना प्राविधिकलाई सोध्यौं- एउटै मात्रामा बिजुली हुँदाखेरि हिजो दैनिक १२ घण्टा, ८ घण्टा लोडसेडिङ भइरहेको थियो, तर, अहिले तिहारका बेलामा समेत देशैभरि लोडसेडिङ भएन, यसको भित्री रहस्य के हो ?

ती प्राविधिक कर्मचारीले भने- लोडसेडिङका नाममा प्राधिकरणका हाकिमले जनतामाथि अपराध गर्दै आइरहेका थिए । हिजो बिजुली नपुगेर लोडसेडिङ भएकै होइन, लोडसेडिङ गराउने अपराधीहरुका कारणले मात्रै लोडसेडिङ भएको हो ।

कसरी हुन्थ्यो लोडसेडिङको ‘अपराध’ ?

यो प्रश्नको जवाफमा स्रोतले थप व्याख्या गर्दै भन्यो, ‘नेपालमा यति विद्युत आवश्यक छ भनेर प्राधिकरणले जनतालाई चाहिनेभन्दा बढी मात्राको मिथ्यांक सुनाउँथ्यो । र, कति विद्युत मौज्दात छ भन्ने तथ्यचाँहि घटाएर दिइन्थ्यो । यसको वीचमा ठूलो ‘ग्याप’ देखाएर १२ घण्टा लोडसेडिङ गर्नुपर्ने सूचना जनतामा जारी गरिन्थ्यो । र, जनताले त्यसैलाई पत्याएर चुपचाप सहने गरेका थिए ।

जस्तो कि- विद्युतको माग ११ सय मेगावाट देखाइयो भने नेपालमा उत्पादित र भारतबाट आयातीत बिजुलीसमेत ६/७ सय मेगावाट मौज्दात देखाइन्थ्यो । वीचमा ५/६ सय मेगावाट विद्युत कम भएको भन्दै प्राधिकरणका हाकिमले यसवापत १२ घण्टा लोडसेडिङ गर्नुपर्ने मिथ्यांक जनतामा सम्प्रेषण गर्थे । र, जनताले त्यसैलाई पत्याउँथे ।

प्राधिकरणका प्राविधिकले भने- जनतालाई त यो प्राविधिक विषय थाहा हुँदैन कि कति विद्युत चाहिन्छ र कति घण्टा लोडसेडिङ गर्नुपर्ने हुन्छ ?

पैसा उठाउँदै बिजुली बेच्दै

प्राधिकरण स्रोतका अनुसार हाकिमहरुले जनताका आँखामा छारो हालेर १२ घण्टे लोडसेडिङलाई सदर गराइसकेपछि ठूल्ठुला कारखानाका मालिकहरुसँग सम्पर्क गर्थे । र, भन्थे कि हामीसँग पावर छ, तिम्रो कारखाना चलाउन कतिघण्टा बिजुली दिऔं ? अनि हामीलाई यसवापत कति लाख कमिसन दिन्छौ ?

यसरी व्यवसायीसँग बार्गेनिङ गरेर खाने कमिसन अनुसार कसैलाई दैनिक २१ घण्टासम्म बिजुली दिइन्थ्यो भने कमिसन नदिने साना वा सोझा व्यवसायीलाई चाँहि लोडसेडिङको मारमा पारिन्थ्यो । जसले गर्दा उनीहरुको व्यापार व्यवसाय चौपट बन्दै आएको थियो ।

प्राधिकरण स्रोत अगाडि भन्छ- कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुनुभन्दा अघिसम्म प्राधिकरणका हाकिमले यसैगरी राज्यको बिजुली बेचेर कमिसन खाइरहेका थिए । जनतालाई लोडसेडिङको भारी बोकाएर, जनताको व्यवसाय चौपट बनाई जनताकै बिजुलीमाथि कालोबजारी भइरहेको थियो । कुलमानले जिम्मेवारी सम्हाल्नासाथ बिजुलीको कालो ब्यापारमाथि धावा बोले ।

स्रोतका अनुसार जनताको बिजुली जनताबाटै खोसेर उद्योगीहरुसँग उठाइने कमिसन तत्कालीन उर्जामन्त्री र ठूला पार्टीका नेतासम्मलाई पुर्‍याउने गरिएको थियो । अहिले लोडसेडिङ हटेपछि तिनीहरुको पनि मुख सुकेको छ ।

अहिले कुलमान घिसिङ एमडी बनेर आइसकेपछि बिजुली चोरेर बेच्ने गिरोहको निद्रा हराएको स्रोतले बतायो । हुँदै नभएको कृत्रिम अभाव सिर्जना गरेर कमिसनमा विद्युतको कालोबजारी हुन छाडेपछि अहिले उपभोक्तालाई पनि विद्युत पुगेको छ र उद्योगपतिहरुले पनि कसैलाई कमिसन नखुवाई दैनिक १८ घण्टाभन्दा बढी उद्योग सञ्चालन गर्न पाएका छन् ।

तर, के वर्षौंसम्म जनतालाई लोडसेडिङको अँध्यारोमा राखेर उनीहरुको व्यवसाय चौपट बनाउने प्राधिकरणका पूर्वहाकिम एवं पूर्वउर्जामन्त्री र कमिसनखोरहरुमाथि अब कुनै कारवाही हुँदैन त ? स्रोतले भन्यो- ‘यो सामान्यखालको अपराध होइन, त्यसरी लोडसेडिङ गराउने अपराधीहरुलाई अब जेल पठाउनुपर्छ र देशलाई लोडसेडिङबाट सधैंका लागि मुक्त बनाउनुपर्छ ।’

नेपाल विद्याुत प्राधिकरणले विगतमा लोडसेडिङ गराउनेहरु को-को थिए भनेर सोको तथ्यांक संकलन गर्ने अनि तिनीहरुमाथि कारवाही अघि बढाउने गृहकार्य सुरु गरेको बताइन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत