नयाँ शक्ति नेपालका भट्टराई अख्तियारको हिरासतमा !

७ मंसिर, काठमाडौं । नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) ऋषवदेव भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सुरक्षासेवामा प्रवेश गरेर अवकाश हुनुअघि २०७१ सम्मको जाँच अवधिका विभिन्न वर्षमा आफू र परिवारका सदस्यका नाममा चल-अचल सम्पत्ति खरिद एवं लगानी गरेको, परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिएको, मनासिब कारणबिना हैसियतभन्दा बढी रकम आफू, पत्नी एवं अरू परिवारका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात देखिएको, विभिन्न वित्तीय संस्था एवं कम्पनीका सेयर खरिद तथा लगानी गरेको छानबिन क्रममा भेटिएको अख्तियार स्रोतको दाबी छ ।

भट्टराईले एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अख्तियारको दाबी छ भने आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार भट्टराईको चल अचल सम्पत्तिको छानबिन गर्दा वैध आयको तुलनामा अवैध आय बढी देखिएको छ ।

नयाँ शक्ति नेपालमा डा.बाबुराम भट्टराई निकट मानिने केन्द्रीय परिषद् सदस्य तथा सशस्त्रका पूर्व-एआईजी ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका हुन् । उनलाई पक्राउपछि टंगालस्थित अख्तियारको हिरासतमा राखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत