विद्युत् चोरलाई अन्य चोरीसरह सजाय दिने कानुन बनाए विद्युत् चोरी नियन्त्रण – नेपाल प्रहरी

६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले विद्युत् चोरलाई पनि अन्य चोरलाई सरह सजाय दिने कानुन बनाए विद्युत् चोरी नियन्त्रण हुने बताएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले मन्त्रालयमा आयोजना गरेको छलफलका सहभागी नेपाल प्रहरीका प्रतिनिधिले विद्युत् चोरीलाई पनि अन्य चोरी सरह सजायको कानुन बनाएमा ‘विद्युत् चोरी’ नियन्त्रण हुने बताउँदै उक्त कार्यमा प्रहरीले महत्वपूर्ण भूमिका खेल्ने वचन दिएका हुन् ।

छलफलका सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उपत्यकामा लोडसेडिङ अन्त्य भएपछि राजधानीमा मात्र १४ देखि १६ अर्ब बराबरको डिजेल बचत भएको बताउँदै अनुमानित तथ्याङ्क सुनाए ।

सो छलफलमा ज्ञानेन्द्रलाल प्रधानले तत्कालका लागि ऊर्जा व्यवस्थापनमा सुधार गर्ने हो भने हालको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने बताए ।

होटल सोल्टी क्राउन प्लाजा, हिमालय होटेल, एअरपोर्ट होटेल लगायतका प्रतिनिधिले लोडसेडिङ अन्त्य भएपछि डिजेल खर्चमा कमी आई होटललाई ठूलो राहत पुगेको बताए ।

यसैगरी हाउजिङ एसोसिएसनका प्रतिनिधिले सरकारलाई आवश्यक परेमा २५-३० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न सकिने अपार्टमेन्टका छत उपलब्ध गराउन आफूहरु तयार रहेको बताए भने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जाको माग व्यवस्थापनमा सहयोग गर्न सबै लाई आग्रह गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत