कक्षा १ देखि १० सम्मका अशुद्ध पुस्तक तत्काल नफेरिने : कारण, केन्द्रको बजेट र समय अभाव

काठमाडौं । भाषा बिगारेको भन्दै अभियानका रूपमा लागेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले पहल थालेपछि त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागले अनिवार्य नेपाली शिक्षण निर्देशिका २०६६ को विवादित वर्णविन्यास र नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत् शब्दकोष २०७२ खारेज गरिसकेको छ ।

तर, अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान गरे पनि त्यस्तो भाषा प्रयोग गरिएका कक्षा १ देखि १० सम्मका करिब दुई अर्ब मूल्य बराबरका पुस्तक तत्काल नफेरिने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले बजेट र समय अभावका कारण देखाउँदै आगामी शैक्षिक सत्रमा अशुद्ध पाठ्यपुस्तक नै पढाउने भएको हो । केन्द्रले पुस्तक छपाइमा झन्डै दुई अर्ब खर्च हुने भन्दै कम्तीमा एक र बढीमा दुई वर्षसम्म पुरानै पाठ्यक्रम प्रयोगमा ल्याउने अडान लिएको छ । सञ्जालसँग आइतबारको भेटमा केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भाषा सच्याउन तयार रहे पनि तत्काल पाठ्यक्रम र पाठ्यसामग्री परिवर्तन नहुने बताए ।

शिक्षामन्त्रीस्तरीय निर्णय गरी केन्द्रका नाममा जारी गरिएको परिपत्र २०६९ र सोही आधारमा निर्मित पाठ्यपुस्तक, प्रकाशन शैली र शिक्षण निर्देशिकामा प्रयुक्त विवादित वर्णविन्यास र लिपिचिह्नले नेपाली भाषामा अराजकता निम्त्याएको भन्दै सञ्जालले पाठ्यक्रम विकास केन्द्रलाई पनि तत्काल कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तक मानक वर्णविन्यासअनुरूप तयार पारेर मुद्रण गर्न आग्रह गरेको थियो ।

यसैगरी विद्यालय तहको अन्य कक्षाका नेपाली विषयका पाठ्यपुस्तक र पाठ्यसामग्री पनि परिमार्जन गरी मुद्रणमा पठाउन सञ्जालले आग्रह गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत